समृद्ध रामेछाप बनाउने उम्मेदवारहरुको प्रतिबद्धता



आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राजनीतिक दलहरु चुनावी अभियामा होमिएका छन्। निर्वाचनको मिति नजिकदै जादा चुनाव प्रसार प्रसारको कामलाई राजनीतिक दलहरुले तीब्रता दिएका छन्। निर्वाचनमा राजनीतिक दलहरुले जनतालाई आकर्षण गर्ने गरी चुनावी एजेण्ड तयार गरिरहेका छन्।

रामेछाप जिल्लामा एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभामा राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराउदै चुनावी अभियानमा जुटेका छन्। रामेछापमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेसको बीचमा नै चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।

स्थानीय तहको मतलाई हेर्ने हो भने बाम गठबन्धन तीन हजार मतले अगाडि छ। रामेछापको प्रतिनिधिसभा निर्वाचनको लागि वाम गठबन्धनको तर्फबाट नेकपा माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले उम्मेदवारी दिनुभएको छ। श्रेष्ठले २०७० को संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बा निर्वाचित हुनुभएको थियो।

रामेछापको दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा जुटेका छन्। रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धबाट एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले उम्मेदवारी दिनुभएको छ भने कांग्रेसको तर्फबाट नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष रत्न कार्कीले उम्मेदवारी दिनुभएको छ। त्यसैगरी रामेछापको प्रदेश सभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट एमालेका नेता कैलाश ढुङगेलले उम्मेदवारी दिनुभएको छ भने कांग्रेसका नेता जितबहादुर थापामगरले उम्मेवारी दिनुभएको छ।

रामेछाप जिल्ला केही महिना मात्र पहाडी जिल्लाबाट हिमाली जिल्ला घोषणा भएको थियो। रामेछापको जिल्लाको विकास गर्ने योजना के छ ? भन्ने विषयमा रामेछापका प्रतिनिधिसभाका उम्मेदवारद्धय श्यामकुमार श्रेष्ठ, पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेशसभाका उम्मेदवारहरु शान्ति पौडेल, रत्न कार्की, कैलाश ढुङगेल र जितबहादुर थापामगरसँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

रामेछापलाई समृद्ध बनाउन भूमिका खेल्छु

श्याम कुमार श्रेष्ठ
प्रतिनिधिसभा उम्मेदवार,
नेकपा माओवादी केन्द्र
रामेछाप

रामेछाप जिल्लाको विकास निर्माणमा मैले यस अघि सांसद र राज्य मन्त्रीको रुपमा भूमिका खेल्दै आएको छु। प्रतिनिधिसभाको निर्वाचनमा विजयी भए राष्ट्रियस्तरका नीति निर्माण तय गर्ने कार्यमा भूमिका खेल्छु। बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएको छु। केन्द्रको भूकिकाको साथसाथै रामेछापको विकास निर्माण, उन्नती प्रगती जनताको सामाजिक न्याय, आर्थिक समृद्धिको बाटोमा आफूले निर्वाह गर्नुपर्ने भूमिकामा लाग्छु।

नेपालमा स्थायी शान्ति र दिगो विकासको लागि स्थायी सरकार आवश्यक छ। त्यसको लागि संवैधानिक रुपले देखा परेका समस्याहरुको समाधान गरेर शाकीय स्वरुपमा परिवर्तन गर्नुपर्छ। छोटो समयमा सरकार परिवर्तन हुने अहिले जुन सकस्या छ यसको दिर्घकालिन समाधान भनेको जनताद्धारा निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली नै हो। देशको समृद्धिको लागि जनताद्धारा निर्वाचित कार्यकारी प्रणालीलाई अलबम्बन गर्नुपर्छ।

