मुक्त कम्लरीहरू भन्छन्– “हाम्रो कथा जीवन बदल्न चाहनेका लागि प्रेरणा हो”



 

नरेन्द्र केसी, घोराही, दाङ
लामो समयसम्म अर्काको घरमा दासी जीवन बिताएर मुक्तिपछि विभिन्न क्षेत्रमा अघि बढिरहेका मुक्त कम्लरीहरूले जीवन बदलिएकोमा खुसी व्यक्त गर्दै आफूहरूको जीवन कथा पढेर अरूले धेरै मानिसले आफ्नो जीवन बदल्नसक्ने बताएका छन्। साथै उनीहरूले आफूहरूले जस्तो पीडा अरू कसैलाई भोग्ने अवस्था आउन नदिन समाज सबै क्षेत्रलाई सचेत पनि गराएका छन्।

कक्षा २ मा पढ्दापढ्दै बुवाको निधनपछि कम्लरी बसेर लामो समयपछि मुक्त भइ पुनः अध्ययन थालेर अहिले स्नातकोत्तर तहमा अध्ययनरत सरस्वती चौधरीले भन्नुभयो– ‘आफ्नो जीवन नै पीडादायी कथामा बदलियो, अहिले हामी पुनः नयाँ जीवनको खोजीमा छौं, हामी चाहन्छौं संघर्ष गरिरहेका धेरै व्यक्तिहरू हाम्रो जीवनकथा पढेर नयाँ जीवनका लागि अघि बढ्नेछन्।’

कम्लरीबाट मुक्त भएपछि अध्ययन शुरू गरेर हाल कानुनमा एलएलबी अध्ययरत बिष्णु चौधरीले त आफूहरूको जीवन कथा मर्न चाहेकालाई बाँच्न सिकाउने आधारसमेत बनेको बताउनुभयो। ‘मेरो एक जना अति मिल्ने साथी छन्, उनले निराश भएको बेला आत्महत्या गर्न खोजेकी रहेछन् अनि झट्ट मलाई सम्झेर त्यो बाटो नै परिवर्तन गरेको बताइन्’, उहाँले भन्नुभयो– ‘विष्णुजस्ता नारकीय जीवन बिताएकाहरू त अहिले नयाँ जीवनको खोजीमा अघि बढिसकेका छन् भने म किन पर्ने भन्ने उनीमा भावना आएछ, हाम्रो जीवन साँच्चिकै मर्न पसेकालाई जीवनमा फर्काउने ऊर्जा बनेको छ।’

लामो समयसम्म अर्काका घरमा काम गरेर कलिलो जीवन खेर फालिरहेका पश्चिम तराइका हजारौं कम्लरीहरू मुक्त भएपछि अहिले उत्साहपूर्ण जीवन बिताइरहेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुरका १२ हजार ८ सय ८५ जना थारु चेलीहरू कम्लरीबाट उद्धार गरिएकोमा अहिले उनीहरू अध्ययन, रोजगारी, व्यापार, सामाजिक सेवालगायतका विभिन्न काममा अघि बढिरहेका छन्। १ हजार ३ सय ८१ जनाले प्रवेशिका उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् भने हजारौंले पेसा व्यवसाय गरिरहेका छन्।
मुक्त कम्लरीको सफलताको कथा समेटिएको पुस्तक ‘जीवन बदल्नेहरू’का लेखक पत्रकार केसीले साहुको ऋण तिर्न नसकेर अर्काको घरमा काम गर्न पठाइएका थारू बालिका नै कम्लरी भएको बताउनुभयो। यो थारू समुदायले मात्र व्यहोरेको प्रथा भएकाले यो प्रथाको अन्त्यपछि थारू समुदायमै ठूलो परिवर्तन आएको बताउनुभयो।

मुक्त कम्लरीसमेत रहेकी पूर्वसभासद् शान्ता चौधरीले कम्लरी आन्दोलनलाई अझै पूर्णरूपमा सफल बनाउन बाँकी रहेको बताउनुहुन्छ। आधारभूत रूपमा कम्लरीमुक्ति घोषणापछि दासताको अन्त्य भए पनि यो आन्दोलनलाई अझै उचाई दिन बाँकी रहेको उहाँले बताउनुभयो। कम्लरी मुक्तिको अभियान शुरू गर्ने गैरसकारी संस्था नेपाल युथ फाउन्डेसनका कार्यकारी निर्देशक राजु धमालाले २०५५ सालमा पत्रिकामा आएको दाङको समाचारलाई आधार बनाएर खोजी गर्दै २०५६ सालदेखि यो अभियानको शुरूआत गरेको उल्लेख गर्दै १७ वर्षको अवधिमा पूर्वकम्लरीले जीवन बदलेको देख्दा आफूहरू गौरवान्वित् भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्