कुस्तीकै दाउमा यादव



वीरगन्ज, (नेस)
संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले कुस्तीमा विपक्षीलाई पराजित गरे जसरी चुनावमा पराजित गर्नुपर्नेमा जोड दिनुभएको छ।

वीरगन्ज–१६ इनरुवामा आयोजित विराट दंगल (कुस्ती) प्रतियोगिता उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा कुस्तीकै दाउ आवश्यक रहेको बताउनुभएको हो। ‘जसरी कुस्तीमा दाउ लगाएर प्रतिस्पर्धीलाई पराजित गरिन्छ, त्यस्तै दाउ प्रयोग गरी मधसविरोधी शक्तिहरूलाई पराजित गर्ने समय आएको छ’, –उहाँले भन्नुभयो। मधेसी जनताको सरकार प्रान्त र केन्द्रमा बनाउनुपर्ने जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो।

छठको थकाइ मेटाउन हरेक वर्ष दुई दिनसम्म आयोजना गरिने दंगल प्रतियोगितामा हजारौं दर्शक माझ उपेन्द्र यादव, वीरगन्जका मेयर विजय सरावगी, फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादव, प्रतियोगिता आयोजक समितिका अध्यक्ष प्रमोद यादवलगायतको उपस्थिति थियो। सबै जना मधेसको पहिचान रातो पगरी लगाएर मञ्चमा चढेका थिए।

शनिबारसम्म चल्ने दंगल प्रतियोगितामा दैनिक करिब सवा सय जोडी कुस्ती भइरहेको प्रतियोगिता सहजकर्ता मदन यादवले बताउनुभयो। शुक्रबार नेपाल भारतका नामुद पहलमानहरूको दंगल प्रदर्शन गरियो भने शनिबार नेपाल–भारतका महिला कुस्तीबाजहरूको लडाइ भएको थियो। दंगलमा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पन्जाब, हरियाणा, दिल्ली, मुम्बईलगायतका ठाउँबाट ख्यातीप्राप्त पहलमानहरू कुस्ती लड्न आएका छन्।

प्रतिक्रिया दिनुहोस्