जेस बेजोज ब्रह्माण्डका सबैभन्दा धनी व्यक्ति



 

काठमाडौं, (नेस)
अमेजन कम्पनीका सीईओ जेफ बेजोज माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स र बर्कसायर ह्याथ्वे कम्पनीका सीईओ वारेन वफेटलाई उछिन्दै संसारको सबैभन्दा धनी व्यक्ति बनेका छन्।

अमेजन कम्पनीको शेयर मूल्यमा अत्याधिक वृद्धि देखिएपछि गत शुक्रबार बेजोज ब्लुम्वर्ग बिलिनियर्स इन्डेक्स सूचीको पहिलो नम्बरमा देखिएका हुन्। लगातार चार वर्षसम्म उक्त सूचीको पहिलो स्थानमा बिल गेट्स रहेका थिए।

बेजोजले आफ्नो सम्पत्तिमा १० दशमलव ४ अर्ब अमेरिकी डलर थप्दै ब्रह्माण्डको सबैभन्दा धनी व्यक्ति दरिएका हुन्। शुक्रबार मात्रै १३ प्रतिशतले बढेको अमेजनको शेयर मूल्य पछिल्लो २ वर्षकै सबैभन्दा ठूलो वृद्धिदर हो। गत शुक्रबार संयुक्त राज्य अमेरिकाको पुँजी बजारमा अमेजनको मूल्यमा देखिएको वृद्धिदर पछि गेट्स बेजोजभन्दा ५ दशमलव १ विलियन अमेरिकी डलरले पछि परेका छन्। बेजोजको सम्पत्ति कुल ९३ दशमलव ८ विलियन अमेरिकी डलर रहेको छ भने गेट्सको सम्पत्ति ८७ दशमलव ९ विलियन अमेरिकी डलर रहेको छ।

शुक्रबार अमेजनको शेयर कारोबार शुरु हुँदा अघिल्लो दिन बन्द भएको कारोबारभन्दा एकैपटक ८ प्रतिशतले बढी देखिएको थियो। उनका प्रतिस्पर्धी विल गेट्सको कम्पनी माइक्रोसफ्टले शेयर मूल्य भने ७ प्रतिशतले मात्र बढेको थियो।

अर्बपतिहरूको सूची तयार पार्दै आएको पत्रिका फोब्र्सले बेजोजलाई प्रविधिको क्षेत्रमा दोस्रो धनी, नोटेबल विलिनियर्समा तेस्रो र विश्वको शक्तिशाली व्यक्तिको सुचीमा १४औं स्थानमा राखेका छ।
बेजोजको अमेजनमा १७ प्रतिशत शेयर रहेको छ। ५३ वर्षीय बेजोज वासिङ्टनमा बस्छन्। उनले सन् २०१३ मा २ सय ५० मिलियन डलरमा ‘द वासिङ्टन पोस्ट’ खरिद गरेका थिए।

अमेजन विद्युतीय र अनलाइन व्यापारका क्षेत्रमा सबैभन्दा ठूलो सफलता हात पार्ने कम्पनी हो। सन् १९९४ मा स्थापना भएको कम्पनीको गत शुक्रबारको प्रति एकशेयर मूल्य १ हजार १ सय १० दशमलव ९५ अमेरिकी डलर रहेको छ। माइक्रोसफ्टको शेयर मूल्य भने ८३ दशमलव ८१ अमेरिकी डलर रहेको छ।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्