वजनियाकी सात वर्षपछि फाइनलमा



 

लन्डन, (एजेन्सी)
कारोलिन वजनियाकीले कारोलिना पिलिस्कोभालाई ७–६, ६–३ ले हराएर सिंगापुरमा जारी डब्लूटीए फाइनल्सको फाइनलमा स्थान सुरक्षित गरेकी छन्।

शनिबार करिब दुई घण्टाको संघर्षपछि डेनिस खेलाडीले फाइनलको यात्रा तय गरेकी हुन्। २७ वर्षीया वजनियाकीको यो विश्वका शीर्ष आठ महिला खेलाडीबीच हुने प्रतियोगितामा दोस्रो फाइनलसमेत हो। यसअघि उनी सन् २०१० मा फाइनलमा पराजित भएकी थिइन्।

वजनियाकीको यो जितले पिलिस्कोभालाई सिमोना हालेपको विश्व नम्बर एक छिन्नबाट वञ्चित बनाएको छ। रोमानियाकी हालेप समूह चरणबाटै बाहिरिएपछि पिलिस्कोभालाई विश्व नम्बर एक बन्न यो प्रतियोगिता जित्नुपर्ने थियो। पिलिस्कोभामाथि छैटौं पटक जित हात पारेकी वजनियाकीले बताइन्– ‘यस वर्ष हामीले धेरै खेल खेल्यौं। आज मेरो पालो थियो। यस साता मैले उत्कृष्ट टेनिस खेलेकी छु र मलाई फाइनल पुगेकोमा खुसी पनि छ।’

पहिलो सेटमा ५–३ को अग्रता बनाए पनि चेक खेलाडीले सो सेट जित्न सकिनन्। वजनियाकीले तीन सेट अंक बचाएर टाइब्रेकसम्म तानेकी थिइन्। उनले टाइब्रेकमा ६–१ को अग्रता लिइन् तर पिलिस्कोभाले पुरै पाँच सेट अंक बचाएर ६–६ बराबरीमा पुर्याएकी थिइन्। त्यसपछि ११–९ अंकले वजनियाकीले पहिलो सेट आफ्नो बनाएर खेलमा एक सेटले अग्रता लिइन्। पहिलो सेट जितेपछि दोस्रो सेटमा वजनियाकीले ब्रेक गरेर ३–१ ले अगाडि बढेकी थिइन्।

प्रतियोगिताअन्तर्गत शनिबारै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कारोलिन गार्सियालाई तीन सेटमा पराजित गर्दै भेनस विलियम्स फाइनलमा पुगिन्। अमेरिकी खेलाडीले फ्रान्सकी गार्सियालाई ६–७, ६–२, ६–३ ले
हराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्