शोकाकूल छ सप्तरी



 

शिवहरि भट्टराई, राजविराज
छठ पूजाको समाप्तीपछि ज्वाईं सञ्जीवसँगै हाँस्दैखेल्दै शुक्रबार साँझ घुम्न काठमाडौंका लागि रात्री वसबाट बाइबाइ गर्दै बिदा भएका छोराछोरी भाउजू नाती र सबैको मृत शरीर आइतबार घरआँगनमा ल्याइएपछि राजविराज नगरपालिका १६ वोरियाका मदन झा मुर्छा परे।

निस्किने बेलामा बस पार्कसम्म सँगै गएकाहरूको तीन दिनपछि प्लास्टिकमा बेरिएको मृत शरीर घरआँगनमा ल्याइएपछि झासँगै परिवारका अन्य सदस्य र आफन्त धमाधम मुर्छा पर्न थाले। कोही पानी छर्कन थाले भने कोही मोटरसाइकल लिएर स्वास्थ्यकर्मी बोलाउन कुदे। यस्तो हृदयविदारक दृष्य देखेर सबैमा रुवाबासी नै चल्यो। शनिबार बिहान धादिङको त्रिशुली नदीमा बस दुर्घटनामा परी झा परिवारका ८ सदस्यको ज्यान गएको थियो। झाका छोरा आदित्य, छोरी सीमी, पूजा, भाउजू चन्द्रावतीका साथै तिलाठी निवासी ज्वाईं सञ्जीत उनका कान्छा भाइ मन्जित, नाती अभिनव र प्रतीक गरी ८ जनाको ज्यान गएको हो।

तिलाठीमा पनि यस्तै मार्मिक दृश्य देखियो। एम्बुलेन्समा सञ्जितसहित एकै परिवारका ५ जनाको मृत शरीर ल्याइएपछि गाउँभरि रुवाबासी चल्यो। दुर्घटनामा २ छोरा २ नाती र बुहारी गरी ५ जना गुमाएका ८० वर्षीय पिता रामानाथ पनि मुर्छित हुने र बौरिने गर्न थाले। उनलाई सम्हाल्न छिमेकीहरूलाई हम्मेहम्मे परेको थियो।
दुर्घटनामा परी सप्तरीका अन्य स्थानसमेत गरी २७ जनाको मृत्यु भएको थियो। जसमध्ये आइतबार २४ जनाको शव सप्तरी ल्याई प्रहरीद्वारा आफन्तको जिम्मा लगाइएको छ। नदीको भेलमा बेपत्ता बनेका सप्तरीको तिलाठीका पूजा झा र उनका ५ वर्षीय छोरा प्रतीक तथा चालक सन्तोष चौधरीको खोजी कार्य भने अझै जारी रहेको धादिङ प्रहरीलाई उद्धृत गर्दै सप्तरीका एसपी मुकेश सिंहले जानकारी दिएका छन्। शव बुझेसँगै आफन्तले आ–आफनो संस्कृति र रीतिरिवाजअनुसार अन्त्येष्ठि र काजकृया थालेका छन्।

यता, दुर्घटनाले पूरै सप्तरीबासी शोकाकुल छन्। दुर्घटनामा परेर निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय निकायले मातहतका सबै कार्यालय बन्द गरेका छन्। यस्तै शोक मनाउन जिल्लाभरिका शिक्षण संस्था बन्द गरिएका छन् भने जिल्लाका प्रमुख बजारहरू पनि सुनसान देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्