स्थायी सरकार गठन नहुदासम्म दिगो विकासको बाटोमा मूलुकलाई लिएर जान सक्दैनौ। प्रदेश सभाको धेरै ऐन बनाउनु पर्ने छ। यसको लागि पनि भूमिका निर्वाह गर्नेछु। नेपालमा दैनिक रुपमा १५ सय युवाहरु विदेशिन बाँध्य छन्। नेपालमा रोजगारीको अवसर नहुँदा प्रचुर रुपमा प्राकृतिक स्रोत साधन भएर पनि सही ढंगले व्यवस्थापन हुन सकेको छैन्। अब संरचनागत रुपमा व्यवस्था गरेर रोजगारीको अवस्था सृजना गर्नुपर्छ। नेपालको दिगो विकास हासिल गर्नको लागि युवाहरुलाई स्वदेशमा नै रोजगारीको वातावरण सृजना गर्नुपर्छ। नेपालको सापेक्षतामा नेपालमा नै प्रविधिको विकास गर्नुपर्छ। यसो गर्न नसक्दा दक्ष जनशक्ति सबै विदेशिने खतरा छ।

जिल्लामा रणनीतिक खालका महत्वका योजनाहरु पहिचान गरिसकेका छौं। योजनाबद्ध रुपमा जिल्लाको विकास गर्ने योजना बनाएको छु। एक⁄दुई वटा स्काभेटर लगेर बाटो खनिदिने वित्तिकै जिल्लाको विकास हुन सक्दैन। जिल्लाको समग्र विकास मुख्य कुरा हो। जिल्लाको विकास गर्न हामी सबै मिलौ। हामी सबै जुटौ। हामी सबै लाग्यो भने मात्र जिल्लाको राखेको लक्ष्य हासिल गर्न सक्छ। मुख्य सडकको स्तरउन्नती कालोपत्रेलाई प्राथमिकता दिइएको छ।

उर्जाको क्षेत्रमा राष्ट्रिय गौरवका आयोजनाहरु रामेछाप जिल्लामा सञ्चालन हुँदैछन। ती आयोजनाहरुमा रामेछापवासीलाई अनिवार्य रुपमा शेयर हाल्ने व्यवस्था गछौं। हामीले रामेछापवासीको दैनिक जीवनस्तर कसरी सुधार गर्न सकिन्छ भनेर नै योजना बनाएका छौं। रामेछापका जनतासँग रहेको पुँजीलाई एकीकृत गरेर उर्जा क्षेत्रमा लगानी गरेर आर्थिक उन्नतीमा टेवा पुर्याउने लक्ष्य लिएका छौं। रामेछापलाई पर्यकीय क्षेत्र बनाए र पनि आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ। गुम्देलको लाछ्योर महालङगुलर हिमाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गछौं। लिखु करिडोर, तामाकोशी करिडोर सुनकोसी करिडोरलाई उर्जाको भण्डारको रुपमा लिएर अगाडि बढछौ। ती आयोजनालाई सम्पन्न गर्न र जनतासँग जोडेर लैजाने काम बाँकी छ। यो योजना अगाडि बढाउन सकेको खण्डमा आम रामेछापेली जनताहरुको जीवनस्तर उकास्न सकिन्छ भन्ने मेरो विश्वास छ।

रामेछापको हरेक ठाउँहरुमा स्वास्थ्य शिक्षा, रोजगारी, प्राविधिक शिक्षाको माध्यबाट समग्र क्षेत्रको विकास गर्ने योजना बनाइएको छ। उहाँ (कान्छाराम) गरिबको छोरा स्काभेटर लैजानुहुन्छ रे एम्बुलेन्स लैजानु हुन्छ रे। तर हामीले बाम गठबन्धनको तर्फबाट सिंगो रामेछापको आर्थिक समृद्धि र पूर्वाधार विकासलाई युद्धस्तरमा काम गर्ने लक्ष्य बनाएका छौं। रामेछापमा खानेपानीको ठूलो समस्या छ। लिफ्ट खानेपानीको योजना मार्फत जनताको समस्या समाधान गछौं।

म निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्छु। अरु उम्मेदवारहरुले पनि आचारसंहिता पालना गर्न आग्रह गर्दछु। २०७० सालको निर्वाचनमा पनि जिताउनु भयो। रामेछापको बामपन्थी धाराबाट राज्य मन्त्री बनाउनु भएको छ। अब फेरि पनि जिताउनु विश्वास छ।

 

जिल्लाको विकासमा लाग्छु

पूर्णबहादुर तामाङ (कान्छाराम)
प्रतिनिधिसभा उम्मेदवार,
नेपाली कांग्रेस
रामेछाप

पार्टीले विश्वास गरेर मलाई रामेछापको प्रतिनिधिसभाको टिकट दिएको छ। पार्टीमा लागेको लामो समयपछि टिकट पाएको छु। संविधान लेखनमा भूमिका खेल्ने म भन्दा बढी अनुभवी उम्मेदवारसँग म चुनावी प्रतिस्पर्धामा छु। मेरो एउटा मात्र मान्यता छ–जसरी हुन्छ रामेछाप जिल्ला समृद्ध बन्नु पर्छ। हरेक जनताले परिवर्तनको अनुभूति गर्न बनाउनु पर्छ।

यस पटक पार्टीले युवा पुस्तालाई टिकट दिएको छ। रामेछापको सामाजिक कार्यमा पनि भूमिका खेल्दै आएको छु। मैले बिरामी हुँदा सहज रुपमा अस्पतालसम्म बिरामीलाई पुर्याउन जिल्लाको विभिन्न स्थानमा एम्बुलेन्स दिएको छु। निर्वाचनमा मैले जिने पनि हारे पनि स्वच्छ तरिकाले निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मान्यता बोकेको छु। निर्वाचनमा झैझगडा गरेर जानु हुँदैन भन्ने मेर स्पष्ट मान्यता छ। निर्वाचनको अभियानको क्रममा मेरो कार्यकर्ता कुटन मेरो कार्यकर्ताले अरुको कार्यकर्ता कुटने कुरा नहोस भनेर पशुपतिनाथ र बुद्ध भगवानसँग प्राथना गर्दछु।

निर्वाचनमा झगडाको विउ रोप्नु हुन्न। पार्टीमा जनताले पत्याए भने मैले विजयी हुने हो। रामेछापमा बाम गठबन्धन र काग्रेसको बीचमा २९ हजार चानचुन भोटको फरक छ। स्थानीय तहको मत अनुसार बाम गठबन्धन २९ हजार मतले अगाडि छ। यो तथ्याङक अनुसार हामी त प्रचारमा नहिडे पनि हुने हो। डराएर हिडनु पर्ने हो। २९ हजार भोटमा जित्न त गाह्रो होला।

रामेछापका जनताले पत्याए भने मात्र मैले जित्ने सम्भावना होला। मैले जितेको खण्डमा रामेछापमा धेरै काम गर्नुपर्ने योजना बनाएको छु। रामेछापको मन्थली एरपोर्टको पिच पनि मेरो नेतृत्वमा भएको हो। निर्वाचनको क्रममा हार जित जे भएपनि सामाजिक कार्यमा एक भएर अगाडि बढने छु। मैले सामाजिक काम गर्दा पार्टीगत रुपमा कहिले पनि हर्ने गरेको छैन्। गत बर्षाको समयमा रामेछापको खिम्तीमा बाढी पहिरोमा परी घाइते भएकाहरुको उद्धार गर्न मैले नै हिलीकोप्टर पठाएको हुँ।

म रामेछाप जिल्लालाई बनाउन चाहन्छु। मैले जितको अवस्थामा राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेको छु। निर्वाचनको क्रममा कसैलाई पनि मुख नछाडौ। मेरो आग्रह छ,स्वच्छ तरिकाले इमान्दारीतापूर्व राजनीति गरौ। स्वच्छ राजनीतिक गरेर कसले जनताको मन जित्छ उसलै जित हासिल गर्ने हो। रामेछापमा कुनै झगडा नगरौ। चुनावमा गाह्रो पनि हुदो रहेछ। तै पनि एउटा कुल्लीको नाइकेको हिसाबले कहाँ लाने कहाँ खाने के गर्ने ? भन्ने अनुभवको हिसाबले निर्वाचनमा लागेको छु।

