केश रंगाउने विषयमा विद्यार्थीद्वारा मुद्दा दायर



 

टोकियो, (एजेन्सी)
आफ्नो प्राकृतिक रूपमा खैरो केशलाई आफ्नो विद्यालयले पटक–पटक कालो रंगाउन लगाएको भन्दै एक जना अठार वर्षीया जापानी किशोरले स्थानीय सरकार विरुद्ध क्षतिपूर्तिको माग राख्दै मुद्दा दायर गरेकी छिन्।

उनले ओसाका नजिकको सो विद्यालयले यदि त्यहाँको नियमअनुसार केश कालो नबनाएको खण्डमा आफूलाई बिद्यालयबाटै निकालीदिने चेतावनी दिएको गुनासो गरेकी छिन्। उनले यसरी केश रंगाउँदा आफ्को केश र टाउकोमा नै क्षति पुगेको बताएकी छिन्।

तर काइफुकान हाइस्कुलले भने आफ्नो उद्देश्य छात्राहरुलाई मनपरी ढंगले केश रंगाउन र ब्लिच गर्न नदिनु रहेको जनाएको छ। ती किशोरीकी आमाले विद्यालय प्रशासनलाई उनको जन्मँदै खैरो केश भएको जानकारी दिँदादिँदै उनलाई केश कालो पार्न लगाइएको बताइएको छ। केशकै कारण ती किशोरी गत वर्षको सेप्टेम्वरदेखि विद्यालय जान छोडेकी थिइन्।
नाम नखुलाइएकी ती किशोरीले क्षतिपूर्तिबापत १९ हजार ३ सय अमेरिकी डलर माग गरेकी छिन्। तर स्थानीय संचार माध्यमले ओसाका प्रानितय सरकारले अदालतलाई उनको दावी अस्विकार गर्न दवाव दिइरहेको जनाएको छ।

काइफुकानका प्रधानाध्यापक मासाहिको ताकाहासीले यसबारे केही पनि टिप्पणी गर्न अस्विकार गरेका छन्। अधिकांश जापानी विद्यालयमा केशको रंग , श्रृंगारको प्रयोग र स्कर्टको लम्बाईलाई लिएर निकै कडा नियम रहेको छ।

यसै वर्षको शुरुमा आसाही सिम्बुन अखबारले राजधानी टोक्योका झण्डै ६० प्रतिशत उच्च बिद्यालयमा बिद्यार्थीहरुलाई आफ्नो केशको रंग प्राकृतिक हो भन्ने प्रमाणित गर्न शिशु अवस्थाको तस्वीरसमेत पेश गर्नुपरेको उदाहरण पनि भेटिएको जनाएको थियो।

सो अखबारले जापानको शिशु जन्मदर कम हुँदै गएकाले विद्यालयमा विद्यार्थी भर्नामा निकै प्रतिस्पर्धा हुने गरेकाले विद्यालय प्रशासनले आफ्नो कडा नियम र अनुशासन भएके देखाउँदै अभिभावकहरुलाई आकर्षित पार्न खोज्ने गरेको पनि जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्