अमेरिकामा पञ्चायत र नीतालाई अवार्ड



 

नेपाली फिल्म र अभिनेतृले अमेरिकामा भएको फिल्म फेस्टिवलमा अवार्ड चुमेको छ। ५० वर्षअघिको कथालाई पर्दामा उतारिएको फिल्म पञ्चायत र त्यसकी अभिनेतृ नीता ढुंगानाले अर्वाड चुमेका हुन्।

अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा आयोजित सानफ्रान्सिस्को फिल्म फेस्टिवलमा पञ्चायतले विदेशी भाषाको फिल्म विधाको अवार्ड पाएको छ। नीताले सोही फिल्मबाट विदेशी भाषाको फिल्म अभिनेतृ विधाको अवार्ड पाएकी हुन्। फिल्ममा नीताले पश्चिम क्षेत्रकी किशोरीले भोग्ने समस्यालाई उतारेकी छिन्। अंग्रेजीबाहेक अन्य भाषाका विदेशी फिल्मबाट पञ्चायत चुनिएको हो। फेस्टिवल गत अक्टोबर २५ देखि २९ सम्म चलेको थियो। फेस्टिवलमा हलिउड र एसियन फिल्म गरी २ सय फिल्मले प्रतिस्पर्धा गरेका थिए।

१५ वर्षअघिबाट शुरु भएको फेस्टिवलमा गत वर्षदेखि नेपाली फिल्मले पनि सहभागी हुने अवसर प्राप्त गरेको छ। गत वर्ष नेपाली फिल्म तीन घुम्तीले उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड पाएको थियो।
नायिका नीता ढुंगानाले फिल्मसँगै आफूले अन्तर्राष्ट्रिय अवार्ड पाएकोमा नेपाली भएर गर्व लागेको बताएकी छिन्। अमेकिारमा एक शो प्रदर्शन भएको फिल्मको अन्य शोसमेत गरिने निर्माण पक्षले जानकारी गराएको छ।

शिवम् अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको निर्माणमा बनेको हो। फिल्ममा सरोज खनाल र नीता ढुंगाना मुख्य भुमिकामा छन् भने रूपा राना, गीता अधिकारी, गणेश गिरी, जाह्नवी बस्नेत, विशाल पहाडी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्