म्याग्दीमा साढे ६ सय छानिए



प्रताप बानियाँ, म्याग्दी
आउँदो मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्याग्दी जिल्लामा झण्डै साढे ६ सयजना म्यादी प्रहरी छनोट भएका छन्। आसन्न निर्वाचनलाई लक्षित गरी सरकारले म्यादी प्रहरीको माग गरेपछि म्याग्दीमा ६ सय ३९ जनालाई छनोट गरिएको छ।
म्यादी प्रहरी हुनलाई कुल १ हजार ३३ जनाले आवेदन दिएका थिए। तीमध्ये म्याग्दी जिल्लालाई आवश्यक ६ सय ३९, मुस्ताङका लागि ४९ र वैकल्पिकमा १०३ जनाको छनोट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। म्याग्दीलाई ४ सय ९५ पुरुष, १ सय ४४ महिला र मुस्ताङलाई ३३ पुरुष तथा १६ महिला रहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो।

छनोट भएका म्यादी प्रहरीहरूलाई प्रहरी केन्द्रको आदेशअनुसार नियुक्ति दिएर तालिम सञ्चालन गरिने म्याग्दीका प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो। म्यादी प्रहरीको स्वास्थ्य परीक्षण, शारीरिक अभ्यास, लिखित परीक्षा र अन्तर्वार्ता लिएर छनोट गरिएको बताइएको छ।

म्यादीमा भर्ना हुन युवादेखि अधबैंसे उमेरसम्मका पुरुष तथा महिलाले आवेदन दिएका थिए। सरकारले प्रदेश र केन्द्रीय संघको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना आवेदन माग गरेपछि प्रहरी कार्यालयमा भीड लागेको थियो। आवेदन दिएकामध्ये अधिकांश अवकाशप्राप्त भूतपूर्व सैनिक, पूर्व म्यादी प्रहरी, युवायुवतीलगायत रहेको प्रहरीको भनाइ छ। म्यादी प्रहरी भर्नामा प्लस टु उत्तीर्ण, विदेशबाट फर्किएका युवा र अन्य क्षेत्रमा संलग्नलगायत समेत रहेका छन्।

२०२० साल ६ महिना २० गतेदेखि २०५६ साल ६ महिना ३० गतेसम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका व्यक्तिलाई म्यादी प्रहरी भर्नाका लागि उमेर हदबन्दी तोकिएको थियो। म्यादी प्रहरीमा युवाहरूको उत्साहजनक सहभागिता रहेको छ भने महिलाको समेत आकर्षण बढेको प्रनाउ खड्काको भनाइ छ। उहाँका अनुसार म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले पाएसरहको सेवासुविधा पाउने र ५५ दिनको सेवा अवधि रहेको छ।

स्वदेशमा रोजगारको अवसर कम भएका कारणले गर्दा पनि तोकिएको संख्याभन्दा धेरै आवेदन परेको थियो। गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराउन सरकारले ७५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो। म्याग्दीमा गत स्थानीय तहको निर्वाचनमा ४१८ जना म्यादी प्रहरीहरूलाई छनोट गरिएको थियो। यसपालि भने देशभर ९८ हजार म्यादी प्रहरीको दरखास्त माग गरिएको हुँदा म्याग्दीमा पनि त्यो संख्या बढेको हो।

प्रतिक्रिया दिनुहोस्