त्रिशूलीमा दर्दनाक बस दुर्घटना



सीताराम अधिकारी, धादिङ
गाडी चालकले यात्रुले भनेको मानेका थिएनन्। उनलाई धेरै पटक गाडी विस्तारै चलाउन भन्यौं तर मानेनन्। चालकको सन्की चरित्र देखिएको थियो। यात्रुहरू आफ्नो सिटमा बस्न सक्ने अवस्था नै थिएन। गति तीव्र थियो। हामी यता र उता ठोक्किरहेका थियौं। गाडीका सहचालकले भन्दा पनि चालकले मानेका थिएनन्। हेटौंडामा आएपछि अर्को गाडीका यात्रुसमेत राखेर ल्याइयो। यात्रुको संख्या त यकिन छैन। तर ५५ जनाभन्दा बढी नै थिए गाडीमा।’ –घाइते मनोजकुमार ठाकुरको भन्दै थिए।

‘बसमा छठ सकेर कामका लागि काठमाडौं फर्केकाहरू धेरै थिए। यसमा पनि एकै परिवारका ३⁄४ जना थिए। मेरी श्रीमती ममता देवीको मृत्यु भयो। छोरो मनीष ठाकुरको शव भेटिएको छैन। मेरो त परिवार नै सखाप भयो। अब म के गरूँ?’ –दुर्घटनामा घाइते भएर गाडीबाट फुत्किएका अनि पानीमा पौडी खेलेर बाहिर निस्केका भारत मधुवनीका मनोजकुमार ठाकुरले बताए।

धादिङको गजुरी गाउँपालिका–५, घाटबेंसीको बाङ्गेबाट शनिबार बिहान त्रिशूली नदीमा यात्रु बस खस्दा ३१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। मृतकमध्ये २९ जनाको सनाखत भएको छ अन्य २ जनाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी तिलाठीकोइलाडी गाउँपालिका–६ की सिम्सीकुमारी झा, सोही गाउँपालिका–३ का सञ्जितकुमार झा, वडा नम्बर १ का मञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का आदित्य यादव, वडा नम्बर ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेया निवासी रामचन्द्र यादव, पार्वती चौधरी र ३ वर्षका सुशन चौधरी, गाडीका सहचालक सप्तरी देउरीमरुवा निवासी नरेश मुखिया, राजविराज नगरपालिका–१६ का चन्द्रावती झा रहेका छन्।

यसै गरी सिरहा गोलबजार–८ का राजकमपुर यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो।

यसै गरी सप्तरी कृष्णबसरन गाउँपालिका–४ का सिधरा यादव, सोही स्थानका ५ वर्षीया बालिका सदीक्षा यादव, सप्तरी बसेज निवासी सुरेन्द्र चौधरी, बोदेबर्साइन गाउँपालिका–२ की अस्कीकुमार यादव, राजविराज नपा–१३ का ऋषि आनन्ददिप, सिरहा नपाका उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का आदित्य झाको सनाखत भएको छ।

सप्तरी बोदेबर्साइन गाउँपालिका–७ का चतुरनारायण प्रणामीको परिवारका ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उनका छोरीहरू चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखा रहेका छन्।

यसै गरी मृत्यु हुनेमा महदेवा गाउँपालिका–९ सप्तरीका प्रमोद इसार, लहान नगरपालिका–१ सिरहाका प्रभा चौधरी, बोपाबसाइँ–२ सप्तरीका समीक्षाकुमारी यादव, समुनाथ नगरपालिका–२ सप्तरीका सन्दीप चौधरी, बसेज नगरपालिका–३ सप्तरीका सुरेन्द्र चौधरी, बोदेबरसइन–२ सप्तरीका माण्डी यादव, भारत विहारका मनिष ठाकुर, बोदीबरसानी–२ सप्तरीका आशिकीकुमारी यादव र बोदेबरसानी–२ सप्तरीका पशुपति चौधरी रहेका छन्।

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना६ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएपछि १५ जनाको उद्धार गरिएको थियो। घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्यको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाडी नदीमा हराएकाले गोताखोरको रूपमा रहेका सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका वरिष्ठ हवलदार वीरेन्द्र कार्की, हवलदार नरेन्द्र सिंह र प्रहरी जवान दिल्ली भट्टराईले पानीभित्र भएको गाडीबाट शव निकालेका थिए। २१ जनाको शव निकालेपछि गोताखोरकै टोलीले बसलाई टुचिनको सहायताले बाहिर निकालिएको थियो। शनिबार बेलुकासम्म गाडीलाई टुचिनको सहायताले आधा मात्र पानीबाट निकालिएको छ।

शनिबार रातिसम्म सुरक्षा निकायका जनपथ प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, राजमार्ग उद्धारकर्ता र रेडक्रस परिचालन गरेर गोताखोरको सहयोगमा उद्धार कार्य जारी रहेको छ। यस किसिमका दुर्घटना कमी गराउन छिट्टै पहल गरिने प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताउनुभयो।

राष्ट्रपति तथा प्रधानमन्त्रीको समवेदना
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङ बस दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँहरूले सप्तरीबाट काठमाडौंतर्फ आइरहेको ना६ख १४६७ नंको बस धादिङको गजुरी नजिक बाद्रेमोडमा दुर्घटना हुँदा ३० जनाले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताउनुभएको छ। उहाँहरूले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिनुभएको छ।

छानविन समिति गठन
धादिङको गजुरीमा भएको बस दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ। गृहमन्त्रालयले सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसएसपी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्