एकीकृत नमुना बस्ती निर्माणमा आर्थिक अभाव



सञ्जय कार्की, रौतहट
भूकम्पपछि पीडितको घर बनाउँदै आएका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले १ महिनायता रौतहटमा एकीकृत नमुना बस्ती बनाउँदै आएका छन्। गत साउन २९ गते वर्षा र बाढीबाट रौतहटमा ठूलो जनधनको क्षति भएपछि राहत वितरण गर्न आएका हाँस्य कलाकारद्वय धुर्मुस र सुन्तलीले एकीकृत नमुना बस्ती बनाउने योजनासहित आश्विन ६ गतेदेखि चन्द्रपुर–८ सन्तपुरमा निर्माण कार्य थाल्दै आएका छन्। उनको यो चौथो परियोजना हो।

अनुमानित १३ कठ्ठा जमिनमा उनीहरूले ५० वटा घर बनाउने योजनासहित निर्माण थालेको १ महिनामा नै जमिन सम्याउने, पर्खाल लगाउने, र घरहरूको जग हाल्ने काम गरिसकेका छन्। बस्ती निर्माणमा जुटेका उनीहरूको कार्य शैलीसमेत फरक रहेको छ। मजदुरलाई काममा लगाउनुभन्दा पहिले राष्ट्रिय गानको धुनले सबैलाई अभिप्रेरित गर्ने र बानी व्यवहार र बोलिचालीको भाषामा समेत परिवर्तन गरिएको छ।

धुर्मुसको शैलीले सबैलाई राष्ट्रप्रतिको भावमा अभिप्रेरित गर्ने गरेको स्वयं मजदुरहरू बताउँछन्। ५ करोड ७५ लाखको अनुमानित बजेट लाग्ने उक्त बस्ती निर्माण गर्न उनीहरूलाई आर्थिक अभावसमेत हुन थालेको छ। स्थानीयसँगै बिहान ६ बजे निर्माणस्थलमा पुग्ने धुर्मुसले मजदुरसँगै निर्माण कार्यमा आफैं जुट्ने गरेका छन्।

माघ २४ गते उद्घाटन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका उनलाई यतिखेर ३ करोड रुपियाँ अपुग हुने स्थिति रहेको छ। एकीकृत नमुना बस्ती निर्माणमा उनको धुर्मुस सुन्तली फाउन्डेसन क्रियाशील रहेको छ। एकीकृत नमुना सन्तपुर बस्तीमा ५० वटा आवासीय घरसहित एउटा सामुदायिक भवन, सार्वजनिक धारा, शौचालय, मन्दिर, बस्ती अवलोकनका लागि भ्यु टावरसहितको पर्खालले घेरिएको यसक्षेत्रकै एउटा अर्थपूर्ण बस्ती बन्ने सीताराम कट्टेलले बताउनुभयो।

निर्माण हुने बस्तीका घर पूर्ण रूपमा भूकम्प प्रतिरोधी, बालमैत्री, अपांगमैत्री र वातावरणमैत्री हुने भएकाले पनि यसक्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्त्याएर यस क्षेत्रको जीवनस्तरमा परिवर्तन ल्याउन सकिने फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्