वर्तमान अवस्था र लोकतान्त्रिक गठबन्धन



निरञ्जन थापा

अहिले देश विषम परिस्थितिमा छ। हामीले अपेक्षा गरेअनुसार देश चल्न सकेको अवस्था छैन। देशमा न्याय हराएको छ। जनताले सामान्यभन्दा सामान्य कुराहरुमा पनि समस्या झेलिरहेको अवस्था छ। विगतमा हेर्ने हो भने राजनीतिक पार्टीहरु र तिनका नेताहरुले जनतामाझ धेरै आश्वासन बाँडे, भ्रमका कुरा गरे। प्रजातन्त्रको कुरा गरे, लोकतन्त्रका कुरा गरे तर आज ती दल र तिनका नेताहरुले जनताको नममा केवल जनताको रगत–पसिना चुसेर शासन सत्तामा बस्ने काम मात्र गरे। नेपाली राजनीतिले विगतदेखि आजसम्म आउँदा विभिन्न आरोह–अवरोह पार गर्यो। केही मात्रामा उपलब्धि पनि हासिल गर्यो। विभिन्न आन्दोलनमार्फत जनताको माग उठान र सम्बोधन नभएका पनि होइनन्। तर वास्तविक प्रजातन्त्र जनताले अनुभूत गर्न नसकेको र एक–दुईजना टाठाबाठाहरुले मात्र उपयोग गरिरहेका छन्। यही तन्त्र र वादका नाममा नेपालमा धेरै पार्टीहरु छन्। कोही लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छन् त कोही गणतन्त्रको कुरा गर्छन्।

नेपाली राजनीतिमा हालसालै भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीहरुबीच चुनावी प्रतिस्पर्धा भयो र एक किसिमको नौलो आभ्यासको आरम्भ पनि त्यो थियो। तालमेलको नीति, साना–ठूला दल केहीले स्थानीय तहमा तालमेलको नीति अख्तियार गरे, जुन त्यति प्रभावकारी हुन सकेन। कुनै ठाउँमा बाजी मारे तालमेलको कारण त कुनै ठाउँमा धेरै विवाद र झमेला पनि सिर्जना भयो। मतगणना प्रभावितदेखि न्यायालयमा मुद्दामामिला झेल्नसमेत दलहरुलाई पर्यो। तालमेलका कारण कतिपय ठाउँमा तालमेल गरी राजनीतिक पार्टीको जीत भयो भने कतिपय ठाउँमा तालमेल गरेको पार्टीलाई कसैसँग तालमेल गरेको पार्टीले पनि चुनावी प्रतिस्पर्धामा हराएको देखिन्छ। सिद्धान्त र विचारलाई भन्दा पनि स्थानीय तहमा दलहरुको तालमेल कसरी जीत सुनिश्चित गर्न सकिन्छ भन्नेमा मात्र केन्द्रित थियो। यसर्थ यसको प्रभाव सकारात्मकभन्दा नकारात्मक देखिन गयो। गठबन्धन बने, टुटे। यो दीर्घकालीन हुन सकेन। विश्वासको वातावरण नबन्नु अनि विचार र सिद्धान्त नमिल्नु नै गठबन्धन वा तालमेल टिक्न नसक्नुको मुख्य कारण थियो।

अहिले पनि देशमा चुनावी माहोल छ। प्रतिनिधिसभा र प्रदेशसभाहरुको चुनाव आगामी मंसीर १० र २१ गते हुने भनेर चौतर्फी तयारी भइरहेको छ। विभिन्न राजनीतिक दलहरु विभिन्न गृहकार्यमा लागिरहेका छन्। कसरी हुन्छ आफ्नो विचार स्थापित गर्न र आफ्ना पार्टीलाई जिताउने भन्ने उनीहरुको ध्यान केन्द्रित छ। र, यसैमा उनीहरु लागेका छन्। वाम र लोकतान्त्रिक पार्टी र विचारबीच व्यापक ध्रुवीकरण देखिएको छ। देशमा रहेका प्रमुख वाम पार्टीहरुमा स–साना वाम पार्टीहरु समाहित भई एक भएर चुनावमा कसरी बढीभन्दा बढी सिट जित्न सकिन्छ भनी गठबन्धन गरिरहेका छन्। त्यसै गरी प्रजातान्त्रिक पार्टीहरुले समान विचारधाराका पार्टीहरुबीच तालमेल र गठबन्धन गरी चुनाव लड्ने अनि बढीभन्दा बढी सिट जित्ने भनेर लागिरहेको अवस्था छ अहिले। स्थानीय तहको चुनावी तालमेल र आजसम्म आउँदा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि भइरहेको यो गठबन्धनबीच निकै ठूलो भिन्नता रहेको छ। स्थानीय तहमा केवल जीतको लागि तालमेल थियो भने यो गठबन्धन विचारको लागि गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रको हिमायती हो। राप्रपा प्रजातन्त्रमा विश्वास राख्छ। यसर्थ हाम्रो गठबन्ध र हाम्रो साथ प्रजातन्त्रको लागि हो। यो हाम्रो इच्छा वा रहरभन्दा पनि समयले सिर्जना गरेको माग र परिस्थिति हो। आज देशमा प्रजातन्त्र लोकतन्त्र खतरामा छ। विधिको विधान हराएको छ। प्रजातन्त्रमा विश्वास राख्ने प्रजातन्त्रको लागि प्रतिबद्ध नागरिक वा पार्टी जो–कोहीले पनि यो लोकतान्त्रिक गठबन्धनलाई साथ दिनुपर्दछ। प्रजातन्त्र फल्नुपर्छ, फुल्नुपर्छ र प्रत्येक नागरिकले प्रजातन्त्रको अनुभूति गर्न पाउनुपर्छ। अनि त जनता र देशले देखेको सपना विपनामा परिणत हुन्छ भन्नेमा राप्रपा विश्वस्त छ। देश, जनता र प्रजातन्त्र हार्ने आभास देशको लागि लाभप्रद हुँदैन भन्ने ठहर राप्रपाको रही आएको छ। यसर्थ प्रजातान्त्रिक गठबन्धनलाई कसरी हुन्छ मजबुत र सुदृढ गरेर आगामी निर्वाचनमा बलियो बनाई अब देशमा जनताले उभ्याउँछन् भन्ने कुरामा राप्रपा पूर्ण विश्वस्त छ। विश्वबाट लोपोन्मुख वाद र तन्त्रभन्दा पनि देशको विकास र आर्थिक समृद्धिका लागि प्रजातन्त्रको प्रत्याभूतिका निम्ति अधिनायकत्वका विरुद्ध अब नेपाली जनताले प्रजातान्त्रिक–लोकतान्त्रिक गठबन्धनलाई नै साथ दिन्छन्। विनासर्त नेपाली जनता आफूले उपलब्धि गरेका प्रजातन्त्र–लोकतन्त्र बचाउन लाग्छन् भन्नेमा राप्रपालगायत यस गठबन्धनमा समाहित समान विचारधारा भएका सम्पूर्ण विश्वस्त छन्।

