राष्ट्रपतीय निर्वाचनमा मत कम खस्यो



 

नैरोबी, (एजेन्सी)
केन्याको चुनाव आयोगले बिहीबार सम्पन्न राष्ट्रपतीय पुनः निर्वाचनमा ३४ प्रतिशतभन्दा पनि कम मत मात्र खसेको शुक्रबार जनाएको छ। गतअगस्टमा भएको सोही चुनावमा ८० प्रतिशत मत खसेको थियो। विपक्षी राजनीतिज्ञ राइला ओडिंगाले आफ्ना समर्थकहरुलाई चुनाव बहिष्कार गर्न आह्वान गरेका थिए।

तर प्रहरी र विपक्षी राजनीतिक कार्यकर्ताबीचको भिडन्तको कारण चारवटा मतदान क्षेत्रमा शनिबारसम्मका लागि मतदान स्थगित गरिएको छ। सत्तारूढ राष्ट्रपति केन्यात्ताले दोस्रो कार्यकालका लागि चुनाव लडेका छन् भने ओडिंगाले चुनाव बहिष्कार गरेका थिए।

केही विपक्षी समर्थकहरुले अन्य व्यक्तिहरुलाई पनि मतदान गर्न रोकेका थिए। नैरोबीस्थित बीबीसीका पत्रकार टोमी ओलाडिपोले शान्त वातारवरण रहेका मतदान क्षेत्रहरुमा पनि चुनावी प्रक्रियाप्रतिको अविश्वासको कारण मतदातको उपस्थिति न्यून रहेको जानकारी दिएका छन्।

धारिला हातहतियारहरु बोकेर आएका विपक्षी राजनीतिक पार्टीका समर्थकहरुले मतदान क्षेत्रमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको बताइएको छ। निर्वाचन आयोगले सात दिनसम्ममा चुनावको परिमाण घोषणा गर्ने भएको छ। गत अगस्टको चुनावमा राष्ट्रपति उहुरु केन्यात्तालाई विजयी घोषित गरिएको थियो।

तर निर्वाचनमा अनियमितता भएको आरोप लागेपछि उनको विजयलाई अमान्य घोषित गरिएको थियो। यसपालिको निर्वाचनमा मतदान गरिसकेपछि केन्यात्ताले चुनाव लड्दा लड्दै आफू थाकिसकेको प्रतिक्रिया दिएका छन्।

बीबीसी केन्याका विश्लेषक डिकेन्स ओलेबीले राष्ट्रपति केन्यात्ताको किकुयु समुदाय र उपराष्ट्रपति विलियम रुतोको कालेन्जिन समुदाय बसोवास गर्ने क्षेत्रमा धेरै मत खसेको बताएका छन्। अगस्टमा केन्यात्तालाई विजयी घोषित गरिएपछि शुरू भएको हिंसात्मक दंगामा करिब ५० व्यक्ति मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्