मौसमविद् फेल ‘पोस्ट मनसुन’ सक्रिय



 

टीका बन्धन, काठमाडौं
मौसमविद्हरूको पूर्वानुमानलाई गलत सावित गर्दै मनसुन उत्तराद्र्धको वर्षा ‘पोस्ट मनसुन’को प्रभाव मुलुकका अधिकांश भेगमा फैलिएको छ। यस्तो प्रभाव अझै केही दिन दोहोरिने भएको छ।

यसअघि मौसमविद्हरूले अस्ति सोमबारदेखि मौसममा सुधार आउने बताएका थिए। तर वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली)को प्रभाव मुलुकको पूर्वी र मध्य भेगसम्म यथावत् छ। यससँगै गत साताको अन्यतिर बंगलादेशमा विकास भएको अर्को न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी भेगसम्म फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो।

‘मुलुकको पूर्वी भेगबाट बाहिरिनुपर्ने वायु हामीले गरेको अपेक्षाअनुसार बाहिरिन सकेन’, उहाँले भन्नुभयो– ‘केही दिनअघि बंगलादेशमा सतहीरूपमा विकास भएको न्यून चापीय क्षेत्रको प्रभाव पनि थपिँदा मौसम राम्ररी खुल्न नसकेको हो।’ सोही प्रभावका कारण अधिकांश भेगको मौसम धुमिएर धेरैजसो पहाडी र तराईका केही क्षेत्रमा छिटफुट वर्षा हुने रिमालले बताउनुभयो।

उहाँका अनुसार यस्तो प्रभाव आज बुधबार र भोलि बिहीबार पनि अधिकांश भेगमा दोहोरिनेछ भने हिमाली भेगमा हिमपातको उच्च सम्भावना छ। ‘पोस्ट मनसुन’ सक्रिय भएसँगै यो हप्ता अधिकांश भेगमा वर्षा हुने क्रम दोहोरिएको छ। मंगलबार पनि काठमाडौं, ओखलढुंगा, धनकुटा, विराटनगर, धरान, जनकपुर, जिरीलगायत आसपासका क्षेत्रमा वर्षा भएको थियो।

वर्षाका कारण मुलुकका अधिकांश स्थानको तापक्रम घटेर जनजीवन प्रभावित हुन थालेको छ। मनसुनलगत्तै अक्टोबर र नोभेम्बर महिनामा हुने वर्षालाई पोस्ट मनसुनका रूपमा बुझ्ने गरिन्छ।

‘पोस्ट मनसुन’को प्रभावका कारण गत आइतबार काठमाडौं उपत्यकामा यस वर्षको सबैभन्दा बढी चिसो महसुस गरिएको थियो। सो दिन उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रेकर्ड भएको थियो। अन्यत्र पनि तापक्रम घट्दो अवस्थामा छ। तर महाशाखाका अधिकारीहरू भने अहिलेको चिसो असामान्य भइनसकेको दाबी गर्छन्। महाशाखाकै तथ्यांकअनुसार अंग्रेजी महिनामा काठमाडौं उपत्यकाको औसत न्यूनतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियस हो। मंगलबार अपराह्न उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री रेकर्ड भएको छ।

यसै गरी जुम्लामा सबैभन्दा कम १ दशमलव ५, जोमसोम ३, जिरी ८ दशमलव ४, ओखलढुंगा र ताप्लेजुङमा समान ९ दशमलव ३ र डडेलधुरा ९ दशमलव ९ डिग्री रेकर्ड भएको तथ्यांक छ।

महाशाखाकी मौसमविद् विभूति पोखरेल सबैतिर तापक्रम घट्दा चिसो केही बढी महसुस गरिएको बताउनुहुन्छ। मंगलबार अपराह्नसम्ममा उपत्यकाको अधिकतम् तापक्रम १८ डिग्री सेल्सियस रेकर्ड भएको छ। त्यसै गरी लुम्लेमा १६, जिरीमा १७ दशमलव ५, ओखलढुंगामा १७ दशमलव ९ र जोमसोम र डडेलधुरा समान १९ दशमलव ५ डिग्री रेकर्ड भएको महाशाखाको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्