वि. डा. ईश्वरीप्रसाद गैरे  सं. १९७६ असोज ७ गते गौरी शङ्कर उपाध्याय र द्रौपदीदेवीको पहिलो पुत्रका रूपमा गण्डकी अञ्चल, लमजुङ जिल्लाको पुस्तुन गाउँमा माधव घिमिरेको जन्म भएको हो। ग्रामीण जनजीवनको छाप, प्रकृतिको सुन्दर चित्रण एवं लोकगीत र लोकगाथा गायनले यिनलाई प्रभावित तुल्याएको पाइन्छ। त्यस्तै, घरभन्दा टाढा जगरा भन्ने ठाउँको गोठमा पितासँग बस्ने क्रममा पिताबाट श्लोक हाल्ने र बालुन एवं लोकगीत सुन्ने परिवेशले समेत यिनलाई उत्प्रेरित तुल्याएको पाइन्छ।

वि.सं. १९८१ मा ६ वर्षको उमेरदेखि घरमै शिक्षा आरम्भ गरी माधव घिमिरेले सप्तशती चण्डी कण्ठस्थ गर्न पुगेका थिए। यसपछि गणित र फलित ज्योतिष पढ्दै गरेका उनले खुदीवेनीको संस्कृत पाठशालामा बद्रीनाथ सुवेदीबाट आफ्नो पढाइ अगाडि बढाएको देखिन्छ। यस्तै, १९९३ सालमा रानीपोखरी संस्कृत पाठशाला काठमाडौंबाट प्रथमा परीक्षा प्रथम श्रेणीमा र बनारसको क्विन्स कलेजबाट १९९७ मा मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्दै यसै कलेजबाट २००१ सालमा सर्वदर्शन विषयमा शास्त्री परीक्षा उत्तीर्ण गरेको देखिन्छ। यति बेलै यिनले गुरुका रूपमा व्याकरण र साहित्यका मर्मज्ञ सोमनाथ सिग्द्यालको सान्निध्यसमेत पाएको देखिन्छ। उत्कृष्ट साहित्यिक प्रतिभा हुनुमा यिनलाई स्वाध्ययनले नै बलियो तुल्याएको तथ्य आँकलन गर्न सकिन्छ। घिमिरेले प्रथमतः १९९० सालमा गौरी पोखरेलसँग र २००५ सालमा महाकाली अधिकारीसँग गरी दुई विवाह गरेको देख्न पाइन्छ। गौरीबाट ज्योति र कान्ति गरी दुईवटी छोरी तथा महाकालीबाट चार छोरीहरू मञ्जु, उषा, किरण र ज्योति अनि दुई छोराहरू इन्दीवर र राजीव गरी आठवटा सन्तानका पिता भएको देख्न पाइन्छ।

साहित्यिक लेखनगत प्रेरणा र प्रभावका रूपमा माधव घिमिरे प्रारम्भमा लेखनाथ पौड्याल, तीर्थराज पाण्डेका कविताबाट प्रभावित भई लेखनाथबाट कविता लेख्न र तीर्थराजबाट ठेट नेपालीपन प्रयोग गर्ने कुरामा प्रभावित भएको बताउँछन्। बाल्यकालमा यिनी ‘सुनका घोडाको पुच्छर काट्ने बोक्सीको क्रियाकलाप, मधुमालतीको प्रेम, सुन केशरी मैयाका सुनौला कपाल कथाहरूलाई विशेष चाख र चेवा दिने गरेका पाइन्छन् भने पुस्तुनका छहराहरूको गर्जन, सुन्दर हिमाली दृश्यबाट समेत औधि आकर्षित एवं प्रेरित रहेका पाइन्छन्।

साहित्यिक यात्राका क्रममा घिमिरे भारतका महात्मा गान्धीबाट वैचारिकरूपमा अहिंसावादी मानवतावादी विचारबाट प्रेरित भएका पाइन्छन् भने संस्कृतका कालिदास, बङ्गालीका विशिष्ट कवि रवीन्द्रनाथ ठाकुरलाई आदर्शका रूपमा लिने गरेको पाइन्छ।

