स्पेन सरकारद्वारा क्याटालोनियामा प्रत्यक्ष शासनको घोषणा संसद र सरकार भंग



 

मेड्रिड, (एजेन्सी)
स्पेनका प्रधानमन्त्री मारियानो रजोयले क्याटालोनियामाथि केन्द्रको कब्जा रहने गरि त्यहाँको संसद भंग गरेका छन्। क्याटालान विधायकहरूले देशको समृद्ध उक्त उत्तरपूर्वी क्षेत्रलाई स्वतन्त्र घोषणा गर्ने विधेयकलाई पारित गरेपछि आएको केन्द्रको यस कदमले क्याटालोनियाको संकट थप गहिरिएको छ।

प्रधानमन्त्री रजोयले क्याबिनेटको एक बैठकपछि क्याटालोनियाका नेता कार्लोस पुजिमोन्ट र उनको क्याबिनेटलाई बर्खास्त गरेको घोषणा गरेका हुन्। उनले क्याटालोनियामा चाँडै चुनाव गराउने घोषणा गर्दै त्यहाँ सामान्य स्थिति बहाल गर्नका लागि क्याटालोनिया शासनको बागडोर केन्द्रले लिने अभुतपूर्व निर्णय आवश्यक भएको बताए।

स्पेनको संवैधानिक अदालतले अवैध ठहर्याएको भए पनि क्याटालोनियामा स्वतन्त्रताका लागि जनमत संग्रह भएपछि त्यहाँ संकटको शुरूवात भएको हो। क्याटालोनियामा डिसेम्बर २१ मा पुनः चुनाव गराउने स्पेन सरकारले जनाएको छ। रजोयले चुनाव स्वतन्त्र, वैधानिक र स्वच्छ तरिकाबाट गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले विद्यमान स्थिति निराशाजनक भएको बताउँदै भने– ‘हामी कहिले पनि यस्तो स्थिति चाहेका थिएनौं।’

रखोयले क्याटालोनियाका प्रहरी प्रमुखलाई पनि बर्खास्त गरेको घोषणा गरेका छन्। स्पेन र क्याटालोनिया दुबैतर्फको संसदमा स्थिति अत्यन्त तनावपूर्ण रहेको बेला स्पेनको क्याबिनेट बैठकपछि रखोयको उक्त बयान आएको हो। क्याटालोनियाको संसद्मा बहुमतले स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो भने स्पेनको सिनेटले क्याटालोनियाको स्वायत्तता अन्त्य गर्ने पक्षमा फैसला लिएको थियो।
यसअघि शुक्रबार क्याटालोनियाको संसद्ले स्वतन्त्रताको प्रस्तावलाई स्विकृती दिएको थियो। १ सय ३५ सदस्य रहेको सदनमा प्रस्तावको पक्षमा ७० र विरोधमा १० मत परेको थियो भने दुई सदस्यले मतदानमा भाग लिएनन्। विपक्षका कयौं सांसदले मतदान बहिष्कार गरे।

उक्त मतदानपछि क्याटालोनियाले स्पेनको संविधान खारेज गरेको थियो।
यसबीच स्पेनको सिनेटको फैसलाले क्याटालोनियाको स्वायत्तताको संवैधानिक दर्जा समाप्त पार्यो। यसले उक्त प्रान्तमा स्पेनको प्रत्यक्ष शासन भएको छ।

क्याटालोनियाको संसद्मा भएको मतदानपछि राजधानी बार्सिलोनामा प्रान्तीय सिनेट भवनबाहिर पृथक्तावादी समर्थकहरू भेला भएका थिए। उनीहरूले स्वतन्त्रता घोषणा गर्ने निर्णयमा झण्डा फहराएर खुसी व्यक्त गरेका थिए। मेड्रिडको फैसलापछि पुजिमोन्ट र १२ सदस्यीय क्याटालान क्याबिनेटलाई अब कुनै मान्यता हुने छैन र यदि त्यसलाई पालना गर्न अस्वीकार गरेमा उनीहरू विरुद्ध उपयुक्त मुद्दा लाग्न सक्छ। रेजोयको घोषणापछि क्याबिनेटका कुनै पनि सदस्य सार्वजनिक भएका छनैन् नत उनीहरूले उक्त निर्णयका विषयमा कुनै विज्ञप्ती नै दिएका छन्। स्पेनका अधिवक्ताले वरिष्ठ क्याटालन अधिकारीहरूले सोमबारसम्ममा विद्रोही आरोपको सामना गर्नुपर्ने बताएका छन्।

आदेशको पालना नहुने संकत
यद्यपि उक्त आदेशलाई पालना गर्ने तत्काल उनीहरूले कुनै संकेत देखाएका छैनन्। वरिष्ठ क्याटालन अधिकारीहरूबाट प्रतिरोध हुन सक्ने सम्भावना रहेकाले मेड्रिडमा रेजोयको सरकार क्याटालोनको तल्लो स्तरसम्मको प्रशासन नियन्त्रण गर्न कसरी समर्थ होला भन्ने प्रष्ट भएको छैन।

सन् १९७५ मा तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोको निधनसँग स्पेनमा प्रजातन्त्रको पुनर्वहालीपछि क्याटालोनियाले शिक्षा, स्वास्थ्य र प्रहरी व्यवस्थापनलगायतका थुप्रै क्षेत्रको सञ्चालनमा अधिकार प्राप्त गरेको थियो।

करिब २ लाख संख्यामा रहेका क्याटालोनियन सरकारी कर्मचारीमध्ये केहीले मेड्रिडको आदेश मान्न अस्वीकार गर्ने बताएका छन्। देशको सिनेटले शुक्रबार दिएको विशेष अधिकारअन्तर्गत उनीहरू सजायँका भागिदार हुने वा खासुवामा पर्न सक्ने खतरा बढेको छ।

प्रतिक्रिया दिनुहोस्