हुम्लामा वाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा



 

अर्जुन बोहरा, हुम्ला

मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हुम्लामा वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ।

गएको वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा हुम्ला जिल्लाका ७ गाउँपालिका अध्यक्षका उम्मेदवाले पाएको मतको आधार हेर्दा ४ हजार ५ सय मत कांग्रसभन्दा वाम गठबन्धन अगाडि रहेको छ। वाम गठबन्धनबाट माओवादीका जिल्ला इन्चार्ज छिमीदोर्जे लामा प्रतिनिधिसभाको उम्मेदारी बनेपछि माओवादी केन्द्रकै सल्लाहकार छक्कबहादुर लामाले पनि प्रतिनिधिसभाका लागि वागी उम्मेदवारी दिएपछि वाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, हुम्लाको एक निर्वाचन क्षेत्रमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका छन्। ७ गाउँपालिका, ४४ वडामा ५२ मतदानस्थल रहेको हुम्लामा जम्मा २७ हजार ४ सय ३५ मतदाता संख्या रहेका छ। हुम्लामा माओवादी केन्द्रबाट छक्कबहादुर लामाले वागी उम्मेदवारी दिएका छन्। गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगभग समान हाराहारीमा मत पाएका थिए। नेपाली कांग्रेसले ६ हजार ८ सय ८६, नेकपा एमालेले ६ हजार ८ सय ६८ र माओवादी केन्द्रले ६ हजार २ सय ७७ मत ल्याएका थिए।

यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको १३ हजार १ सय ४५ मत रहेको छ। जुन नेपाली कांग्रेसले पाएको मतभन्दा ६ हजार २ सय ५९ मत बढी हो। हुम्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र तोकिएको छ भने यहाँ २७ हजार ४ सय ३५ मतदाता रहेका छन्।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि छिमीदोर्जे लामा, प्रदेशसभा ‘क’ बाट दल रावल र प्रदेशसभा ‘ख’ बाट विजय भण्डारी चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका लागि मंगल शाही, प्रदेशसभा ‘क’ बाट ठानबहादुर रोकाया र ‘ख’ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य भूतपूर्व खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाही चुनावी मैदानमा उत्रेका छन्।

उता माओवादी केन्द्रकै वागी उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेपछि वाम गठबन्धन र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

माओवादी केन्द्रभित्रै उम्मेदारीको किचलो हुम्लामा माओवादी केन्द्रभित्रैबाट वाम गठबन्धन तोड्दै पूर्वराज्यमन्त्री छक्कबहादुर लामाले स्वतन्त्र उम्मेदारी दिएका छन्।

केन्द्रमा एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि प्रतिनिधिसभाको सिट माओवादी केन्द्र हुम्लाका जिल्ला इन्चार्ज छिमीदोर्जे लामाको नाममा टिकट आएपछि माओवादी केन्द्रका जिल्ला नेताहरूबीच किचलो भएको छ। पूर्वमन्त्री लामा स्वतन्त्र उम्मेदवार भएपछि हुम्लामा वाम गठबन्धन धरापमा परेको छ। प्रतिनिधिसभा सदस्य चुनावका लागि एक क्षेत्र रहेको हुम्लामा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमीदोर्जे लामा आशाकारको नाममा टिकट पाएपछि छक्कबहादुर लामा पक्षधरले विरोध जनाएका छन्। २०७० सालको संविधानसभाको चुनावामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट उठेका बेला पार्टीभित्रैका नेता छिमीदोर्जै लामा आशाकारलगायतका नेताहरूले अन्य पार्टीलाई चुनावी सहयोग गरेकाले आफूले भारी मतले हार्नुपरेको कारण पनि अहिले माओवादी केन्द्रभित्रै वागी उम्मेदवारी दिएको लामाले बताउनुभयो।

