अख्तियारसम्म पुग्दैनन् ठूला मुद्दा



 

हिक्मत नेपाली, दैलेख

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले प्रदेश नं. ६, को १० जिल्लाका ३ सय ५२ वटा उजुरीमाथि छानबिन भइरहेको जनाएको छ।

आयोगमा चालु आर्थिक वर्षमा परेको १ सय ६१ मध्ये ३५ उजुरीको फछ्र्यौट भएको थियो। गत आर्थिक वर्षमा परेको २ सय ४० उजुरीमध्ये १४ वटा मात्रै फछ्र्यौट गर्न सफल भएको थियो।

गत आर्थिक वर्षमा बाँकी रहेका २ सय २६ उजुरी र चालु आर्थिक वर्षमा फछ्र्यौट हुन बाँकी १ सय २६ उजुरीमाथि छानबिन भइरहेको आयोगले जनाएको छ। आयोगले सोमबार गरेको एक कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरेको हो।
प्रदेश नं. ६ का कालिकोट सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, रुकुम, डोल्पा, मुगु र सल्यानका ३ सय ५२ उजुरीमाथि छानबिन भइरहेको जनाएको छ। प्रदेश नं. ६ का १० वटा जिल्लामध्ये कालिकोटमा ६८ वटा उजुरीमाथि छानबिन भइरहेको छ। यस्तै सुर्खेतमा ६०, दैलेखमा ५७, जाजरकोटमा ५४, हुम्लामा ३३ वटा मुद्दामा छानबिन भइरहेको जनाएको छ। रुकुममा १८, जुम्लामा १७, डोल्पामा १७, मुगुमा १४ र सल्यानमा १४ वटा उजुरीमाथि छानबिन भइरहरेको आयोगले जनाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतमा साना उजुरीहरू मात्रै पर्ने गरेको पाइएको छ। वर्षको एक पटक दैलेखमा आउने गरेको अख्तियारले भने, ठूला मुद्दा हात पारेको छैन। गत आव र चालु आव वर्षमा परेका उजुरीहरूमा शिक्षा क्षेत्रमा धेरै अनियमितता भएको पाइएको छ। आयोगमा उजुरी भएका शिक्षा क्षेत्रका मात्र १९ वटा उजुरीहरू दर्ता भएका छन्। तर आयोगले भने दुई वर्षसम्म पुग्दा पनि फछ्र्यौट गर्न सकेको छैन। उतातिर पटक–पटक आयोगमा उजुरी दिएका निवेदकहरूले आयोगले वास्ता नगरेको आरोप लगाएका छन्।

यस्तै दैलेखमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतका १६, वन तथा भूसंरक्षणतर्फ ६, भौतिक पूर्वाधार तथा यातायातका ३ वटा उजुरीमाथी छानबिन भइरहेको आयोगले जनाएको छ। यसैगरी शहरी विकासतर्फका ३, ऊर्जातर्फका २, कृषि विकास २, खानेपानी तथा सरसफाईतर्फका २, अर्थ १, भूमिसुधार तथा व्यवस्था १, संस्कति पर्यटन तथा नागरिक उड्ययनतर्फका १ शहरी तथा गरिबी निवारणतर्फका १ र सूचना तथा सञ्चार प्रविधितर्फका १ वटा गरी जम्मा ५७ वटा उजुरीमाथि छानबिन भइरहेको आयोगले जनाएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा परेका उजुरीमध्ये धेरैजसो साना उजुरी पर्ने गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले जानकारी दिए। विद्यालयको भवन बनाउँदा गुणस्तरहीन भएको, छात्रवृत्ति रकममा दुरूपयोग जस्ता उजुरी मात्रै आउँछन् पन्थले भने– ‘आयोगमा स्थानीय तहको आन्तरिक आयको विनियोजन र खर्च पारदर्शिता नभएको, औषधि खरिद तथा वितरणमा अनियमितताजस्ता विषयमा मात्रै उजुरी आउने गरेको छ।’ यस्तै आयोगमा नक्कली बिल भर्पाइ बनाइ सरकारी रकमको हिनामिना गरेको, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएका उजुरी बढी आउने गरेको पन्थले बताए।

आयोगमा अन्य समयमाभन्दा साउन महिनामा धेरै उजुरी आउने गरेको उनले जानकारी दिए। उनले आफूहरूलाई उजुरी नआए पनि सञ्चार माध्यममा प्रकाशित समाचारका आधारमा पनि छानबिन गरिरहेको बताए। नेपाल पत्रकार महासंघ दैलेखका पूर्वअध्यक्ष नमनकुमार शाहीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले आफ्ना कार्य क्षेत्रमा साना–साना उजुरीहरू मात्रै छानबिन गरिरहेको भन्दै ठूला विकास निर्माणका आयोजनामा पनि भ्रष्टाचार हुने भएकाले त्यस्ता क्षेत्रमा पनि छानबिन गर्न अख्तियारको ध्यान जान जरुरी रहको बताए।

प्रतिक्रिया दिनुहोस्