राजधानीको नाचघरमा मोरङको पर्खाल



 

दामोदर न्यौपाने
झोराहाट नाट्य समूह मोरङका कलाकारले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार पर्खाल शीर्षकको नाटक मञ्चन गरेका छन्।

समूहका अध्यक्ष भरत गुरागार्इंको लेखन तथा प्रयाग न्यौपानेको निर्देशनमा तयार पारिएको नाटक सांस्कृतिक संस्थानले प्रस्तुत गरेको हो।
समसामयिक सामाजिक विषयमा केन्द्रित नाटकमा भरत गुरागाईं, प्रयाग न्यौपाने, अनु श्रेष्ठ, सुदीप कार्की, ओमप्रकाश निरौला, निराशा ढुंगेललगायतले अभिनय गरेका छन्। करिब डेढ घण्टाको नाटक आज बुधबार पनि मञ्चन गरिनेछ।

समाजमा विद्यमान विकृत पक्ष र विशेष गरी दुई दाजुभाइबीचको कलह तथा द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको नाटकमा पर्खाललाई सांकेतिकरूपमा देखाइएको छ। नाटकमा पर्खाललाई दाजुको अहंकारको रूपमा देखाइएको छ। नाटकमा सौतेनी आमाको दमन र बाबुले छोरा र छोरीमाथि गर्ने विभेदपूर्ण अत्याचारलाई पनि रोचक र घोचकरूपमा प्रस्तुत गरिएको छ। सौतेनी आमा र बाबुबाट माया नपाएका ती दुई दाजुबहिनीले काकाको परिवारबाट भने प्रशस्तै माया र स्नेह पाएका हुन्छन्।

दुई दाजुभाइको बीचमा फुट ल्याउनका लागि तेस्रो व्यक्तिले खेल्ने भूमिकालाई पनि नाटकको प्राथमिकतामा राखिएको छ। यसका साथै घरभित्रको कलहले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र कुलतमा फसेको समाजको हविगतलाई यस नाटकले जस्ताको त्यस्तै छर्लङ्गरूपमा पर्दामा उतार्ने प्रयास गरेको गरेको छ। एकातिर बालिकामाथि सौतेनी आमाको कचकच र धम्कीपूर्ण यातना देखाइरहँदा अर्काेतिर स्वयं सौतेनी आमा बजारिया संस्कृतिको प्रभावमा परेर अरू कसैको प्रेममा फस्न पुगेको वर्तमान समयको समस्यालाई पनि चित्रण गरिएको छ।

विशेष गरी सम्पत्ति र अंशवण्डाले कसरी दाजुभाइबीचमा फुट ल्याउँछ? नाटकले यो प्रश्नको उत्तर खोज्ने प्रयत्न गरेको छ। कुलतमा फसेका कारण दाजुलाई अत्यधिक रिस उठ्नु र भाइप्रति बातैपिच्छे कटुवचन र आशंका गर्नु पनि यस नाटकको मूल मर्म हो। यसका साथै वर्तमान समयमा राजनीतिले हरेक पक्षमा गरेको हस्तक्षेपलाई पनि देखाउन खोजिएको छ। नाटकमा जेलमा परेको व्यक्तिलाई आफ्नो कार्यकर्ताका नाममा छुटाउन राजनीतिले प्रहरी प्रशासनमा पनि आफ्नो वर्चस्व राख्ने प्रचलनलाई स्पष्टरूपमा देखाइएको छ।

दाजुभाइबीचको कलहबाट शुरु भएको नाटक झण्डै अन्तिममा पुग्न लाग्दा दाजुले दुई घरको बीचमा पर्खाल लगाएर भाइको घरतिर नहेर्नेसम्मको स्थितिमा पुग्छ। पर्खालको सानो क्षिद्रबाट भाइको छोरीले जेठाको छोरीलाई भात खुवाइदिएको दुश्य देखिरहँदा सबैको परेली रसाउन पुग्छ। त्यसै क्रममा हत्या आरोपमा जेल परेको दाइको छोरो जेलबाट छुटेर आउँछ र उसलाई दुई घरबीचमा लगाएको पर्खाल देखेर असह्य हुन्छ। ऊ पर्खाल भत्काउने मनस्थितिमा पुग्दा बाबु भत्काउन नदिने निर्णयमा पुग्छ। यससँगै नाटकको दुःखद अन्त्य हुन पुग्दछ।

नाटकमा भौतिक पर्खाल भत्किए पनि मनको पर्खाल भत्काउन आह्वान गरिएको छ। निकै रोचक र मर्मस्पर्शी नाटकले ग्रामीण जनजीवनको गरिबीको चित्रण र मनभित्र रहेको कुण्ठित विचार, रिस, रागलाई सदाका लागि हटाउन जोड दिएको छ। कार्यक्रममा प्रमुखि अतिथि साहित्यकार चिन्तामणि शिवाकोटीले नाटकको प्रशंसा गर्दै जीवन्त अभिनय गर्ने सबै कलाकारलाई बधाई दिए।

प्रतिक्रिया दिनुहोस्