सोमबारदेखि मौसम सुधार हुने



नेपाल समाचारपत्र
काठमाडौं
उच्च वायुमण्डलमा न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली)को विकास भएपछि मुलुकको मध्य, पूर्वी र पश्चिम पहाडी भेगका अधिकांश क्षेत्रको मौसम बदलिएको छ। केही ठाउँमा वर्षासमेत भएपछि चिसो पनि बढेको छ।

पूर्वी भेगमा विकास भएको न्यून चापीय रेखाको प्रभाव पूर्वी र मध्य क्षेत्रसम्म फैलिएको छ भने पश्चिमी भेगमा विकास भएको अर्को प्रणाली केही कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी भेगको प्रणाली केही बलियो भएपछि मौसम धुमिएर शनिबार बिहानदेखि नै वर्षा गराउने गतिविधि बढेको महाशाखाका अधिकारीहरूले बताए।

आज आइतबार दिनभर पहाडी क्षेत्रका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने र मौसम धुमिने क्रम जारी रहने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो। ‘तर धेरै दिन होइन, ठूलो वर्षाको सम्भावना पनि छैन’, उहाँले भन्नुभयो– ‘सोमबारदेखि पूर्वबाहेक धेरै ठाउँको मौसम सफा हुँदै जानेछ।’ पूर्वी भागको मौसम भने मंगलबारपछि मात्रै खुल्ने श्रेष्ठले बताउनुभयो।

शनिबार काठमाडौंसहित, ओखलढुंगा, ताप्लेजुङलगायतका क्षेत्रमा हल्का वर्षा भएको थियो।

प्रतिक्रिया दिनुहोस्