अब नेप्सेमा विकास बैंक र लघुवित्त कम्पनीको फरक–फरक समूह



 

हेमन्त जोशी, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आबद्ध समूहको संख्या १० पुग्ने भएको छ। हाल एकै समूहमा रहेका ‘ख’ वर्गका विकास बैंक र ‘घ’ वर्गका लघुवित्त कम्पनीलाई छुट्टा छुट्टै समूहमा राखेर इन्डेक्स क्याल्कुलेसन गर्ने काम शुरु गर्न थालिएको हो।

नेपाल स्टक एक्सचेन्जका उपप्रबन्धक निरन्जन फुयाँलले यसै हप्ताबाट १० वटा समूह रहने गरी कारोबार गरिने जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्नु हुँदै फुयाँलले भन्नुभयो–‘आइतबारबाटै हामीले लघुवित्त र विकास बैंकहरूको फरक–फरक इन्डेक्स देखिने गरी काम गर्ने तयारी गरिरहेका छौं। यसले गर्दा लगानीकर्तालाई पनि परिसूचक थाहा पाउन सजिलो हुने अपेक्षा राखेका छौं।’ लघुवित्तको शेयर मुल्य र कारोबार ३⁄४ वर्षदेखि निरन्तर बढिरहेको छ। तर, विकास बैंक भने सो अनुपातमा बढेको छैन। इन्डेक्स क्याल्कुलेसन गर्दा औसतमा देखिने भएकाले दुई वटा समूहमा विभाजन गर्न लागिएको फुयाँलको भनाइ छ।

हाल ३८ वटा विकास बैंक र ३३ वटा लघुवित्त संस्थाको सूचांक एउटै समूह अर्थात विकास बैंक समूहमा राख्ने गरिन्थ्यो। तर ‘ख’ वर्ग र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाको पुँजीको आकार, लगानीको अवस्था, निक्षेप संकलन, कर्जालगायत विषयमा ठूलो अन्तर रहेकाले फरक समूहमा राख्न लागिएको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीले बताउनुभयो। उहाँले भन्नुभयो–‘तुलनात्मक रूपमा ठूलो पुँजी भएका विकास बैंकहरूभन्दा सानो पुँजी भएका वित्तीय संस्था अर्थात लघुवित्त कम्पनीहरूको शेयर मूल्यमा निकै उतारचढाव आउने गर्दछ। यी दुवै क्षेत्रलाई फरक ठाउँमा राखेर सुचाङ्क मापन गर्दा लगानीकर्तालाई पनि सहज हुन्छ।’

लामो समयसम्म एउटै समूहमा रहेर कारोबार गरिरहेका दुईफरक प्रकृतिका संस्थालाई एकै समूूहमा राखेर सूचांक देखाउँदा लगानीकर्ताहरूले सजिलै तिनीहरूको अवस्थाबारे जानकारी पाउनेछन्। यसअघि लघुवित्तका लगानीकर्ताहरूले विकास बैंकसँग मापन गरिएको औसत सूूचांकलाई आधार मान्नुपर्ने अवस्था थियो।

नेपाल स्टक एक्चेन्जको तथ्यांक अनुसार हाल विभिन्न ९ समूहमा २ सय ८ वटा कम्पनीहरू आबद्ध छन। वाणिज्य बैंक समूहमा २७ वटा, फाइनान्स समूहमा ३१ वटा, विकास बैंक ७१ वटा, होटस समूहमा ४ वटा, उत्पादनमूलक क्षेत्र समूहमा १८ वटा, जलविद्युत् समूहमा १६ वटा, बीमा समूहमा २२ वटा, ट्रेडिङ समूहमा ४ वटा र अन्य समूहमा ४ वटा कम्पनी नेप्सेमा सूचीकृत छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७३ साउन मसान्तसम्ममा यस्ता कम्पनीहरूको संख्या २ सय २६ रहेको थियो। तर, केही बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरूको संख्या घट्न गएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्त विकास बैंकको वित्तीय स्रोत तथा उपयोगको विवरण हेर्दा १२ अर्ब ७६ करोड ३६ लाख रुपियाँ पुँजीकोष, ३४ अर्ब ४० करोड ११ लाख ८४ हजार रुपियाँ निक्षेप संकलन रहेको छ। उपयोगको विवरण हेर्दा तरल कोषतर्फ १२ अर्ब ७४ करोड ९ लाख ७७ हजार र लगानी २ अर्व ७५ करोड ३१ लाख ४१ हजार रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्