नक्कली परीक्षार्थी प्रकरण, ८ हजार परीक्षार्थी अन्योलमा प्रहरी भन्छः अनुसन्धान जारी भएकाले केही भन्न सकिन्न



 

प्रशान्त वली, काठमाडौं
एमबीबीएस प्रवेश परीक्षा दिएर बसेका करिब ८ हजार विद्यार्थी नतिजा आउँछ कि पुनः परीक्षा हुन्छ भन्ने विषयमा अन्योलमा छन्। आगामी मंसिर १ गतेदेखि एमबीबीएसको कक्षा सञ्चालन भइसक्नुपर्ने प्रावधान भए पनि आवश्यक काम तीव्र रूपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ।
असोज २८ गते शनिबार काठमाडौंमा भएको एमबीबीएस प्रवेश परीक्षामा अनियमितता भएपछि घटनाक्रम लम्बिँदै गएको छ। प्रवेश परीक्षामा केही नक्कली परीक्षार्थी भेटिएको र केहीले डिभाइसको प्रयोग गरेको पाइएको र त्यस विषयमा छानबिन भइरहेको भन्दै नतिजा प्रकाशन कार्य स्थगित भएको चिकित्साशास्त्र अध्ययन संस्थानले विज्ञप्ति जारी गरी जानकारी गराएको थियो।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले अनुसन्धानको निष्कर्षका आधारमा पुनः परीक्षा सञ्चालन हुने अथवा नहुने टुगोंमा पुगिने बताएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि टेकुमा राखिएको प्रहरीले बताएको छ।

प्रवेश परीक्षा दिएर बसेका विद्यार्थीले तत्काल निष्पक्ष ढंगले पुनः परीक्षा हुनुपर्ने माग गरेका छन्। परीक्षा दिएका विद्यार्थी आशिष अधिकारीले भन्नुभयो– ‘हाम्रो भविष्यमाथि खेलवाड गर्न कसैले पाउँदैन। पुनः परीक्षा गराएर नतिजा छिटोभन्दा छिटो बाहिर ल्याउनुपर्छ। हामी निकै समस्यामा पर्यौं।’

परीक्षामा अनियमित गरेको भन्दै १६ जनामाथि अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी नरेन्द्रप्रसाद उप्रेतीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘घटनाको छानबिन भइरहेको छ। बिदा परेकाले पनि समस्या भएको हो। अब अनुसन्धानलाई तीव्र गतिमा लगेर टुंगोमा पुर्याउँछौं।’

आईओएमका डीन प्राडा जगदीशप्रसाद अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी आफैं अनुसन्धानको दायरामा छौं। अहिले अनुसन्धान भइरहेको छ। हेरौं के हुन्छ?’

आईओएमद्वारा गत शनिबार काठमाडौं उपत्यकाका १७ वटा क्याम्पसमा सञ्चालित प्रवेश परीक्षाको प्रश्नपत्र परीक्षा चल्दाचल्दै बाहिरिएको र केही परीक्षार्थीले इलेक्ट्रोनिक डिभाइसमार्फत् चिट चोरेर परीक्षा दिएको पुष्टि भएको थियो। चिकित्साशास्त्र अध्ययन संस्थानले नतिजा मात्र रद्द गरे पनि विद्यार्थीले परीक्षा नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन्।

परीक्षाका क्रममा ८ जना नक्कली परीक्षार्थीलाई तत्कालै परीक्षा हलबाट निष्कासन गरिएको र ३ जना परीक्षार्थीको साथबाट इलेक्ट्रोनिक डिभाइस सेट भेटिएकाले सो डिभाइससहित ११ जनालाई अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको आईओएमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गिरोहका १० जनालाई साइबर र ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। समीरकुमार झाको नेतृत्त्वमा प्रवेश परीक्षाको क्रममा सबै गैरक्रियाकलाप भएको एसपी उप्रेतीले बताउनुभयो। प्रथमपटक ५ दिनका लागि म्याद थप हुने र पुष्टि भए ऐनबमोजिम कारबाही हुने प्रहरीले बताएको छ।

गिरोहका नाइके समीर झासहित शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय, सञ्जयकुमार यादव, ज्ञानेन्द्र ठाकुर र अजय यादवलाई विद्युतीय कारोबार ऐनअनसार कारबाही अघि बढाएको हो। त्यस्तै, भारतीय नागरिकद्वय सुविशदेव र सौरभकुमारलाई शिक्षा ऐनअनुसार कारबाही अघि बढाइएको छ। पक्राउ परेकामध्ये नक्कली जाँच दिने, पैसा असुल्ने बिचौलियाको काम गर्ने प्रकृतिका रहेको प्रहरीको दाबी रहेको छ।

संगठित रूपमा नै झाको गिरोहले कानभित्र लुकाइने गोप्य डिभाइसमार्फत् चिट चोराएको बताइएको छ। परीक्षामा सहभागी ३३ जना विद्यार्थीले आइतबार उक्त परीक्षा पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिल, आईओएम र शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्