अझै रोकिएन दुर्घटना छुट्टाछुट्टै दुर्घटनामा २० को मृत्यु



अनिल खत्री, गुल्मी

बुकुशलबाबु बस्नेत, उदयपुरटवलबाट गुल्मी जाँदै गरेको माइक्रो र उदयपुरबाट ओखलढुंगा जाँदै गरेको टाटा सुमो सोमबार दुर्घटना हँुदा २० जनाको मृत्यु भएको छ।बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो गुल्मीको वीरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने उदयपुरको कटारीबाट ओखलढुंगातर्फ जाँदै गरेको टाटा सुमो कटारी नगरपालिका–११ ठाँटी पहिरोमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। यी दुवै दुर्घटनामा परी ८ जना घाइते भएका छन्।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माइक्रो गुल्मीको दरबार गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो। दुर्घटनामा ११ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवदीले जानकारी दिनुभयो। बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटे पनि बीच बाटोमा यात्रु थपेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा तथा २ जनाको पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएका सबैको सनाखत भएको छ। दुर्घटनामा परी मारिनेहरूमा गुल्मी रेसु·ा नगरपालिका–१० सिमीचौरका चालक भीमबहादुर घर्ती मगर, मालिका गाउँपालिका–६ का लालबहादुर मुखिया, इस्मा गाउँपालिका–१ हस्तीचौरकी यमुना पन्थी मरासिनी रहेका छन्।त्यस्तै मुसिकोट नगरपालिका–३ बडागाउँकी मानकुमारी थापा, इस्मा गाउँपालिका–६ का दिलबहादुर कुमाल, इस्मा गाउँपालिका–२ पालुकाकी रुवि नेपाली, गुल्मी रिमुवाकी सुमित्रा दर्लामी, अर्घाखाँची छत्रदेव गाउँपालिका–७ का रामप्रसाद पाण्डे, बुटवलका केशबहादुर गुरुङ, सुमन कार्की, वीरबहादुर मुखिया  रहेको प्रहरीले जनाएको छ।

गाडीका चालक भीमबहादुर घर्तीको उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको थियो। घाइते हुनेहरूमा १ महिला, ५ पुरुष र २ जना बालक रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये इस्मा गाउँपालिका–२ का सृजन मरासिनी र उनकी बहिनी सृष्टिको उपचार भइरहेको छ। उनीहरूको आमाको भने मृत्यु भएको छ। अन्य घाइतेको पाल्पामा उपचार भइरहेकाले परिचय खुलेको छैन। गाडीमा सवार चालकसहित १७ जना रहेका थिए। घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरेका थिए।

दुर्घटनामा परेको गाडी सडकबाट ५ सय मिटर तल खसेको थियो। गाडीको तीव्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपति प्रेमप्रकाश सिग्देलले जानकारी दिनुभयो। उहाँका अनुसार साइड दिने बलेरो जिप सडकको नालीमा खसेको थियो। दुर्घटनास्थलमा ठूलो भीर र साँघुरो बाटो रहेको छ।
घाइतेलाई एमालेका नेताले भेटे दुर्घटनामा घाइते भएकालाई एमाले सचिव गोकर्ण विष्ट, रेसुंगा नगर प्रमुख डिल्लीराज भुसाल, मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटा, खड्ग केसीलगायतले पाल्पा मिसन अस्पतामा गएर भेटेका थिए। उनीहरूले घाइतेको उपचारमा केही कमी हुन नदिन आग्रह गरेका छन्। यसैगरी उदयपुरको कटारीबाट ओखलढुंगातर्फ जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो सोमबार दिउँसो कटारी नगरपालिका–११ ठाँटी पहिरोमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी घाइते भएका कटारी–२ का हरि कार्कीको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको हो। कटारी नगरपालिका ११ वडाध्यक्ष दीपक बुढाक्षेत्रीले घटनास्थलमा ८ जनाको शव फेला परेको जानकारी दिनुभयो।
यो समाचार तयार पार्दासम्म कटारी अस्पतालमा शव आइपुगेको छैन भने मृतकको सनाखत हुन सकेको छैन। सुमोको चलानअनुसार चालक हरि कार्कीबाहेक अन्य यात्रुको ठेगाना ओखलढुंगा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्