कारागारको रिसइबीले हत्या



 

कुमार श्रेष्ठ, बाँके
डाँका चोरी तथा ज्यान मार्ने मुद्दामा सँगै कारागारमा बसेर छुटेका दुई जनाका बीचमा मनमुटाव हुँदा एक जनाको हत्या भएको छ।

रुकुम जिल्लाको भुमे गाउँपालिका–३ बस्ने धुर सोल्टी भनिने शन्तकुमार पुनको सोही गाउँपालिका–८, का ३९ वर्षीय रणबहादुर रोकाले हत्या गरेका हुन्। रोकाले अर्का १९ वर्षका रणबहादुर रोकाको साथ लिएर पुनको हत्या गरेका थिए। बाँकेको राप्तीसोनारी गाउँपालिका–१, भवानीपुरमा भदौ ३१ गते भएको घटनाको प्रहरीले अनुसन्धान पूरा गरेको छ। घटनाका मुख्य अभियुक्त ३९ वर्षका रणबहादुर भारततिर भागेका छन् भने १९ वर्षे रणबहादुरलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।

शन्तबहादुर डाँका चोरी तथा ज्यान मार्ने मुद्दामा २०७० असोज १४ र ३९ वर्षे रणबहादुर २०७१ असोज १४ गतेदेखि रोल्पा कारागारमा सँगै बसी २०७४ जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा छुटेका थिए। ३९ वर्षे रणबहादुर र शन्तबहादुर साथी थिए। कारागारमा बस्दा पछि उनीहरूका बीचमा रिसइबी भएकाले हत्या हुन पुगेको प्रहरीले बताएको छ। यी दुईका बीचमा अवैध कारोबारधन्दा रहेको बुझिएको छ।

घटनामा १ लाख रुपियाँको खेल पनि देखिएको छ। घनबहादुर बुढा भन्ने व्यक्तिले शन्तबहादुरलाई १ लाख रुपियाँ दिएको बताएका छन्। अवैध धन्दाको बताइएको उक्त एक लाख रुपियाँ शन्तबहादुरको हत्यापछि दुई रणबहादुरले बाँडेका थिए। शन्तबहादुरलाई दुई रणबहादुरले चिर्पट दाउराले हानेर मारेका थिए। हत्यापछि ३९ वर्षे रणबहादुर भारततिर भागेका छन् भने १९ वर्षे रणबहादुर लमहीमा केही दिन मागेर भारत पसेका थिए। उनका आफन्तलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेपछि १९ वर्षे रणबहादुर पक्राउ परेका हुन्।

राप्ती नदीको बगरमा नाम, थर नखुलेको शव भेटिएपछि बाँके प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। घटनाको डेढ महिनापछि बाँके प्रहरीले घटना विवरण सार्वजनिक गरेको छ। बाँके प्रहरीका डीएसपी सुधीर शाहीले अवैध कारोबारमा संलग्न रहेका र अपराधिक पृष्ठभूमिका रणबहादुर र शन्तबहादुरका बीचमा भएको रिसइबीकै कारण हत्या भएको बताउनुभयो। डीएसपी शाहीका अनुसार, रणबहादुरद्वय भदौ ३० गते काठमाडौंबाट लमहीमा आएर ३१ गते बाँकेको कुसुमस्थित भवानीयापुर गएर बसेको र राति ८ बजे शन्तबहादुरलाई बोलाएर हत्या गरेका थिए।
फरार रहेका ३९ वर्षे रणबहादुरको खोजी भइरहेको प्रहरीले बताएको छ। भारतमा लुकेर बसेका उनलाई भारतीय प्रहरीमार्फत् पक्राउ गर्ने तयारी भएको छ।

यसैबीच, बाँके प्रहरीले ३० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारत नानपाराका सोनु राई र दाङका प्रमोद पछाईलाई प्रहरीले पक्राउ गरेको हो। नानपाराबाट ब्राउनसुगर लगेर दाङमा बिक्री गर्ने तयारी थियो। सोनुले भारतबाट ब्राउनसुगर ल्याउने र प्रमोदसँग मिलेर दाङमा बिक्री गर्दै आएको प्रहरीले बताएको छ।
नेपालगन्ज नाकाबाट ब्राउनसुगर पहाडी जिल्लामा कारोबार गर्ने क्रम बढेको छ। पछिल्ला दिनमा दाङ, सुर्खेत यसको अखडा बनेका छन्। एकै दिन आएर जान सकिने भएकाले यी दुई जिल्लाका युवाहरू नेपालगन्ज आएर ब्राउनसुगर लिएर जाने गरेका छन्। पहाडी जिल्लामा महंगोमा बिक्री हुने सम्बद्धहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्