माओवादी केन्द्रका सल्लाकार सदस्यसमेत रहेका पूर्वमन्त्री छक्कबहादुर लामाले जिल्लामा आफ्नो पक्षमा जनमत भएको भन्दै केन्द्र पार्टीले हचुवाको भरमा टिकट दिएकाले माओवादी पार्टीभित्रैका नेताहरूले समेत आफूलाई जिताउन स्वतन्त्र उम्मेदवारी दिन दबाब आएपछि आफूले उम्मेदारी दिएको पूर्वमन्त्री लामाले बताए। हुम्लामा अहिले माओवादी केन्द्रका नेता कार्यकर्ता दुई पक्षमा विभाजित भएका छन्। माओवादीका कार्यकर्ता गठबन्धनको तर्फबाट पार्टीका आधिकारिक उम्मेदवारको प्रचारमा गएका छन् भने उता स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाको पक्षमा चुनावी अभियानमा पनि लागिरहेका छन्।

गठबन्धनको तर्फबाट प्रदेशसभा ‘क’ मा नेकपा एमाले पार्टीका जिल्ला अध्यक्षसमेत रहेका दल रावलले आधिकारिक टिकट पाए पनि माओवादी केन्द्रका नेता लालकेश जैसीले वागी उम्मेदवारी दिएर उम्मेदवारी फिर्ता लिएका थिए। उता वागी उम्मेदवार लामालाई फिर्ताका लागि जिल्ला पार्टीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतले उम्मेदारी फिर्ता लिन अनुरोध गरे तापनि पूर्वमन्त्री लामाले आफ्नो उम्मेदवारी कायम राखेकाले संघका लागि वाम गठबन्धनभित्रै विभाजनको भएको छ।

वाम गठबन्धनविरुद्ध हुम्लामा माओवादीकै नेताहरूले वागी उम्मेदवारी दिएपछि गठबन्धनभित्रै समस्या देखिएको छ । उता नेपाली कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार मंगलबहादुर शाहीलाई भने सहज हुने देखिन्छ। पूर्वमन्त्री लामा २०४८ को चुनावमा तत्कालीन जनमोर्चा पार्टीको तर्फबाट नेपाली कांग्रेसका चक्रबहादुर शाहीलाई जम्मा ८ मतले पछि पार्दै विजयीसमेत हुनुभएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालमा स्थानीय विकासमन्त्री हुँदै भौतिक मन्त्रालयका सहायकमन्त्रीसमेत बन्नुभएको थियो भने २०७० सालको संविधानसभाको निर्वाचनमा पराजित हुनुभयो।

पूर्वमन्त्री शाही मुख्यमन्त्री बन्ने दाउमा
२०७० सालमा सम्पन्न भएको संविधानसभाको निर्वाचनमा हुम्ला जिल्लाबाट जीवनबहादुर शाही निर्वाचित भएका थिए। संविधानसभाको दोस्रोपटक भएको निर्वाचनमा निर्वाचित भएका उनलाई मंसिर १० गते हुने प्रदेशसभाको निर्वाचनमा निर्वाचित भए प्रदेश नम्बर ६ कै मुख्यमन्त्री बनाउने दाउमा हुम्लाका नेपाली कांग्रेसले चुनावीय नारा बनाएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही हुम्ला जिल्लाबाट नै पहिलोपटक क्याबिनेटमन्त्री भएपछि हुम्लामा कांग्रेस कार्यकर्ताले नै नेपाली कंग्रेसबाट पूर्वमन्त्री शाहीलाई प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका रूपमा अघि सारेपछि चुनावीय प्रचार अभियान शुरू गरेको छ। प्रदेश ६ बाट प्रदेशसभा सदस्यमा नाम सिफारिस भएका नेताहरूमध्ये पूर्वमन्त्री शाही नै वरिष्ठ भएकाले पनि हुम्लामा कांग्रेसले हरेक प्रकारका रणनीति अपनाएर विपक्ष उम्मेदवारलाई कमजोर बनाउँदै तीव्ररूपमा प्रचारमा जुटेका छन्।

उता माओवादी केन्द्र हुम्लाका पूर्वजिल्ला संयोजक विजय भण्डारी प्रतिरोध भने वाम गठबन्धनबाट प्रदशसभाका लागि हुम्ला जिल्लाकै (ख) नम्बरबाट उम्मेदारी दिएका छन्। तर, वाम गठबन्धनले पूर्वखानेपानी तथा सरसफाइमन्त्री शाहीकै पकट मानिएको क्षेत्रमा माओवादी केन्द्रका जिल्लामा प्रभावशाली मानिएका नेतासमेतले उम्मेदारी दिन नमानेपछि कांग्रेसकै गढ मानिएको गाउँ ठेहेबाटै माओवादी नेता भण्डारीले प्रदशसभाको उम्मेदारी दिएका छन्।

