क्याटालोनिया संकट,स्पेनको निर्णयविरुद्ध क्याटालन नेताहरुको चेतावनी



 

मेड्रिड, (एजेन्सी)
क्याटालोनियाको संसद् भंग गरी उक्त प्रान्तमा प्रत्यक्ष शासन लगाउने स्पेनको घोषणालाई त्यहाँका नेताहरुले चुनौती दिएका छन्।

क्याटालोनियाका वर्खास्त नेता काल्र्स पुजिमोन्टले स्पेन सरकारको तर्फबाट प्रत्यक्ष शासन लगाउने प्रयासविरुद्ध लोकतान्त्रिक विरोधको आह्वान गरेको छ। गत शुक्रबार क्याटालोनियाको संसद्ले स्वतन्त्रता घोषणा गरेको थियो। त्यसको लगत्तै स्पेनको सिनेटले उक्त प्रान्तमा प्रत्यक्ष शासन लागू गर्ने प्रस्ताव पारित गरेको थियो।

स्पेनका उप–प्रधानमन्त्री सोराया साएन्जले क्याटालोनियाका राष्ट्रपति काल्र्स पुजिमोन्टको स्थान लिने जनाइएका छन्। संसद् भंग गरेपछि स्पेनले क्याटालोनियामा डिसेम्बर २१ मा नयाँ चुनाव गराउने घोषणा गरेको थियो।

पुजिमोन्टले क्याटालोनियाको स्वायत्तता निलम्बित गर्ने मेड्रिडको कदमको निन्दा गरेका छन् र देशलाई स्वतन्त्र बनाउनका लागि काम जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ। एक अज्ञात स्थानबाट टेलिभिजनमा उनले उक्त कुरा बताएका हुन्।

स्पेनले शुक्रबार नै क्याटालोनियाको स्वायत्तता समाप्त पार्दै सरकारको कार्यभार आफ्नो हातमा लिएको छ। यसअघि स्पेनका गृहमन्त्रीले क्याटालोनियाका वरिष्ठ प्रहरी प्रमुखलाई बर्खास्त गर्दै त्यहाँको प्रहरी बललाई आफ्नो नियन्त्रणमा लिएका थिए।

शुक्रबार स्पेनका प्रधानमन्त्री मेरियानो रेजोयले क्याबिनेट बैठकपछि क्याटालोनियाको क्षेत्रीय संसद् भंग गरेको र पुजिमोन्ट सरकारलाई बर्खास्त गरिएको घोषणा गर्दै त्यहाँ नयाँ चुनाव हुने बताएका थिए।

लोकतान्त्रिक विरोध गर्न अपिल
स्वतन्त्रता समर्थकले क्याटालोनियालाई स्वतन्त्र देश बनाउने फैसलाको पक्षमा व्यापक विरोध प्रदर्शन गर्न अपिल गरेका छन्। यसले स्पेनको प्रतिक्रियाको विरोधमा पृथक्तावादी हडताल, वहिस्कार तथा र्यालीको आयोजना हुने अनुमान गरिएको छ। प्रमुख पृथक्तावादी समूह ग्रासरुट्स ग्रुप र क्याटालन नेसनल एसेम्ब्लीले रेजोय प्रशासनलाई विदेशी सरकार भन्ने गरेको छ।

क्याटलान सरकारको मातहतमा काम गरिरहेका २७ हजार कर्मचारीलाई उनीहरुले स्पेन सरकारको आदेश पालना नगर्न र शान्तिपूर्वक प्रतिरोधमा साथ दिन आह्वान गरेका छन्।

पृथक्तावादी विरुद्ध कानुनी कारबाही
स्पेनिस अधिवक्ताहरुले विद्राहीहरु विरुद्ध आरोप तय गर्न सक्छन्। जुन अपराधका लागि आरोप तय हुन्छ, त्यसमा ३० वर्ष कैद हुन सक्छ। स्पेन सरकारको निसानामा परेकाहरुमा सबैभन्दाअगाडि पुजिमोन्ट छन्।
यद्यपि उनले ती आरोपहरुलाई स्वीकार गर्छ वा गर्दैन भन्ने विषयमा अदालतले फैसला गर्नुपर्नेछ। क्याटालोनियाको गणतन्त्र बनाउने घोषणा गोप्य मतदानको माध्यमबाट भएको हो। यसको अर्थ क्याटालान सांसदहरुमाथि आरोप तय गर्न सजिलो हुनेछैन।

स्वतन्त्र गणतन्त्र घोषणा र स्वायत्तता समाप्त गर्ने निर्णयले स्पेन र क्याटालोनिया ठीक विपरीत धारमा उभिएका छन्। स्पेनले क्याटलन राष्ट्रवादी र स्वायत्तता दिने कुरा उठाउन सक्छ। यसमा सन् २००६ को संवैधानिक संशोधनको प्रयोग हुनसक्छ, जसले क्याटालोनियको स्थितिलाई बलियो पार्छ।
क्याटालोनिया स्पेनको सबैभन्दा सम्पन्न इलाका हो। क्याटालोनियामा हालैको गतिरोधका कारण कयौं कम्पनीहरुले आफ्नो वैधानिक मुख्यालय त्यहाँबाट हटाउने निर्णयमा पुगेका छन्। क्याटालोनियाले जनमत संग्रहपछि विश्वभरका देशसँग अलग्ग देशका रूपमा मान्यता दिन अपिल गरेका थिए। क्याटालोनियाले स्थानीय संसद्बाट स्वतन्त्र देशको घोषणापछि युरोपेली युनियनलाई हस्तक्षेप गर्न आह्वान गर्दै स्पेनको कारबाही रोक्न अपिल गरेको थियो।

यद्यपि युरोपेली युनियन र अमेरिकाले यसलाई स्पेनको आन्तरिक मामिला भएको प्रष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्