नयाँ शक्ति पार्टीको उम्मेदवार घोषणा



 

ललितपुर, (नेस)। जिल्लामा चुनावी रौनकपछि उपत्यकामा पनि सुस्तरी चुनावी माहोल गर्माउन शुरू हुन थालेको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्ने दर्ता नजिकिँदै गर्दा उम्मेदवारी घोषणाले बजार तताएको छ।

प्रमुख राजनीतिक दलको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार पार्टीभित्र आन्तरिक निर्णय गरेर छनोट गरेको थियो। यस पृष्ठभूमिमा नयाँ शक्ति नेपालले भने सार्वजनिकरूपमा ललितपुर जिल्लाका उम्मेदवारहरू घोषणा गरेर चुनावी माहोललाई गति दिएको पाइएको छ।

पूर्वप्रधानमन्त्री एवं सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा लगनखेलका खुला चोकमा उम्मेदवार घोषणा गराइएको दृश्यले भने आकर्षण थपिएको थियो।

विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको ‘उही कार्य बारम्बार दोहोर्याएर फरक परिणामको अपेक्षा गर्नु मूर्खता हो’ भन्ने भनाइलाई उद्धृत गर्दै संयोजक डा. भट्टराईले यही जीवनमा समृद्धि चाहने हो भने पुराना पार्टीलाई मत दिएर सम्भव नभएको बताउनुभयो।

यही जीवनमा समृद्धिको लक्ष्य प्राप्त गर्न साधन पनि नयाँ हुनुपर्ने भन्दै उहाँले त्यसबारे जनमत तयार गर्न सार्वजनिकरूपमा उम्मेदवारहरू घोषणा गरिएको जानकारी दिनुभयो।

अभिनेतृ करिश्मा मानन्धरले थप रौनकता दिएको सभामा सो पार्टीबाट जिल्लाको तीनवटै क्षेत्रमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई सभामा उभ्याइएको थियो।
ललितपुर क्षेत्र नं. १ को प्रतिनिधिसभातर्फको उम्मेदवारमा सनोज महत, क्षेत्र नं. २ मा रत्न महर्जन र क्षेत्र नं. ३ मा दलबहादुर लिम्बु रहनुभएको छ। त्यस्तै समानुपातिक उम्मेदवारहरूमा इन्द्रकुमारी गुरुङ, मदन महर्जन, इशुजंग कार्की हुनुहुन्छ।

प्रदेशतर्फ प्रत्यक्ष उम्मेदवारहरूमा क्षेत्र नं. १ ‘ख’ मा दीपक लामा, क्षेत्र नं. २ ‘क’ मा चक्रबहादुर मर्हजन र ‘ख’ मा लक्ष्मीकुमारी श्रेष्ठ रहनुभएको छ। त्यस्तै क्षेत्र नं. ३ को ‘क’ मा विनोद महर्जन र ‘ख’ मा ईश्वर श्रेष्ठ हुनुहुन्छ। प्रदेशसभातर्फको समानुपातिकतर्फ सुफेश अधिकारी र शान्ति घले हुनुहुन्छ। उम्मेदवारहरूलाई संयोजक डा. भट्टराई खादा ओढाई शुभकामना व्यक्त गर्नुभयो।

‘यो उम्मेदवारी आर्थिक समृद्धि यही जीवनमा सम्भव छ भन्ने धारणालाई जन–जनमा पुर्याउन हो’ –संयोजक डा. भट्टराईले भन्नुभयो। मुलुकमा प्रगतिशील र लोकतान्त्रिक शक्तिको अभाव रहेको भन्दै नयाँ शक्तिले त्यसलाई पूर्ति गर्ने पनि उहाँको दाबी छ। वाम गठबन्धनसँगै माओवादी केन्द्र छाडेर आएका, उद्यमी, व्यवसायी र वाम पृष्ठभूमिमा कार्यकर्ताको सभामा बढी उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्