हुम्लाको प्रदेशसभा क्षेत्र नम्बर माओवादी केन्द्र र नेकपा एमालेको मत जोडेर हेर्दा कांग्रसको भन्दा २ गुणा बढी मत भएको क्षेत्र मानिन्छ। २०७० सालको निर्वाचनमा कांग्रेस मतका हिसाबले पहिलो, दोस्रो माओवादी केन्द्र र तेस्रो एमालेको रहेको छ। मंसिर १० गते हुने प्रदेशसभाको चुनावको पूर्वसन्ध्यामा नेपाली कांग्रेस हुम्लाले ६ नम्बर प्रदेशकै मुख्यमन्त्री हुने आशाका साथ आफ्ना उम्मेरदारलाई विजयी गराउने उद्देश्यले प्रचार अभियान तीव्र पारेको छ। नेपाली कांग्रेस हुम्लाले प्रतिनिधिसभाका उम्मेदवारी मंगलबहादुर शाहीलाई भन्दा कांग्रेसका कार्यकर्ता बढी प्रदेशसभा (ख) का उम्मेदवार जीवनबहादुर शाहीका लागि चुनावी अभियानमा लागिरहेको समते नेपाली कांग्रेसकै नेताहरूले बताएका छन्। उता माओवादी केन्द्रका वागी उम्मेदारी पूर्वसहायकमन्त्री छक्कबहादुर लामालाई प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारलाई सघाउने र प्रदेशसभाका लागि हुम्लाको क्षेत्र नम्बर ‘ख’ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवनबहादुर शाहीलाई बहुतमले जिताउने गोप्य रणनीतिसमेत भएको वाम गठबन्धनका नेताहरूले आरोप लगाएका छन्।

अहिले नेपाली कंग्रेसका प्रदेश ‘ख’ का उम्मेदवार एवं पूर्वपर्यटनमन्त्री शाही नेतृत्वको प्रचार टोलीले हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा अभियान सञ्चालन गरेको छ। जिल्लामा दुई वटा प्रचार टोली बनाएको कांग्रेसले प्रदेश ‘क’ रहेको जिल्लाको दक्षिण क्षेत्रमा जिल्ला पर्टी सचिव मोहनविक्रम सिंहको नेतृत्व र प्रदेश ‘ख’ रहेको सदरमुकाम आसपासको क्षेत्रमा केन्द्रीय सदस्य शाहीले नेतृत्वमा चुनावी प्रचार अभियान सञ्चालन गरेको नेपाली कांग्रेसका पार्टी सचिव हुम्लाका मोहनविक्रम सिंहले जानकारी दिए।

चुनावी अभियान शुरू गर्दै वाम गठबन्धन
नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुम्लाले तीनवटै सिट जिताउनका लागि चुनावी अभियान शुरू गरेको छ। वाम गठबन्धनले हुम्लालाई माओवादी केन्द्रबाट प्रतिनिधिसभा र एक प्रदेशसभा ‘ख’ गरी दुई वटा सिट र प्रदेशसभा ‘क’ एमाले हुम्लालाई एक सिट दिएपछि वाम गठबन्धनले निकै उत्साहका साथ प्रचार अभियानको शुरू गरेको छ।

माथिल्लो प्रदेशमा एमालेका नेता लोकबहादुर हमालको संयोजकत्वमा र दक्षिण क्षेत्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लालकेश जैशीको संयोजकत्वमा ५१–५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेर चुलावी अभियान शुरू गरेको छ। त्यसै गरी नेकपा एमाले वैकल्पिक पोलिट ब्युरो सदस्य गोखरबहादुर बोकटीको संयोजकत्वमा ७ सदस्यीय मूल समारोह समिति र ५ सय ८ जानको चुनाव प्रचारप्रसार परिचालन कमिटी बनाएको छ। हुम्लाका तीनवटै सिटमा वाम गठबन्धनलाई जित निश्चित गर्न माओवादी केन्द्र र एमालले अरूभन्दा भिन्न चुनावी अभियान बनाएको वाम गठबन्धनका प्रचार विभागका संयोजक तथा नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज रोकायाको भनाइ छ।