साहित्यिकरूपमा माधव घिमिरेले प्रकृति, दर्शन, विज्ञान, लोकजीवन आदि सहायकका रूपमा आई जीवनसँग अटुट सम्बन्ध भएको साहित्य नै असल साहित्य हो भन्दछन् भने कविता कृतिलाई परिष्कार गर्ने सन्दर्भमा उनी भन्दछन्– ‘म त्यति बेलासम्म संशोधन गर्छु जति बेलासम्म मैले भन्न खोजेको भित्री भावना, यसमा पार्न सक्दिन।’ कवितात्मक शैलीशिल्पको प्रयोगमा लेखनाथ पौड्याल र स्वच्छन्दतावादी भावप्रवाहका लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित घिमिरे भावप्रवाह र शैलीशिल्पका हालसम्मका लेखनाथको अत्युन्नत कालीगढी र देवकोटाको भाव तुमुल सामुद्रिक सृजन प्रवाह यी दुवै तथ्यलाई सुन्दररूपमा संयोजन गर्दै अत्युन्नत सृजन कलाका अत्युन्नत कवि कालीगढी प्रयोक्ताका कवि तथा खण्डकाव्यकार गीति नाटक गीतिकार बन्न पुगेको देखिन्छ। माधवप्रसाद घिमिरे साहित्यकारका   रूपमा कवि, खण्डकाव्यकार, गीतकार, गीति नाटककार, बालकवि, निबन्धकार र कथाकार एवं समालोचक र अनुवादकका रूपमा सुविख्यात भएका पाइन्छन्। यिनका यी व्यक्तित्व र विविध व्यक्तित्व वृत्तलाई यहाँ यसरी हेर्न सकिन्छः कविका रूपमाःघिमिरेले कृतिगतरूपमा प्रथम कविता ‘वैराग्य पुष्प’ लेखे तापनि यिनको प्रकाशित प्रथम कविता भने गोरखापत्रको वि.सं. १९९२ साल भाद्र २४ गते शुक्रवारका दिन ‘ज्ञान पुष्प’ प्रकाशित भएको देखिन्छ। पुस्तकाकारका रूपमा माधव घिमिरेका ‘नव मञ्जरी’ (१९९४) र चैत वैशाख (२०६०) गरी दुईवटा कविता संग्रह प्रकाशित छन्। यी संग्रहका कवितामा घिमिरेको मानवतावाद, राष्ट्रवादको विचारसूत्र वा जीवनदृष्टि प्रकट भएका छन् भने प्रकृतिचेतनाको प्रखर कविता दुलही कञ्चनजङ्घा रहेको छ। स्वचछन्दतावादी भावधाराका भावप्रवाही यी कवितामा शैलीशिल्पको समेत सहज छटा यिनमा मुखरित भएको पाइन्छ।

घिमिरे भन्छन्– ‘लेखनाथ वसन्त कोकिल हुन् र देवकोटा कुहिरोभित्र अकाशिँदै गाउने स्काइलार्क हुन् भने मचाहिँ एकान्त शान्त पर्वत प्रान्तमा राति लुकेर गाउने गोलसिमल हुँ।’ यिनै परम्परामा हेर्दा घिमिरे वर्णमात्रिक छन्द प्रयोगका दृष्टिले लेखनाथका उत्तराधिकारी र वार्णिकलोक छन्द प्रयोगका दृष्टिले देवकोटाका उत्तराधिकारी रहेका पाइन्छन्। समग्रमा शिल्प पक्षमा लेखनाथकै अत्युत्कर्ष प्रयोग र भावप्रवाहमा देवकोटाकै अत्युत्कर्ष बर्साउने घिमिरे नेपाली कविता जगत्का अत्युन्नत सृजन कलाका सफल कालीगढ बन्न पुगेको देखिन्छ।

