प्रहरीले जे गर्न पनि मिल्छ र ?



 

काठमाडौँको न्यूरोड सधैँ व्यस्त रहन्छ। दैनिक अथाह मानिसको चाप र भीडभाडले भरिएको यो ठाउँमा अनेक प्रकारका मानिसको आगमन हुने गर्दछ। पैदल यात्रीदेखि लिएर व्यापारी अनि सहयोगका लागि हात फैलाउने मानिसहरू पनि न्यूरोडमा धेरै देखिन्छन्। त्यति मात्र नभई वृद्धवृद्धाहरूले पनि अमला र कागतीको थुप्रो लगाएर व्यापार गरेको देखिन्छ। उनीहरू बिहान सबैरै बाटोमा बोरा बिछ्याउँछन् अनि अमला र कागती फिँजाएर बेलुकासम्म बस्छन्। उनीहरूले यसै व्यापारबाट नै जीविका चलाउने गर्दछन्।

कहिले मानिसको अनेक भीडभाडका कारण उनीहरू हर्षित हुन्छन्। शायद मानिसको भीड धेरै भयो भने व्यापार अलिक ज्यादा हुने भएको हुनाले पनि होला। कहिले चर्को घाम अनि कहिले त दर्के झरी, तर उनीहरूको व्यापार भने रोकिएको कमै देखिन्छ। कहिलेकाहीँ त मानिसको भीडले गर्दा खुट्टा अनि जीउमा धक्का लाग्ने गरेको पनि उनीहरूले सुनाउने गर्दछन्। यस्ता बूढापाका किन त्यसरी व्यापार गर्न बाध्य बनेका होलान ? कसैलाई चासै छैन।

यसरी घाम–पानी नभनी दिनरात मेहनत गर्ने वृद्धवृद्धाहरूलाई अरु कसैको डर छैन तर प्रहरीले भने निकै नै तनाव दिने गरेको पाइन्छ। प्रहरीको यो हर्कतले कहिलेकाहीँ त व्यापार नै चौपट हुने गरेको उनीहरूको गुनासो छ।

बाटोमा त्यसरी पैदल यात्रीलाई समस्या हुने गरी व्यापार गर्न नदिने प्रहरीको नियम पनि जायज हो। तर, सरकारले समेत केही गर्न नसकेको त्यस्ता विचराहरूलाई प्रहरीले चर्को दबाब सिर्जना गर्ने, उनीहरूलाई अनेक प्रकारका गाली दिने र तनाव दिने गतिविधि भने कतै नराम्रो त होइन ? अहिलेको २१ औं शताब्दीमा एउटा श्रीमान्ले पनि श्रीमतीको इच्छाविना केही गर्न पाउँदैन, तर जनताको सुरक्षाका लागि खटिएका प्रहरीबाट यस्तो अमानवीय कार्य हुनुलाई यो समाजले के संज्ञा दिने ?
विगत २ वर्षदेखि मैले न्यूरोडको फुटपाथ बजारलाई नियाल्दै आइरहेको छु। हरेक दिन नगर प्रहरी, प्रहरी र फुटपाथमा फलफूल बेच्नेहरूको जुहारी देख्दै आइरहेको छु। प्रहरीले आज आएर लखेट्छन् तर भोलि त्यहाँ सोही बेच्नेहरू नै हुन्छन्। कति महिलाहरू घरको दुई छाक टार्नका लागि त्यसरी व्यापार गरिरहेका हुन्छन्। तिनीहरूको व्यवस्थापन गर्नु राज्यको दायित्व होइन र ?

घरमै आराम गर्ने उमेरमा त्यसरी व्यापार गर्नु पनि त ती वृद्धवृद्धाहरूको इच्छा हैन होला। पैदल यात्रीलाई समस्या हुन्छ भने उनीहरूको पनि त आफ्नै समस्या छ होला। यस पक्षमा सरकारको ध्यान जाओस।
– अनुप पराजुली, काठमाडौं

नेपालमा गुन्डाराज
नेपालमा जुन असफलता आइलागेको छ, जसरी देश निकासविहीनताको भूमरीमा फसेको छ, त्यसको कारण नै देशमा गुन्डाराज चल्नु हो। जसोतसो यत्रतत्र गुन्डागर्दी र भ्रष्टाचारी क्रियाकलापले कब्जा गरेको छ। देश स्वतन्त्र, स्वाधीन र सुरक्षित नहुँदा नहुँदै पनि सुरक्षित छ भनेर हल्ला फिँजाएको पाइएको छ। यस्ता गलत प्रचार र झुटा आस्वासनको नेतृत्व लिँदै आएको सदन र सरकारले गर्दा सिंगो देश नै यसको सिकार बन्न पुगेको छ।

केको चुनाव, केको संविधान, किन चाहियो समाज विकास र उन्नतिका कुरा ? यी त सबै गुन्डाराजले चलाउने एजेन्डा मात्रै हुन। ठगी, छलकपट र बहानाबाजीमा देशलाई होमेर, जनयुद्धजस्तो नरसंहार गरेर पनि नपुगेर अरु कति देशमाथि अपराध गर्न बाँकी छ, भन्न सकिन्न। नेपालमा प्रजातन्त्र, राजतन्त्र असफल हुँदै आज गणतन्त्र पनि असफलताको विगुल फुक्दै आउँदा अब सिंगो देश असफलताको भूमरीमा फस्ने संकेत देखिएको छ।

