नयाँ शैली



 

प्रदेश र केन्द्रको निर्वाचनको मिति तोकिएसँगै तातिएको मुलुकको राजनीतिक माहोल हरेक दिन तातिने क्रममा छ। एमाले र माओवादीबीचको वाम गठबन्धन, अनि त्यसपछि कांग्रेसले अघि बढाएको लोकतान्त्रिक गठबन्धनको पहलपछि त झनै पार्टी परित्याग गर्नेहरूको लहर बढेको छ। स–सना पार्टी आफ्नो रोजाइका गठबन्धनमा विलय हुने क्रम जारी छ भने नाम चलेका नेताहरू राम्रै पदको दाबी गर्दै फूलमाला र अबिर पहिरिएर एक–अर्को पार्टी प्रवेश गरिरहेका छन्।

आज एउटा पार्टीमा भोलि अर्कैमा। यस्तो देख्दा धरहराले पुरानो उखान स्मरण गर्न थाल्या छ– ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी।‘ तर, आइतबार चौधरी थरका मुलुककै एक्ला अर्बपति कांग्रेसको समानुपातिक सूचीमा प्राथमिकताका साथ परेको सुन्दा यो उखान समयसापेक्ष भएन कि भन्ने लाग्या छ। विगतमा एमालेका सभासद् रहेका चौधरी कांग्रेसतर्फ ढल्किएपछि राजनीतिक शक्ति केन्द्र मात्र होइन, समग्र उद्योग वाणिज्य क्षेत्रमा समेत तरंग छाएको छ।

यस्तो खबरसँगै सोमबार धेरैतर्फ चर्चा सुनियो– ‘पार्टी बदल्नु त चौधरी जस्तो, खुसुक्क कित्ता फेरेपछि किन चाहियो फूलमाला र अबिर ?’ गत महिना गुपचुपमा एमाले–माओवादी वाम गठबन्धन बनेपछि उनले पनि त्यस्तै शैली अपनाएका हुन् कि भन्ने धरहरालाई लाग्या छ।

प्रतिक्रिया दिनुहोस्