हुम्लामा निर्वाचनको तयारीका लागि युवा, विद्यार्थी, महिलालगायत अन्य जनवर्गीय संगठनहरूको भेला तथा बैठक बसाली चुनावलाई पहिलो एजेन्डा बनाएका छन्। वाम गठबन्धनले कात्तिक १६ गते हुम्लाको सिमकोटमा अगुवा कार्यकता तथा नेताहरूको चुनावी आमसभाको आयोजना गरेको वाम गठबन्धनका प्रचार विभागका संयोजक रोकायाले बताए।

हुम्लामा पूरै शक्ति परिचालन गरी मंसिर १६ गतेसम्म चुनावी आमसाभाको कार्यक्रममा केन्द्रित बनाउने र आवश्यक सबै तयारीका लागि हुम्लाका ७ गाउँपालिका ४४ वटा वडा र ५२ वटा मतदानस्थलसम्म चुनाव प्रचार गरिसक्ने बताएका छन्। लामो समयको राजनीतिक अस्थिरताले हुम्लाजस्ता पछाडि पारिएका क्षेत्रको विकास सम्भावना नभएकाले स्थायी सरकार निर्माण र राष्ट्रियतालाई जोगाउन एमाले–माओवादीको गठबन्धनलाई भोट हाल्नुपर्ने नारालाई गठबन्दनले निकै प्राथमकिताका साथ अगाडि बढाएको छ।

वाम गठबन्धनले तडकभडकका साथ प्रचार अभियान थालेको छ। विगतमा जति सरकार आए पनि वामपन्थी सरकारले जेष्ठ नागरिकलाई भत्तादेखि थुप्रै सामाजिक काममा उल्लेखनीय काम गरेको उदाहरण दिँदै प्रचार अभियान थालेको प्रदेश ‘ख’ का उम्मेरदारसमेत रहेका माओवादी केन्द्रका जिल्ला संयोजक विजय भण्डारी प्रतिरोधले बताए।

साना दलको पनि प्रचार
हुम्ला जिल्लाबाट मनोनयन दर्ता गराएका साना राजनीतिक दलहरूले पनि आफ्नो चुनाव प्रचारप्रसार अभियान तीव्र पारेका छन्। हुम्लाको मुख्य निर्वाचन कार्यालयमा सबै सिटमा मनोनयन दर्ता गराएको नयाँ शक्ति पार्टी हुम्लाले आफ्नो चुनावी प्रचार अभियानलाई शुरू गरेको छ।
जिल्लाको उत्तरी सीमानामा रहेको नाम्खा गाउँपालिकाको लिमीबाट नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश ‘ख’ का समानुपातिक प्रत्यासी वीरजंग शाहीले प्रचार अभियान शुरू गरेका छन्। प्रदेशसभा ‘ख’ का हुम्लाबाट उम्मेदार बनेका प्रेमबहादुर शाहीले मंगलबारबाट हुम्लाको उतरी नामख्या गाउँपालिकाबाट चुनावी अभियान शुरू गरेको समेत प्रदेशसभाका उम्मेदवार प्रेमबहादुर शाहीले बताए। प्रतिनिधिसभाका लागि जिल्ला संयोजक तुलबहादुर शाही र प्रदेशसभा ‘क’ मा धर्मराज ऐडीले समेत आफ्नो पक्षमा मतदान गराउन घरदैलो अभियान सञ्चालन गरेका छन्।

उता संघमा मात्रै मनोनयन दर्ता गरेको जनसमाजवादी पार्टीले पनि नाम्खा गाउँपालिकामा आफ्नो प्रचार अभियान शुरु गरेको छ। पार्टीका प्रदेश नं. ६ का संयोजक तथा संघका उम्मेरदवार रणबहादुर रम्तेलले दक्षिण क्षेत्रमा विशेष प्रचार अभियान सञ्चालन गर्ने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्