एआईजी खनालबाट विपद् व्यवस्थापन तालिम समापन



नेपाल समाचारपत्र
काठमाडौं
सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा सञ्चालित सिसं २३ विपद व्यवस्थापन तालिम सम्पन्न भएको छ। उक्त तालिमको कात्तिक १३ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले एक कार्यक्रमका बीच समापन गर्नुभयो।

त्यस अवसरमा उहाँले तालिमका प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै डिजास्टर म्यानेजमेन्ट तालिम (डीएमटी) को ट्यागसमेत प्रदान गर्नुभयो। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले त्यस अवसरमा देश र जनताको सेवा र सुरक्षामा अझै बढी इमान्दार एवं बफादार रही निःस्वार्थ भावानाका साथ दायित्व निर्वाहमा कटिबद्ध रहन निर्देशन दिनुभयो।

उहाँले विपद व्यवस्थापन एउटा पवित्रकार्य भएकाले प्रशिक्षार्थीले तालिममा सिकेका ज्ञान, कला र कौशललाई निरन्तररूपमा व्यवहारमा लागू गर्दै नागरिकको जिउधनको सुरक्षार्थ हरहमेसा निष्ठावान रहिरहनुपर्ने बताउनुभयो।

कार्यक्रममा सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिशंकर बुढाथोकीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर श्रेष्ठले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। गत चैत १३ गतेबाट सञ्चालित सो तालिममा कुल ३८ जना प्रशिक्षार्थी सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्