मन्त्री हुन् कि हजारका आईसी नोट ? – जितु नेपाल ‘मुन्द्रे’



कुमार श्रेष्ठ, बाँके

लोकप्रिय हास्य अभिनेता जितु नेपाल ‘मुन्द्रे’ ले ठूलो संख्यामा रहेका बिनाविभागीय मन्त्रीलाई आईसी हजारको नोटसँग तुलना गर्दै तीखो व्यंग्य गरेका छन्।

‘मन्त्री होइनन् भने हो, तर काम छैन। हजारको आईसी पनि पैसा होइन भनम् हो तर चल्दैन’ –मुन्द्रेले व्यंग्य गर्दै भने। नेपालगन्ज उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती वर्ष एवं २५ र २६औं साधारणसभामा आइपुगेका मुन्द्रेले बिनाविभागीय मन्त्रीलाई आफ्नो व्यंग्यको पहिलो निशाना बनाए। ‘मन्त्री नै बेरोजगार भएको देशमा हामीले कहाँबाट जागिर पाउने?’, मुन्द्रेको व्यंग्य थियो– ‘दिनभरि झण्डा हल्लाएर गाडी चढेर हिँड्यो, कामचाहिँ केही छैन।’

६४ सदस्यीय जम्बो मन्त्रिमण्डल पनि मुन्द्रेको व्यंग्यको विषय बन्यो। मुन्द्रेले बैठकमा मन्त्रीहरूको जम्बो टोली देखेर प्रधानमन्त्री नै झुक्किने व्यंग्य गरे। ‘यो को हो? कहाँबाट आयो? प्रधानमन्त्रीले बैठकमा मन्त्रीलाई नचिनेर भनेछन्। त्यही बेला पीएले कानमा आएर होइन हजुर यो त मन्त्री हो भनेपछि बल्ल ए बस भनेछन्’ –मुन्द्रेले हसाए।

मुन्द्रेले शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली, रामचन्द्र पौडेल र डा. बाबुराम भट्टराईको क्यारिकेचरसमेत गरे। उनको व्यंग्यअनुसार प्रचण्डले व्यापारीलाई भनेछन्– हामी जंगलमा हुँदा पनि तपार्इं (व्यापारी) ले पैसा दिएकै हो। अहिले पनि दिइरहनुभएको छ। तपाईंहरू कमाइरहनूस्, हामीलाई दिइरहनूस्। ओलीले व्यापारीलाई वाम गठबन्धन बनेकाले अबको चुनावमा एमाले र माओवादीलाई भनेर छुट्टाछुट्टै पैसा दिन नपर्ने र एकमुष्ट दिए आफैं बाँड्ने भन्दै मुन्द्रेले व्यंग्य गरे। मुन्द्रेले रामचन्द्रलाई सभापतिले पार्टी कार्यक्रममै बोलाउन छोडेको बेला बोलाएर गुन लगाएको र डा. बाबुराम भट्टराईप्रति नेपालगन्जको सडक फराकिलो हुँदै जाँदा नयाँ शक्ति खुम्चिँदै गएको टिप्पणी गरे।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा उपस्थित रहेको कार्यक्रममा मुन्द्रेले महिला अधिकारको खुबै चर्चा गरे। तपाईंहरू ठूल्ठूला मान्छे, श्रीमान्हरू रहेको कार्यक्रममा म श्रीमतीको श्रीमान्ले के हसाउन सक्छु र? भन्दै माइक समातेका मुन्द्रेले आफूले महिलालाई जहिले पनि अगाडि बढाउने बताए पनि मोटरसाइकलमा अगाडि राख्न नसकेको बताए। राजनीतिक दलले स्थानीय निकायको चुनाव र आसन्न चुनावमा महिलालाई उपमा मात्रै सीमित राखेकोमा मुन्द्रेको व्यंग्य थियो। महिला पछाडि पर्नुमा शृंगारसँग जोडेका मुन्द्रेले मोबाइल र वाइफाईको पनि खुलेर चर्चा गरे। वाइफाईले सम्बन्ध तोडेको छ कि जोडेको छ भन्दै मुन्द्रेले लासलाई राखेर हान्ने गरिएको सेल्फीको घुमाइरो पाराले विरोध गरे।

प्रतिक्रिया दिनुहोस्