प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गरेर देश र जनताप्रति सधैँ प्रतिबद्ध हामी अधिनायकवादलाई प्रश्रय होइन प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउन लागेका छौं। यही मर्म र यथार्थलाई जनताले आगामी चुनावमा बुझेरै मत दिनेछन्। जनमतबाट हाम्रो कला, धर्म–संस्कृति र गुमेको संस्थालाई स्थापित गर्न सक्छौं भन्ने राप्रपाको विश्वास रही आएको छ। देशमा, आमूल परिवर्तन गर्दै साम्यवादसम्म पुग्ने उद्देश्यले वाम पार्टीहरु एक हुने भन्दै छन्। विगतमा जनयुद्धका कारण आमूल परिवर्तन गर्ने र साम्यवाद ल्याउने भन्दै सत्र हजार मानिस मार्ने–मराउने काम भएको छ। प्रजातन्त्रको नाममा देश र जनताले धेरै दुखःकष्ट भोगिसकेका छन्। फेरि पनि वाम गठबन्धनले परिवर्तनको कुरा गर्नु कतै देशले पुनः हिजोको जस्तो हत्या हिंसा त व्यहोर्नुपर्ने होइन भनेर जनता त्रसित छन्। देश र जनताले कुनै क्रान्ति, अधिनायकत्व होइन देशको समृद्धि चाहेका छन्। तसर्थ पनि प्रजातान्त्रिक–लोकतान्त्रिक गठबन्धनलाई नै जनताले मत हालेर नेपाललाई हत्या–हिंसा वा क्रान्तितिर होइन समृद्धितिर जानुपर्छ भन्ने निश्चित देखिन्छ। आजको राप्रपा र हिजोको कांग्रेसका बीपी कोइरालाको सिद्धान्त र विचारलाई पनि आत्मसात गर्न सके लोकतान्त्रिक विचार र सिद्धान्त स्थापित हुने अनि प्रजातन्त्र सुरक्षित हुने निश्चित छ।

यति बेला देशको कला, संस्कृतिलाई अस्तव्यस्त पारेर हिन्दूहरुलाई अपमानित गर्ने काम भइरहेको छ। हिन्दूधर्मलाई समाप्त पार्न विभिन्न शक्तिहरुले पैसा पनि बाँडिरहेको हामीले सुन्दै र भोग्दै आएका छौं। नेपालमा क्रिश्चियनहरु मौलाउँदै गइरहेका छन्। नेपालमा अझै पनि ९० प्रतिशत हिन्दूहरु रहेको सत्य कुरा लुकाएर लुक्दैन। केन्द्रमा ठूला पार्टीले हिन्दू अधिराज्य भन्ने कुरा हटाए पनि अधिकांश जनताको मनबाट हिन्दू धर्म हटेको छैन। दशैं–तिरहादेखि लिएर हरेक परम्परा र संस्कृति हिन्दू धर्मअनुसार चलिरहेको छ। वास्तवमा भन्नुपर्दा नेपालमा राजसंस्थाले हिन्दूहरुलाई आश्रय दिइरहेको हामीले बिर्सन मिल्दैन। यसै मेसोमा अब हन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजसंस्था र हिन्दू राज्यको सवालमा कांग्रेसलगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु स्पष्ट हुनुपर्छ। यति बेला राप्रपाका अध्यक्ष कमल थापाले लिनुभएको लोकतान्त्रिक मध्यमार्गी मार्ग अत्यन्त सान्दर्भिक छ।

लोकतन्त्रलाई बलियो बनाउनकै लागि र लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन राप्रपा वर्तमान सरकारमा सहभागी भएको हो। यद्यपि राप्रपाका बारेमा केही कुराहरु बाहिर आएका छन्। तर कांग्रेससहितको वर्तमान लोकतान्त्रिक गठबन्धन समय सुहाउँदो र सान्दर्भिक छ। नेपाली कांग्रेस पनि राष्ट्रवादी धारमा चल्दै छ। विश्वबाट हराउँदै गएको कम्युनिजम नेपालमा किन स्थापित गर्ने अनि कम्युनिस्टहरु आए भने नेपालमा अधिनायकवाद आउँछ कि आउँदैन ? लोकतान्त्रिक शक्तिहरु यसकारण चिन्तित बनेका हुन्। हामीलाई लाग्छ, अबको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले सही उद्देश्यका लागि गठबन्धन गरिएका दललाई विजयी गराउनेछन्।

(लेखक थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्