 

तीन चरणमा रामेछापको विकास गछौं

कैलाश ढुङगेल
उम्मेदवार प्रदेशसभा २ ख,
नेकपा एमाले, रामेछाप

प्रदेशसभामा बनाउनु पर्ने कानुन बनाउनु पर्ने आवश्यकता छ। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार केन्द्रीय सरकारको पाइपलाइनलाई मिलाउने काममा भूमिका खेल्छु। राजनीतिक दलहरुले आस्था र विश्वास जहाँ राखेपनि रामेछापको भूगोल साझा छ। रामेछापसँग के छ। हामीले त्यसको पहिचान गरेका छौं।

रामेछापसँग जमिन, जङगल र पानी छ। यसलाई आधार बनाएर पानी वन र जमिनमा आधारित भएर व्यवसायीक उत्पादन गर्दै औद्योगिकरणतिर लैजानु पर्छ। शिक्षालाई प्रभावकारी बनाउन व्यवसायीक शिक्षामा जोड दिनुपर्छ। अब गाउँपालिकाभित्र आधारभूत जनतासँग सरोकार राख्ने शिक्षा प्रणालीमा जैलाने सोच बनाएका छौं। हामीसँग रहेको जलविद्युतको भण्डारलाई प्रभावकारी रुपमा उपयोग गर्ने नीति बनाएका छौं। खिम्ती, लिखु सुनकोसी लगायतका खोला तथा नदीहरुबाट उत्पादन हुने आयोजनालाई सकेसम्म नागरिकहलाई नागरिकको लगानीमा उत्पादन गर्न सकियो भने हाम्रो हो भन्ने देखाउनु पर्छ।

सडकको गुरु योजना यस अघि नै निर्माण भइसकेको छ। रामेछापको सबै सडक १२ महिना सञ्चालनमा ल्याछौ। जसको कारणले उत्पादनलाई बजारसम्म लैजान सहज हुन्छ। व्यवासयिक पशुपालन र व्यवसायीक कृषि प्रणालीलाई अगाडि बढाउनु पर्छ। अस्थिर खालको जनप्रतिनिधि भएको कारणले गर्दा विकासको गति लिन नसकेको हो। अहिलेसम्म पाँच बर्ष एउटा सरकार चलेको अवस्था छैन्। स्थानीय सरकार भइसक्यो। प्रदेश र केन्द्रीय सरकार बहुमत नभए फेरि यो अलपत्र पर्छ। दिगो सरकार चाहिएको छ। अल्पकालिन मध्यकालिन र दिर्घकालिन योजना बनाए रामेछाप समृद्ध बनाउने सोच बनाएका छौं। रामोपलाई हरियाली र समृद्ध रामेछाप बनाउने हाम्रो प्रतिबद्धता छ।

 

भ्रष्टचारलाई शुन्यमा झार्न भूमिका खेल्छु

जित बहादुर थापामगर
रामेछाप प्रदेश सभा २ ख,
नेपाली कांग्रेस, रामेछाप

संविधान संशोधन मार्फत कार्यकारी राष्ट्रपतिय प्रणालीमा जान सकिन्छ कि भन्ने बाम गठबन्धनले राजनीतिक तरङ्ग ल्याउने काम गरेको छ। कुरा अहिले समृद्धिको छ। रामेछापलाई समृद्धि बनाउनको लागि सबै राजनीतिक दलका नेता कार्यकर्ता मिल्नु पर्ने जरुरी छ। रामेछापको विकास निर्माणमा आउने बजेट सही तरिकाले सदुपयोग गर्न भूमिका खेल्नु पर्छ। भ्रष्टचार हुन नदिन सचेत बन्नु पर्छ।

