मलको अभावमा हिउँदेबाली प्रभावित



हेमन्त जोशी, काठमाडौं

हिउँदे बाली लगाउनुभन्दा अघि खेतमा छरिने डीएपी रासायनिक मलको अभाव देखिएको छ। हरेक वर्षजसो देखिने मलको समस्या यस वर्ष पनि दोहोरिएपछि किसान मर्कामा परेका छन्। बाढीका कारण धानबालीमा क्षति भए पनि हिउँदे बाली राम्रो गर्ने आशा राखेका कृषकलाई मल अभावले थप मर्कामा पारेको हो।

कलकत्ता बन्दरगाहमा देखिएको समस्याले लोड हुन नसकेका कारण असोज अन्तिम साता नेपाल भित्रिसक्नु पर्ने मल केही ढिलो भएको र अन्तराष्ट्रिय बजारमा मुल्य बढेका कारण केही समस्या देखिएको कृषि विकास मन्त्रालयले जनाएको छ। कोलकत्ता बन्दरगाहमा उत्पन्न समस्याका कारण समयमै मल आपूर्ति हुन नसकेको तथा अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले नेपालमा पनि असर गरेको जनाएको हो।

कृषि विकास मन्त्रालय, कृषि सामग्री खरीद शाखा प्रमुख इश्वरीप्रसाद पाण्डेले गहुँ बाली लगाउनुभन्दा अघि छरिने डीएपी मल नेपाल भित्रिन नसकेको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्नुहुँदै पाण्डेले भन्नुभयो–‘कलकत्ताबाट मल आउन ढिलाई भएका कारण अहिले चाहिने डीएपी मलको अभाव हुनसक्छ। तर, उक्त समस्या हटेका कारण मंगलबारबाट मल नेपाल भित्रिन थालिसकेको छ। यसले गर्दा अभाव हुँदैन।’ पाण्डेका अनुसार मंगलबार मात्र २५ हजार मेट्रिक टन नेपाल भित्रिएको छ।

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेकाले पनि अप्ठेरो परेको मन्त्रालयले जनाएको छ। एक महिना अन्तरालमा मात्र प्रति मेट्रिक टन सय अमेरिकी डलर बराबर मूल्य बढेकाले कम मात्रामा मल आयात खरीद गरिएको हो। चालू आर्थिक वर्षमा मल खरिदका लागि मन्त्रालयले छुट्याएको ४ अर्ब ५१ करोड रुपियँँ छुट्याएको छ। अन्तर्राष्ट्रिय बजारमा युरिया मलको वार्षिक ४ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मलको माग रहे पनि कृषि विकास मन्त्रालय यसवर्ष ३ लाख मेट्रिक टन मात्र खरिद गर्ने योजना बनाएको छ।

योजना अनुसारको मल आयात गर्न पनि समयमा मन्त्रालयले चाँसो नदेखाउँदा किसानले मल अभावको मसस्या भोग्नुपरेको हो। कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले केही ठाउँबाट मल अभावको समस्या रहेको जानकारी आएको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्नुहुँदै सापकोटाले भन्नुभयो–‘केही जिल्लाहरूमा मल अभाव रहेको भन्ने कुरा जानकारीमा आएको छ। तर, हिउँदेबाली लगाउन अझै समय बाँकी रहेकाले किसानहरूले आत्तिनुपर्ने अवस्था छैन।’ सापकोटाका अनुसार मल खरीदको काम गर्दै आएका कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग हिउँदे बालीका लागि केही परिमाणमा मौज्दात रहेको छ। मल खरीदको काम वर्षभरी नै गरिरहने हुँदा माग भए बमोजिम खरिद गर्ने गरिएको उहाँले बताउनुभयो।

हाल कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङले सार्वजनिक खरिद ऐन अनुसार मल खरिदको काम गर्दै आएका छन्। टेण्डर आह्वान, ढुवानी लगायतका कार्यमा ढिलाई हुने भएकाले पनि किसानले समयमा मल नपाउने समस्या खेप्दै आएका छन्। धान काटेर हिउँदे बाली लगाउनु अघि नै डीएपी खेतमा हाल्नुपर्ने भएकाले यसको अभावमा कृषकले समयमै बाली लगाउन सकेका छैनन्। गहुँ छर्न ढिलाइ भएपछि उत्पादनमा पनि कमी आउने भन्दै कृषकहरू चिन्तित छन। बाली लगाउने बेला कृषकले मल नपाउँदा पनि सरकार गम्भीर हुन नसकेको र सोही कारण हिउँदे बालीको उत्पादन घट्न सक्ने सम्भावना समेत देखिएको छ देखिएको छ।

भारतीय राजदूतसँग छलफल
कृषि विकास मन्त्री रामकृष्ण यादवले भारतीय राजदूत मन्जिम सिंह पूरीसँग नेपाल–भारतबीच भइरहेको र हुनसक्ने कृषि विकासका आयामहरूको बारेमा छलफल गर्नुभएको छ। छलफलमा आसन्न गहुँ बालीको समयमा हुनसक्ने रासायनिक मलको अभावका बारेमा जानकारी गराउनुका साथै भारत सरकारबाट हुनसक्ने सहयोगका बारे छलफल भएको छ।

छानविन समिति गठन
भारतको सरकारी कम्पनी ब्रह्मपुत्र भ्याली फर्टिलाईजर कर्पोरेसन लिमिटेडबाट विराटनगरमा प्राप्त युरिया मलमा तौल कम रहेको भेटिएपछि उक्त विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। युरिया मलका बोरामा तौल कम रहेको भन्ने भन्ने विषयमा तत्काल छानविन गरी ५ दिनभित्र कृषि विकास मन्त्रालयमा लिखित प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको हो। छानविन समितिमा पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हस्तबहादुर विष्टको संयोजकत्वमा कृषि विकास मन्त्रालय कृषि सामग्री व्यवस्थापन शाखा प्रमुख र कृषि सामाग्री कम्पनी लिमिटेडका अधिकृत सदस्य रहेका छन्। उक्त समितिलाई छानविनका लागि बुधबार नै सो क्षेत्रमा पठाउने निर्यण समेत गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्