खण्डकाव्यकारका रूपमाःनेपाली खण्डकाव्य जगत्मा घिमिरे पापिनी आमा, गौरी, राजेश्वरी, राष्ट्र निर्माता, धर्ती माता, इन्द्रकुमारी, बोराको परदा तथा गौंथली र गजधम्मे गरी आठवटा खण्डकाव्य लेख्ने अति उत्कृष्ट खण्डकाव्यकार बन्न पुगेको देख्न पाइन्छ।

यी खण्डकाव्यहरूमध्ये ‘पापिनी आमा’को कथावस्तु एउटी बालविधवा जीवनको मार्मिक घटनामा आधारित छ। कवितात्मकरूपमा एक उत्कृष्ट खण्डकाव्य बनेको छ। अर्काे ‘गौरी’ (२००५) खण्डकाव्य कवि घिमिरेको जीवनको एक दुःखद घटनामा आधारित वैयक्तिक कथा कुशलतालाई शोकभावमा प्रस्तुत गरिएको नेपाली शोकभावमूलक खण्डकाव्यमा सर्वाेत्कृष्ट शोककाव्य बनेको छ। यस्तै, अर्काे ‘राजेश्वरी’ ऐतिहासिक घटनामा आधारित एक ऐतिहासिक उत्कृष्ट दुःखान्तक खण्डकाव्य बन्न पुगेको छ। चौथो ‘राष्ट्रनिर्माता’ खण्डकाव्य नेपाल एकीकरणको ऐतिहासिक घटनामा आधारित संवादात्मक शैलीमा प्रस्तुत राष्ट्रवादी भावनाको उत्कृष्ट खण्डकाव्यात्मक प्रस्तुति प्रस्तुत भएको खण्डकाव्य बनेको छ। पाँचौं खण्डकाव्य ‘धर्ती माता’ वैदिक पृथ्वीसूक्तको भावानुवाद गरिएको मौलिक कृति बनेको छ। यस्तै ‘इन्द्रकुमारी’ ऐतिहासिक विषयवस्तुमा आधारित छ भने ‘बोराको परदा’मा बोरा ओढेर सडकमा निदाउन विवश सडक बालकहरूको कथाको काव्यात्मक अभिव्यक्ति बनेको छ। गौंथली र गजधम्मेमा लाटी गजधम्मे र लंगडी गौंथलीका बीचको प्रेमाकर्षणलाई कथावस्तु बनाइएको खण्डकाव्य रहेको छ।

यसरी संख्यात्मकरूपमा लक्ष्मीप्रसाद देवकोटाभन्दा पछि र अन्य खण्डकाव्यकारभन्दा बहुप्रयोगी खण्डकाव्यकार घिमिरे कथावस्तु, पात्रविधान, परिवेश भाषाशैली प्रयोगमा उत्तरवर्ती खण्डकाव्यकारभन्दा उत्कृष्ट र पूर्वीवर्ती खण्डकाव्यकारहरूमा लेखनाथभन्दा सबल अनि देवकोटाभन्दा सहज संयमित उत्कृष्ट खण्डकाव्यकार बन्न पुगेका छन्। समग्रमा खण्डकाव्य यात्रामा माधव घिमिरे एक अत्युन्नत सृजन कलाका उत्कृष्ट खण्डकाव्यकारका कालीगढी प्रस्तुत गर्न सक्षम भएका पाइन्छन्। गीतकारका रूपमाः

नेपाली गीतका क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटा, गोकुल जोशी, धर्मराज थापा, केवलपुरे किसानको लोकलयात्मक गीति कविता लेखन गरिरहेकै समयमा देखा परेका गीतकार घिमिरे २००२ सालदेखि गीत लेखन गर्न थालेका पाइन्छन्। गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, परन्तु एउटै मूर्तिमा विराटजस्ता उत्कृष्ट गीत लेखन गर्ने घिमिरेका नयाँ नेपाल (२०१३), किन्नर किन्नरी (२०३३) गीत संग्रह प्रकाशित भएका छन्। यिनका साथै नेपालै नरहे, क्षमा गर्न सक्दिन म, आज र राति के देखे सपना, कहिले भेट होला है दाजै जस्ता कालजयी गीत लेख्ने घिमिरे एक उत्कृष्ट गीतकार भएको देख्न सकिन्छ।

