पृथ्वीको कार्बनडाइअक्साइडको मात्रा कीर्तिमानस्तरमा वृद्धि



 

न्युयोर्क, (एजेन्सी)
विश्वभरिको मौसमी परिवर्तनको अध्ययन गर्ने विश्व संस्था डब्ल्यूएमओले दिएको सन् २०१६ प्रतिवेदनमा पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा कीर्तिमानस्तरमा बढेको उल्लेख गरेको छ।

गत वर्ष कार्बन डाइअक्साइडको वृद्धि विगत १० वर्षमा भएको औसत वृद्धिभन्दा ५० प्रतिशत धेरै भएको प्रतिवेदनले जनाएको छ। मानवीय गतिविधि र अलनिनोका कारणबाट भएको यस वृद्धिले विगत ८ लाख वर्षको कीर्तिमान तोडेको शोधकर्ताहरूले बताए।

यसको कारण विश्वभरि तापमान वृद्धिदर निर्धारित गरिएको लक्ष्य पाउन कठिन हुनेछ। वल्र्ड मेटेरियोलोजिकल अर्गनाइजेसनले ग्रिन हाउस ग्यास बुलेटिन जारी गरेको छ। उक्त बुलेटिन ५१ देशमा लिइएका आँकडामा आधारित छ। ती देशहरूमा अवस्थित शोध केन्द्रले तापमान बढाउने कार्बन डाइअक्साइड, मिथेन र नाइट्रसजस्ता ग्यासको आकलन गरेको छ। डब्ल्यूएमओमा आबद्ध डा. ओकसान तारासोवाले भने– ‘हाम्रो सञ्जालले काम गरिरहेदेखिको ३० वर्षको अवधिमा यो सबैभन्दा धेरै बढोत्तरी भएको छ।’

सन् २०१५ मा कार्बनडाइअक्साइडको मात्रा औसत ४ सय पीपीए थियो तर सन् २०१६ मा यो औसत ४ सय ३ दशमलव ३ पीपीएम पुगेको छ। अल निनोले वातावरणमा कार्बनको मात्रामा असर पार्छ। अल निनो चलिरहँदा सुखाग्रस्त हुने र रूख विरुवाको कार्बन सोस्ने क्षमता प्रभावित हुन्छ। विगत केही वर्षमा मानव गतिविधिबाट उत्पन्न हुने कार्बन उत्सर्जमा कमी आएको छ। तर वातावरणमा कुल कार्बनडाइअक्साइडको मात्राको पनि महत्त्व हुने तारासोवा बताउँछिन्। प्रतिवेदनले विगत ७० वर्षमा वातावरणमा हुने कार्बन उत्सर्जनमा वृद्धि शीत युगको अन्त्यपछि १ सय गुणाले बढेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्