यदी म निर्वाचित भएको अवस्थामा पहिलो प्राथमिकता भ्रष्टचारलाई शुन्यतामा झार्नेछु। दोस्रो अहिले गाउँ अहिले रित्तो भएको छ। सबै मानिसहरु शहर केन्द्रीत हुने थालेका छन्। गाउँ निर्माण गर्ने युवा जनशक्ति विदेशिएको छ। जिल्लाको विकास गर्न सकेको अवस्थामा शहर रोज्नेहरु विस्तारै आफ्नो गाउँ फकिन्छन्। जिल्लामा पिच सडक, खानेपानी, विद्युत, स्वास्थ्य शिक्षा, प्रहरी चौकी लगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ। रामेछापलाई समृद्ध बनाउनको लागि गाउँबस्तीको पुनः मुल्याङकन गर्नुपर्छ। रामेछापमा बैक स्थापना गर्नुपर्छ।

कृषि क्षेत्रको सुधार गर्न सकेको अवस्थामा रामेछापको विकास गर्न सकिन्छ। निर्वाचनको क्रममा गरिने प्रतिबद्धता अनुसार नै निर्वाचित भएपछि काम पनि गरेर देखाउनु पर्छ। हचुवाको शैलीमा निर्माण भएका सडकलाई स्तरउन्नती गर्नुपर्छ। रामेछापभित्रको सबै सडकलाई व्यवस्थित गर्नुपर्छ। जिल्लाको विकास गर्न पहिलो कुरा इच्छा शक्ति चाहिन्छ। यदी दृढ इच्छा शक्ति राख्ने हो भने कसैले पनि विकास निर्माणको कामलाई रोक्न सक्दैनन्। रामेछापलाई जोडेर रेल वे निर्माण गर्नुपर्छ। भष्टचारलाई शुन्यतामा नझारेसम्म जति बजेट हालेपनि जिल्लाको विकास हुँदैन। मैले निर्वाचन जितेको अवस्थामा पाँच बर्ष रामेछापलाई झिलिमिली बनाउन लाग्ने छु।

 

जनतालाई परिवर्तनको महशुस गराउछु

शान्ति पौडेल
प्रदेश सभाका उम्मेदवार १ क, नेकपा एमाले रामेछाप

प्रदेश सभाको उम्मेदवार भएको अवस्थामा थुप्रै खालका कानुनहरु प्रदेशबाट निर्माण गर्नु पर्नेछ त्यसमा भूमिका खेल्छु। जुन कानुनले तल्लो तहमा राज्यको तर्फबाट प्रवाह हुने सेवाहरुलाई नजिक पुर्याउने छ।

रामेछाप जिल्लालाई समृद्ध बनाउन लागि के–के बनाउनु पर्छ ?भन्ने विषय धेरै चासोको विषय छ। जिल्ला समरमुकामदेखि गाउँपालिकाका केन्द्रहरुसम्म यो पाँच बर्षभित्र सडक पिच गर्नको लागि पहल गर्नेछौ। यो काम पूरा गर्न सकिन्छ। वडाको केन्द्रदेखि गाउँपालिकाको केन्द्रसम्म १२ महिना नै यातायात सञ्चालन गर्ने गरी स्तरउन्नती गर्नेछौ। लिखु करिडोरको सडकलाई अगामी पाँच बर्षभित्रमा सम्पन्न गर्न भूमिका खेल्नेछु। ३४ वटा सडकले सबै रामेछापलाई जोडने छ। यो गुरु योजना कार्यान्वयन गर्न लाग्नेछु। स्वास्थ्यको क्षेत्रमा सरकारले घोषणा गरेको १५ शैष्याको अस्पताललाई गाउँपालिका र नगरपालिकामा केन्द्रमा स्थापना गर्नेछ। वस्ती विकास गर्ने योजनालाई व्यवस्थित गर्दै बसाई सराईको समस्या समधान गर्न शहरीकरणलाई ध्यान दिनेछु। भुकम्प पीडित जसलाई घर बनाउन जमिनको अभाव छ उहाँहरुलाई सुरक्षित बस्तीमा सार्नेछौ। सामुदायिक विद्यालयहरु भौतिकपूर्वाधार सुधार गर्दै प्राविधि शिक्षा प्रदान गर्न भूमिका खेल्छु। रामेछाप सुख्खाग्रस्त जिल्ला हो। लिफ्ट प्रणालीबाट खानेपानी पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछु।