गीति नाटककारका रूपमाःनेपाली गीति नाटककार क्षेत्रमा घिमिरे सातवटा गीति नाटक लेखन गरेर संख्यात्मक तथा गुणात्मक दुवै दृष्टिमा उत्कृष्ट गीतिनाट्य कृति लेख्ने गीति नाटककार बनेका छन् र यस रूपमा यिनका, शकुन्तला, मालती मंगले, विषकन्या, अश्वत्थामा, हिमालपारि हिमालवारि, देउकी, बालकुमारी रहेका छन्।

यसरी सामाजिक, ऐतिहासिक र पौराणिक कथावस्तु प्रयोग गरी लेखिएका घिमिरेका गीति नाटकमा समसामयिक परिस्थितिको कलात्मक प्रस्तुति दिइएको छ। पौराणिक र ऐतिहासिक पात्रलाई समेत युगसापेक्ष तुल्याएर संयोजन गरिएको छ।

बालकविका रूपमाःघिमिरेका बालकविता कृतिका रूपमा क्रमशः घामपानी (२०१०), बाललहरी (२०२६), राहुल यशोधरा (२०३५), सुनपङ्खी चरी (२०३५) रहेका छन्। यी कृतिमध्ये राहुल यशोधरा बालकाव्य हो, जसमा बुद्धका छोरा राहुल र पत्नी यशोधराको जीवनकाललाई काव्यात्मक रूप दिइएको छ भने घामपानीमा २२, बाललहरीमा २४ र सुनपङ्खी चरीमा ३० गरी जम्मा ७६ वटा बालकविताहरू रहेका छन्। घिमिरे एक उत्कृष्ट बालकविका रूपमा सर्वाधिक चर्चित बनेका छन्।

निबन्धकारका रूपमाःघिमिरे एक निबन्धकारका रूपमा समेत परिचित छन्। विशुद्ध सिर्जनात्मक दुईवटा निबन्ध रहे तापनि यिनको निबन्धनात्मक लेखको संग्रह ‘आफ्नै बाँसुरी आफ्नै गीत’ (२०३०) अर्काे निबन्धात्मक कृति ‘चारु चर्चा’ (२०५८) रहेको छ। निबन्धकार समालोचकका रूपमा भूमिका लेखन र निबन्धनात्मक समीक्षा लेखन गर्ने घिमिरे एक निबन्धकारका रूपमा समेत चर्चित र स्थापित बन्न पुगेको पाइन्छ।

कथाकारका रूपमाःकथाकारका रूपमा माधव घिमिरेलाई स्थापित एवं चर्चित तुल्याउने उनको एकमात्र कथासंग्रह ‘मनचिन्ते मुरली’ (२०५७) रहेको छ। यसमा ६ वटा कथा संग्रहित छन्। धेरैजसो कथा सामाजिक यथार्थवादी छन् भने एउटा कथा स्वैरकल्पनामा आधारित रहेको छ। आफ्ना यी कथामा घिमिरे समाजका उपल्लो वर्गबाट हेपिएका निम्न तथा मध्यमवर्गका मानिएका कारुणिक अवस्थाको चित्रण गर्ने एक मानवतावादी कथाकार भएका छन् र यस रूपमा घिमिरे नेपाली कथा क्षेत्रमा उत्कृष्ट स्थान कायम गर्दछन्। समग्रमा भन्दा, वर्तमानमा सयबर्से यो मानवजीवनमा दीर्घजयी रहिरहेका माधव घिमिरे र उनका कविता नोपली कविता जगत्कै सर्वाग्रणी कालजयी कविता कृति बन्न पुगेको तथ्यमा एकमत हुन सकिन्छ।

LEAVE A REPLY