दाङमा वाम गठबन्धन दुई दलका प्रभावशाली नेताको एउटै क्षेत्रमा सहकार्य



 

नरेन्द्र केसी, घोराही, दाङ
म गठबन्धन बन्नुअघि दाङ क्षेत्र नम्बर २ मा दुई प्रभावशाली नेता कृष्णबहादुर महरा र शंकर पोख्रेलबीच प्रतिस्पर्धा हुने देखिएको थियो। तर, वाम गठबन्धन बनेसँगै यो अवस्था फेरियो र यो क्षेत्रबाट को उम्मेदवार बन्ने भनेर निकै चर्चा रह्यो। अन्ततः दुवै नेता एउटै क्षेत्रबाट सहकार्य गर्ने सहमति भएको छ।

वाम गठबन्धनको सहमतिअनुसार माओवादी नेता महरा र एमाले नेता पोख्रेलबीच एउटै क्षेत्रमा सहयात्रा हुने भएको छ। महरालाई संघमा उठाउने र पोख्रेललाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको तयारीसहित प्रदेशमा उठाउने निर्णयमा गठबन्धन पुगेपछि दुवै नेताले एउटै क्षेत्रमा सहयात्रा गर्ने अवस्था आएको हो।

यसैबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि दाङमा वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्षेत्र विभाजन टुंग्याएका छन्। जसअनुसार एमालेले प्रतिनिधिसभाका २ र प्रदेशसभाका ३ क्षेत्र पाएको छ भने माओवादी केन्द्रले प्रतिनिधिसभाको १ र प्रदेशसभाका २ क्षेत्र पाएको छ।

दुवै दलद्वारा गठित उच्चस्तरीय कार्यदलको सहमतिअनुसार एमालेले प्रतिनिधिसभाको क्षेत्र नम्बर १ र ३ पाएको छ। ती क्षेत्रमा उम्मेदवार पनि टुंगो लगाइसकेको एमाले स्रोतले जनाएको छ। जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा मेटमणि चौधरी र क्षेत्र नम्बर ३ मा हिराचन्द्र केसी लड्ने टुंगो लागेको एक नेताले बताए।

त्यस्तै एमालेले प्रदेशसभाअन्तर्गत संघीय निर्वाचन क्षेत्र नम्बर १ को २, संघीय निर्वाचन क्षेत्र नम्बर २ का १ र २ तथा संघीय निर्वाचन क्षेत्र नम्बर ३ को २ पाएको छ। जसमा संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा, संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ शंकर पोख्रेल र २ मा अमर डाँगी चुनाव लड्ने निश्चित भएको एक नेताले बताए। यद्यपि पोख्रेल र डाँगीको निर्वाचन क्षेत्रमा हेरफेर हुनसक्ने स्रोतको भनाइ छ। त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा उत्तरकुमार ओली चुनाव लड्नुहुने भएको छ।

माओवादी केन्द्रले पाएको संघीय निर्वाचन क्षेत्र नम्बर २ मा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने बाँकी क्षेत्रमा टुंगो लाग्न बाँकी छ। टुंगो लाग्न बाँकीमध्ये संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा निर्मल आचार्य, इन्द्रजीत चौधरी, नारायणी शर्मा र लीला शर्मामध्ये १ जनाले टिकट पाउने सम्भावना रहेको स्रोतले जनाएको छ। त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश निर्वाचन क्षेत्र नम्बरमा जगप्रसाद शर्मा ‘अपार’ र कुवेर ओलीमध्ये १ जनाले टिकट पाउने सम्भावना रहेको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्