सुर्खेतका द्वन्द्वपीडितको गुनासो ‘पीडामा नुनचुक छर्ने काम भयो’



शेरबहादुर थापा, सुर्खेत
वीरेन्द्रनगरकी शान्ति ढकाल न्याय खोज्दै विभिन्न निकायमा धाउन थालेको २० वर्ष भयो। उनले आजसम्म न्याय पाएकी छैनन्। ‘पीडामा मलमभन्दा पनि नुनचुक छर्किएको अनुभूति भइराखेको छ’, उनले भनिन्– ‘न्यायको साटो पीडामाथि थप पीडा पाउँदाको अवस्था कस्तो हुन्छ आफैं अनुभूति गर्नुहोस्।’ सशस्त्र द्वन्द्वका क्रममा ढकालका श्रीमान् बिते। श्रीमान् मारिनुको कारण खोज्दै उनी विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा धाइन्। शान्ति प्रक्रियापछि बनेका विभिन्न सरकारी आयोगमा धाउनै थालेको पनि १० वर्ष पुगिसक्यो। ‘आयोगमा न्यायका लागि निवेदन नदिएको भए घटना सायद भूलिसकिन्थ्यो होला’, सत्य निरूपण तथा मेलमिलाप आयोगमा न्याय खोज्दै निवेदन दिएकी उनले भनिन्– ‘न्याय पाउनु कहाँ–कहाँ उल्टै पीडा बल्झाउने काम मात्रै भयो।’

वीरेन्द्रनगरकी हरिमाया भट्टराईले बेपत्ता श्रीमान् फर्केर आउने आशामा १४ वर्ष बिताइन्। ‘आजसम्म श्रीमान् ज्यूँदै हुनुहुन्छ या मारिसक्नुभयो पत्तो छैन’ भट्टराईले भनिन्– ‘न सास न लासको अवस्थामा हामी छौं।’ श्रीमानको सास र लासको अवस्था पत्ता नलाग्दा उनले राहत पनि पाउन सकेकी छैनन्।

नागरिक आवाजले वीरेन्द्रनगरमा आयोजना गरेको ‘सत्य र न्यायको खोजीमा हाम्रो हातेमालो’ विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित सुर्खेतका द्वन्द्वपीडितले न्याय पाउन नसकेको गुनासो पोखे। शान्ति प्रक्रियाको १० वर्षको अवधिमा जति नै राजनीति परिवर्तन भए पनि आफूहरूले कुनै न्यायको अनुभूति गर्न नसकिएको उनीहरूको भनाइ थियो।

द्वन्द्वपीडित रामकुमारी थापाले सत्यनिरूपण तथा मेलमिलाप आयोगले सत्य खोज्ला भन्ने आशा पनि मरिसकेको बताइन्। ‘कार्यदल गठन भए पनि काम भएको छैन, अहिलेसम्म कुनै बैठक बस्न सकेको छैन’, उनले भनिन्– ‘द्वन्द्वपीडितको पहिचान नै पाउन सकेका छैनौ, आयोगको निर्देशिकामा सुरक्षाकर्मीलाई द्वन्द्वपीडितको परिभाषामा राखेको छैन।’

स्थानीय शान्ति समितिकी सचिव सीता आचार्यले पीडितहरूलाई एकमुष्ट रूपमा राहत उपलब्ध गराउन नसकिएको बताइन्। वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले दुवै पक्षका पीडकहरू उन्मुक्ति रहेको भन्दै पीडितले न्याय पाउन नसकेको उल्लेख गरे। उनले दोषीलाई कारबाही र पीडितलाई उचित राहतको लागि लाग्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघका शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पहुँचवालाले मात्र राहत पाउने गरेको भन्दै यसलाई राजनीतिक एजेन्डा बनाइएको औल्याए। नागरिक आवाजका हरि धामीले नेपालमा संक्रमणकालीन न्यायको अवस्था लम्विएकाले चुनौती थपिएको बताउँछन्। उनी भन्छन्– ‘न्याय पाउनेमा केही आशा पनि छ र निराशा पनि उत्तिकै छाएको अवस्था छ।’

सत्य निरूपण तथा मेलमिलाप आयोगका सहन्यायाधीवक्ता सुरेन्द्रजंग शाहीले आयोग निर्माणलगायतका उपलब्धि भए तापनि पीडितले उचित न्याय पाउन नसकेको स्वीकार गरे। आयोगमा प्रदेश नम्बर ६ बाट १ हजार उजुरी आएको बताए। तिनको छानबिनका लागि आयोगमा कर्मचारी अपुग हुँदा समस्या भएको सुनाए। अहिले घटनाहरूको प्रारम्भिक छानबिनमै रहेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्