विप्लवले उम्मेदवारलाई सम्झाउने



 

नेपाल समाचारपत्र
बाँके
नेत्रविक्रम चन्द विप्लव नेतृत्त्वको नेपाल कम्युनिस्ट पार्टीले चुनावमा सहभागी नहुन उम्मेदवारहरूलाई आग्रह गर्ने भएको छ।

विदेशीको दलाली गर्ने र सत्तामा गएर नेपाली जनतालाई लुट्ने चुनावको खारेजीको अभियान थालेको नेपाल कम्युनिस्ट पार्टीले चुनावमा भाग नलिन उम्मेदवारहरूलाई भनेको छ। ‘हामी चुनावको विरुद्धमा छौं, त्यसमा पनि दलाल उम्मेदवारलाई हामी कारबाही गर्छौ’ –एक नेताले भने।

बाँकेका जनसरकार प्रमुख देवबहादुर रोकायले चुनावमा सहभागी नहुन आग्रह गर्ने कार्यक्रम रहेको बताउनुभयो। ‘नउठ्नुस् भन्ने हो, उठिहालेमा के गर्ने भन्ने निर्णय आइसकेको छैन’ –जनसरकार रोकायले भन्नुभयो।
पार्टीले सोमबार नेपालगन्जमा आयोजना गरेको वर्तमान परिस्थिति र हाम्रो दायित्व विषयक अन्तरक्रियामा बाँके जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले सत्ता र शक्तिका लागि गठबन्धन भएको बताउनुभयो। उहाँले चुनाव खारेजको अभियान चलाएको बताउनुभयो।

नेपाली जनआन्दोलनहरू सम्झौतामा गएर टुंगिँदा नेपाली जनताले अधिकार नपाएको बताउँदै सिंहले आफ्नो पार्टीले थालेको एकीकृत जनक्रान्तिले वैज्ञानिक समाजवादमा पुर्याउने दाबी गर्नुभयो। उहाँले वाम गठबन्धनलाई उत्तरतिर नजिक हुन गरिएको टिप्पणी गर्नुभयो। बाँके इन्चार्ज सिंहले गाउँ–गाउँमा सिंहदरबार पुर्याउने होइन, राजनीतिक जनसत्ता पुर्याउनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्