३५ वटा साबिकको गाविसमा एक बर्षभित्रमा विद्युतीकरण हुने विश्वास पनि दिलाउछु ।कृषिको धेरै जमिन बाझो हुँदै गएको छ। प्रदेश सभाले स्थानीय र केन्द्रीय तहलाई जोडने काममा भूमिका खेल्नेछु।

 

शिक्षामा रहेको विभेद हटाउछु

रत्न कार्की
प्रदेश सभाका उम्मेदवार १ क,
नेपाली कांग्रेस, रामेछाप

मेरो पहिलो प्राथमिकता लोकतान्त्रिको संस्थागत विकास गर्नु नै हुनेछ। प्रदेशसभाको निर्वाचनमा म निर्वाचित भएको अवस्थामा जिल्लाको विकास भूमिका खेल्नेछु। प्रदेश सभाले कानुन बनाएर देशको विकासमा लाग्ने छु। सामाजिक एजेण्डा र विकास निर्माणको लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ। कानुनी राज्य महत्वपूर्ण हुन्छ।

निर्वाचनको क्रममा आकाशको तार नै झार्छु भनेर म भन्न चाहन्न। पूरा गर्न नसकिने बाचा गरेर म जनतालाई झुक्याउन चाहन्न। स्वभाविक रुपमा हाम्रो समाजमा समस्या छन्। सडक विद्युत, खानेपानी, स्वास्थ्य शिक्षा लगायतको क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ। शिक्षमा ठूलो विभेद छ।

गाउँमा पढने र शहरमा पढने विद्यार्थीमा पाठ्यक्रम, शिक्षक, भौतिक सुविधाको विभेद छ। विभदेकारी शिक्षा प्रणालीको अन्त्य गर्न भूमिका खेल्छु। एउटै प्राणालीको शिक्षा नेपालमा आवश्यक छ। रामेछापका जनताको स्वास्थ्यमा राम्रो पहुँच छैन्। रामेछापमा अस्पताल निर्माणमा म निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउने छु।

रामेछाप नदी नै नदीले घेरिएको छ। रामेछापको विकासको आधार उर्जा हो। सबै नदी नाला र खोलाबाट अत्याधिक मात्रामा विद्युत उत्पादन गर्न चाहन्छौ। यो योजना अगाडि बढाउन सकेको अवस्थामा रामेछापको मुहार फर्ने सकिन्छ। बहुमुल्य जडिबुटी त्यसै खेर गइरहेको छ। यसको यथोचित पहिचान गरेर विकास गर्न चाहन्छौ। उद्योग कलकारखाना सञ्चालन गर्न लाग्छौं। सडकलाई व्यवस्थित गर्दै खानेपानीको समस्या समाधान गर्न लिफ्ट सिस्टम बाट भएपनि स्वच्छ खानेपानी पुर्याउछौ। परम्रागत कृषि प्रणालीले श्रम खेर गइरहेको छ। अब व्यवसायीक कृषि प्रणालीलाई अगाडि बढाउने योजना बनाएको छु। युवाहरुको सकारात्मक सोचको साथ अगाडि बढाउन सक्ने हो रोमछापको परिवर्तन सम्भव छ। म अझै पनि लामो समय रानजीति गर्ने अठोट छ। लोभ र स्वार्थ विशेषमा भ्रम छर्न चाहन्न। जे गर्न सक्छु त्यो गर्ने हो। समाजमा रहेको सामाजिक विभेद अन्त्य गर्न लाग्नेछु।

 

प्रतिक्रिया दिनुहोस्