मेरो देश स्वतन्त्र, स्वाधीन र सुरक्षित छैन। न त यहाँ स्वछ र सफा शासन नै चल्छ। न त यो देशको सिमाना अनि यहाँका जनताको सुरक्षा नै छ। सरकार परदेशको हातमा चलिरहेको छ, सदन पराधीन छ, पार्टी पराधीन छ, सबै पराधीन छ। यसरी सबै कुरा पराधीन भैरहँदा यो मेरो देश कसरी स्वाधीन र सुरक्षित हुन सक्छ र ?

हामी नेपाली जनता सबै ढाँटिएका छौँ, सिंगो देश ढाँटिएको छ, ढाँट्ने र छल्ने काम सबै गुन्डाराजले गरेको छ। यसरी राष्ट्रघात हुँदासमेत यस्तो भएको छैन, पराधीन शासन चलाउँदा पनि चलाएका छैनौँ र देशमा सुरक्षा नहुँदा पनि उच्च सुरक्षा गरेका छौँ भन्नु नै मुख्यरूपमा गुन्डाराज हो। आज नेपाल लुटतन्त्र र परतन्त्रले मात्रै नभई मनपरीतन्त्रले आघात छ। त्यसैले भारत र चीनले अब नेपाललाई निकास दिन लिपुलेकमा झैँ गोप्य भूमिका बाँधेमा अन्यथा नहोला।
– गणेश कार्की, तानसेन–४ पाल्पा

सडक दुर्घटना आखिर कहिलेसम्म ?
गत शनिबार त्रिशूली नदीमा भएको दर्दनाक बस दुर्घटनाले हामी आमनेपालीलाई दुःखी बनाएको छ। नेपालमा यस्ता खालका सडक दुर्घटनाको समाचार दैनिकरूपमा आउनु कुनै नौलो कुरा भएन अब। सडक दुर्घटनामा सडकको अवस्था, ब्रेक फेललगायतका अनेकौं कारण देखाइए पनि नेपालको सडकमा हुने अधिकांश दुर्घटनाको दोषी चालक नै रहने गरेको पाइने गरेको छ।

चालकले सवारी चलाउदा मदिरा सेवन गर्ने, सवारी चलाएकै समयमा फोनमा कुरा गर्ने जस्ता साना–साना लापरबाहीले गर्दा कैयौं नेपालीले ज्यान गुमाउनुपरेको छ भने कैयौंले घाइते अवस्थाको पीडा खेप्नुपरेको छ। सवारीसाधनजस्तो मेसिनरी सामानमा हुने समस्याका कारण हुने दुर्घटना तथा पहिरोलगायत हुनसक्ने दुर्घटनाबाहेक सबै दुर्घटनामा चालकको लापरबाही प्रमुख कारण बन्ने गरेको छ। जसको प्रत्यक्ष उदाहरण शनिबार बिहान त्रिशूली नदीमा दुर्घटनामा परेको बसको हो।

यो घटना कुनै भारी वर्षा भएर पहिरोको कारणले गर्दा भएको होइन। यो त चालकको लापरबाहीले गर्दा भएको रहेछ भन्ने कुरा पनि सुन्नमा आएको छ। उक्त दुर्घटनामा परेका केही घाइते यात्रुहरू बताउँछन्– ‘चालकको हँकाइ देख्दै हामी बाँच्छौं जस्तो लागेको थिएन, हामीले त ज्यानको माया नै मारिसकेका थियौं।’
रक्तचापको घटबढ, दृष्टिको कमजोरी, मानसिक समस्याका कारणले चालकले दुर्घटना गराउने गरेको समाचार सुनिँदै आएको छ। सवारी चलाउँदा चलाउँदै मूच्र्छित हुँदा, टाढाको वस्तु देख्न नसक्दा कतिपय भयानक दुर्घटना हुने गरेका छन्। अन्य कारणमा मदिराको सेवन, बस व्यवसायी तथा चालकले आफ्नो जिम्मेवारी पूरा नगर्दा पनि ठूलो क्षति हुने गरेको छ। यति मात्र नभई गत भदौमा स्याङ्जा जिल्लामा सहचालकले सवारी चलाउँदा दुर्घटना भई स्कुल पढ्ने बच्चाको समेत ज्यान गएको खबर आएको थियो।

यसरी कैयौं यात्रुको जीवन लिएर हिँड्ने यात्रुको मूल्यवान् जीवनसँग खेलबाड गर्ने सवारीचालक र समितीलाई सरकारले बलियो कदम उठाउनै पर्छ। यसरी अनियन्त्रित तरिकाले बस चलाउने, जिम्मेवारी बहन नगर्ने चालकलाई कडाभन्दा कडा कारबाही नगरिएसम्म दुर्घटनाको क्रम कम हुने देखिँदैन।
– रीता पौडल, थानकोट, काठमाडौं

प्रतिक्रिया दिनुहोस्