जनप्रनिनिधिलाई सम्झाउन नाटक



महिला, कानुन र विकास मञ्च तथा शैली थिएटरको आयोजनामा शनिबार विराटनगर महानगरपालिकामा नाटक मञ्चन गरिएको छ।

नवनिर्वाचित जनप्रतिनिधिहरुसँग नागरिकता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी छलफल कार्यक्रमअन्तर्गत नागरिकताविहीन नागरिक नामक नाटक मञ्चन गरिएको हो।

नाटकमार्फत मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई नागरिकतासँग सम्बन्धित विभिन्न कानुनी प्रक्रियाबारे बोध गराइएको थियो। शैली थिएटर, काठमाडौंको प्रस्तुति रहेको नाटकमा सुमित्रा कोइराला, सुवास सुवेदी, सौरभ ढकाल, अभय देवकोटा, शिशिर अर्याल, सदिन लुइँटेल, मित्र नेपालीले अभिनय गरेका थिए। नाटक सहिन प्रजापति र सुवास सुवेदीले संयुक्तरूपमा निर्देशन गरेका हुन्।

भद्रपुर नगरपालिका र धनकुटा नगरपालिकामा पनि मञ्चन गरिएको नाटक आइतबार इनरुवा नगरपालिकाका विभिन्न स्थानमा मञ्चन गरिने भएको छ। नाटक हेरेपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यो पहलको तारिफ गर्दै आगामी दिनमा पनि यस्तै नाटकहरु धेरै स्थानमा गर्न पहल गर्न सुझाव दिए। भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठले नागरिकताको सिफारिस गर्न अब स्थानीय जनप्रतिनिधि आइसकेकाले कसैमाथि गल्ती र अन्याय हुन नदिने बताए। त्यसै गरी जिल्ला समन्वय समिति झापाको उपप्रमुख मीना पराजुलीले एकल आमाबाट नागरिकता प्राप्त हुने अवस्था सहज बनाउनुपर्नेमा जोड दिइन्।
‘तिम्रो बाबाले तिम्लाई कति धेरै माया गर्नुहुन्छ। थाहा छ तिम्लाई उहाँ आउँदा खेलौना, राम्रा–राम्रा नाना, मिठाइ ओ हो के–के हो के–के ल्याइदिनुहुन्छु नाटकमा आमाले छोरालाई बाबा फर्केर आउने झुटो आश्वासन दिन्छिन्। तर, छोरा यो कुरा मान्न तयार छैन, भन्छ ‘तपाईं सधैं झुटो बोल्नुहुन्छ। हाम्रो बाबा फर्केर आउने भए तपाईं किन स्कुलको क्यानटिनमा जुठो भाँडा माज्न जानुहुन्छ त?’ आमा केही बोल्न सक्दिनन् किनभने उनको श्रीमान्ले उनलाई बिहे भएको केही दिनमा नै छोडेका थिए।

राजेशले आफ्नो कथा भनिरहेकै छ। ऊ बिस्तारै आफू ठूलो हुँदै गएको अनि आफ्नो बाबा कहिल्यै नआउने कुरा बुझ्दै गएको जानकारी गराउँछ। टोलका ठूलै मान्छेले पनि घरी–घरी त्यही बाउको कुरा झिकेर उसलाई घोचपेच गरिरहन्छन्। राजेश लामो सुस्केरा हालेर मौन हुन्छ। अचानक ऊ आफूले राम्रो अंक ल्याएर कक्षा उत्तीर्ण गर्दाको घटना याद गर्छ। अनि चिच्याउँदै यो खबर ममीलाई सुनाउन पुग्छ। यो खबरले आमा पनि निकै खुसी हुन्छिन्। ‘ममी, थाहा छ अब मैले स्कलरसिपमा पढ्न पाउँछु।

त्यसपछि त खर्च पनि लाग्दैन, उल्टै पैसा पाइन्छ। बरु ममी त्यसको फर्म भर्न नागरिकता चाहिन्छ अरे। मेरो नागरिकता निकालौं न है?’ –छोरो भन्छ। उनीहरुले सोचेजस्तो नागरिकता निकाल्न सजिलो हुँदैन। वडाका कर्मचारीले केटाको बाबु नभई सिफारिस गर्न मान्दैनन्। ‘१० महिनासम्म पेटमा राखेर जन्माउने म, दुःख–कष्टले हुर्काउने, बढाउने, पढाउने म हँुदाहुँदै कहिल्यै उसका लागि योगदान नदिने त्यो स्वार्थी बाबु किन चाहिने? संविधानमा आमाको नामबाट उसका सन्तानले नागरिकता पाउने भनी उल्लेख भएकै छ। फेरि पनि बाबु नै चाहिने? यो कस्तो पितृसत्तात्मक सोच हो?’ –आमाचाहिँ रोष प्रकट गर्छिन्।

जिल्लामा पनि त्यही भनिन्छ। बाबु परदेश छन् भने उसको घर–परिवारको अन्य सदस्य हजुरबुबा, काका, ठूलाबाजे कोहीलाई नाता प्रमाणीकरणका लागि ल्याउन सुझाइन्छ। त्यसपछि आमा छोराको नागरिकता बनाउनका लागि सासू–ससुरासमक्ष पुग्छिन्। उनीहरुले पनि वास्ता गर्दैनन्। जेठाजु–जेठानीले त उल्टै अंश चाहिएर आकी भनेर ठाडै अस्वीकार गर्छन्।

छिमेकका मान्छेहरु पनि कानुनी कुरा के हो कसो हो भोलि अप्ठइरो पर्छ कि भनी पन्छिन्छन्। सबैतिर हारगुहार गर्दा पनि छोराको नागरिकता बनाउन कसैले सहयोग नगरेकाले हार खाएर आमाले झुण्डिएर आत्महत्या गर्छिन्। अन्त्यमा छोरोले समाजसँग प्रश्न गर्छ– ‘के म यो देशको नागरिक होइन? के म तेसका लागि योग्य छैन? नेपाली बाउ नेपाली आमाबाट जन्मिएर पनि म यो देशको नागरिक बन्ने मेरो हक किन खोसियो?’

प्रतिक्रिया दिनुहोस्