‘निजि औषधि पसलेहरुले बिरामीलाई बिष खुवाउछन्’



बिष्णुप्रसाद भण्डारी, अछाम ।

निजि औषधि पसलेहरुले बिरामीलाई बिष खुवाईरहेको आरोप एक कार्यक्रमका सहभागीले लगाएका छन् । आज अछाम सदरमुकाम मंगलसेनमा सम्पन्न मानव अधिकार तथा स्वास्थ्य अधिकार बिषय अभिमुखिकरण कार्यक्रमका सहभागी सरोकारवालाहरुले यस्तो आरोप लगाएका हुन् । निजि क्लिनक तथा औषधि पसलेहरुले औषधि बेच्ने नाममा मानिसलाई बिष खुवाने गरेकाले यसको अन्त्यका लागि सबै सरोकारवाला जुट्नु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ अछामका अध्यक्षा खड्गबहादुर खड्काले नागरिकको विश्वास जित्ने नाममा औषधि पसलेहरुले मानव स्वास्थ्यलाई असर गर्ने औषधि चलाउने गरेको आरोप लगाउनुभयो । नागरिकले सरसकारी स्वास्थ्य संस्थालाई भन्दा निजि औषधि पसललाई बढी विश्वास गर्ने गरेको बताउँदै उहाँले यसबाट नागरिक थाहै नपाई लुटिने गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा श्रोत केन्द्र काठ्माण्डौका सूचना अधिकारी पूर्ण दुवालले स्वास्थ्यमा निजि औषधि पसलहरुको सिण्डिकेट अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । निजि औषधि पसलहरुबाट नागरिक लुटिने गरेको माध नभै यसबाट मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको उहाँको भनाई छ । निजि औषधि पसलहरुको व्यवहार हेर्दा निजि औषधि पसलहरु सेवा दिन नभै व्यपार गर्न मात्र स्थापना गरिएको जस्तो पाईएको उहाँले बताउनुभयो । निजि क्लिनिकहरुले मानिसलाई बिष खुवाने गरेको उहाँको आरोप छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालका ७ नं. प्रदेश संयोजक कृष्ण देउवाले सुदूरपश्चिममा अहिले पनि कैयौँ नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेको बताउनुभयो । सबै मिलेर नगरिकको स्वस्थ्यमा सहज पहुँच पु¥याउन जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगानाले बिगतमा भन्दा अहिले नागरिकको स्वास्थ्यमा पहुँच बढेको दावी गर्नुभयो ।

स्वास्थ्य संस्थामा नागरिकको दिनहुँ भिभाड हुने गरेको र सोही अनुरुप सेवा प्रवाह भैरहेको उहाँको भनाई छ । कार्यक्रममा सहभागी जिल्ला स्थित पत्रकारहरुले स्वास्थ्यमा अझै पनि नागरिकको सहज पहुँच पुग्न नसकेको गुनासो गरेका थिए । यसका लागि सबै सरोकार वाला गम्भिर हुनु पर्नेमा उहाँहरुको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्