असन्तुष्ट कार्यकर्ताद्धारा एमाले कार्यालयमा तालाबन्दी



पुष्कर बुढाथोकी, भक्तपुर, (नेस) ।
नेकपा एमालेका असन्तुष्ट कार्यकर्ताले बुधबार नेकपा एमाले भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।आसन्न प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेको भन्दै असन्तुष्ट एमाले नेता कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भक्तपुर क्षेत्र नं. १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधीसभा र प्रदेशसभा तर्फ (क) र (ख) दुबै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी आएकाले त्यसको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको बताउनुभयो ।तालाबन्दी गर्दै क्षेत्र नं. १ का नेता कार्यकर्ताले आफ्नो मागको बेवास्ता गरी एमालेले तीनवटै क्षेत्र छाडेमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी दिएका छन् ।

यसअघि बामगठबन्धनले भक्तपुर क्षेत्र नं. १ मा प्रतिनिधीसभा तर्फ नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई छाड्ने र प्रदेश तर्फ निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा (ख) मा माओवादी केन्द्रलाई छाड्ने निर्णय गरेको भन्दै एमाले नेता कार्यकर्ताले विरोध गरेका थिए । एमालेले भक्तपुर क्षेत्र नं. १ मा प्रतक्ष्यतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिस गरेको थियो भने प्रदेशसभा तर्फ (क) मा हरिशरण लामिछाने र (ख) मा रोमन शिलाकारको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

यता एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले भने दुई चार जना कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गर्दैमा केही फरक नपर्ने बताउँदै पार्टीभित्रको बिवाद समाधानका लागि छलफल भैरहेको बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्