गठबन्धन र काङ्ग्रेसबीच भिडन्त



सिर्जना पन्त, बागलुङ
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागलुङको निर्वाचनमा बामपन्थी मोर्चा र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। बागलुङमा क्रियाशील ९ राजनीतिक दलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आफ्ना उम्मेदवार उठाएको भए पनि बामपन्थी मोर्चा र नेपाली कांग्रेस बीचमा प्रतिस्पर्धा हुने भएको हो।

बागलुङ जिल्लामा वाम गठबन्धन, नेपाली कांग्रेस, राप्रपा राष्ट्रवादी, संघीय समाजवादी फोरम, नयाँ शक्ति, नेकपा माले, देशभक्त जनत्रान्त्रिक पार्टीले निर्वाचन अधिकृतको कार्यालमा मनोनयन दर्ता गराएका छन्। नेकपा एमाले, माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच वाम गठबन्धन गरी उम्मेदवार दर्ता गराएका छन् भने नेपाली कांगे्रसलाई राप्रपा नेपालले सर्मथन गरेको छ। बामपन्थी मोर्चाका तर्फबाट नेकपा एमालेले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा, नेकपा माओवादी केन्द्रले एउटा प्रतिनिधिसभा र एउटा प्रदेशसभा तथा राष्ट्रिय जनमोर्चाले २ वटा प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन्।

बामपन्थीहरुको बाहुल्यता रहेर पनि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ३ वटै निर्वाचन क्षेत्रमा जितेको नेपाली कांग्रेसलाई यसपटक जसरी पनि किनारा लगाउने लक्ष्यका साथ ३ वटा बामपन्थी शक्तिहरु एकतावद्ध भएर निर्वाचनमा होमिएको नेकपा एमालेका निर्वतमान जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताउनुभयो। पार्टीले उठाएका र समर्थन गरेका उम्मेदवारप्रति असन्तुष्टी राख्दै बामपन्थीहरुको तर्फबाट बागलुङ क्षेत्र नं. १ मा गंगा थापा र पूर्णबहादुर पौडेल, प्रतिनिधिसभा क्षेत्र नम्बर दुईबाट धनबहादुर विक रक्षेत्र नं. २ ख प्रदेशसभामा बागी उम्मेदवार उठेका दधिराम शर्माले बुधबार आफ्नो उमेदवारी फिर्तालिएपछि बामपन्थी गठबन्धनका आधिकारिक उम्मेदवार मात्र चुनावी मैदानमा जाने भन्दै शर्माले बागलुङलाई बामपन्थीको किल्ला बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो।

बामपन्थीहरुमा मात्रै होइन, कांग्रेसमा पनि उमेदवारीप्रति चरम असन्तुष्टीहरु देखिन थालेका छन्। पुराना र पार्टीमा योगदान गरेकाहरुलाई नेपाली कांग्रेसले वेवास्ता गरेको कांग्रेसका पुराना नेता मणिभद्र शर्माले बताउनुभयो। निर्वाचन अगाडि बढ्दै जादा जसले आन्तरिक समस्यालाई समाधान गर्दै अगाडि बढ्छ, उसैले जित हासिल गर्ने अवस्था देखिन्छ। यद्यपि बागलुङमा तीनवटै बामपन्थी दलहरु तालमेल गरेर निर्वाचनमा गएकाले जित बामपन्थीहरुकै हुनेमा बामपन्थीहरु ढुक्क देखिन्छन्। कांग्रेसका नेता कार्यकर्ताहरु पनि निर्वाचन उकालो हुने ठहरका साथ निर्वाचनमा होमिएको अनुमान गर्न थालिएको बामपन्थीहरु बताउँछन्।

बागलुङ जिल्ला क्षेत्र नं. १ मा नेपाली कांग्रेसका चम्पादेवी खड्का र नेकपा एमालेका डा.सूर्य पाठकबीच प्रतिस्पर्धा हुने भएको छ। खड्कालाई राप्रपाको समर्थन छ भने पाठकलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ। बामपन्थी र लोकतान्त्रिक मोर्चाबीच हुने प्रतिस्पर्धामा कसले बाजी मार्ला चर्चा चल्न थालेको छ। बागलुङ जिल्ला मतको हिसाबले बामपन्थीहरुको बाहुल्यता रहेको जिल्ला हो तर बामपन्थीहरु एक ठाउँ नहुँदा नेपाली कांग्रेसले धेरैपटक जित हासिल गरेको छ। यसपटक बामपन्थीहरु एक भएर निर्वाचनमा गएकाले प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ वटै सिट बामपन्थीहरुले जित्ने आंकलन गरिएको छ।   गत स्थानीय तह निर्वाचनको मत हेर्दा नेपाली कांग्रेस र बामपन्थी दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। बामपन्थीहरुका मत यदि एकता र सहकार्यको भावनाअनुसार नै सही ठाउँमा परे भने ६ वटै स्थानमा बामपन्थीहरु विजयी हुने निश्चित छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा एमाले, राजमो र राप्रपाको तालमेलबाट एमाले र राप्रपाले विजयी प्राप्त गरेका थिए। तीनवटा पार्टी एकतावद्ध भएर निर्वाचनमा जाँदा कांग्रेसलाई २ हजार २ सय ९४ मतले पराजित गरेका थिए। स्थानीय निर्वाचनमा एमालेलाई साथ दिएको राप्रपा यतिबेला कांग्रेससंगको मोर्चामा छ। एमाले राजमोहरुले स्थानीय तह निर्वाचनमा राप्रपाको मत १ हजार ५ सय आएको आंकलन गरेका छन्। राप्रपाले आफ्नो मत ३ हजारभन्दा बढी भएको दावी गर्दै आएको छ। माओवादी केन्द्रको उम्मेदवार नभएका कारण उनीहरुका मत अलमलिएका थिए। यसपटक राप्रपाको मत घट्ने र माओवादी केन्द्रको मत बढ्ने देखिन्छ ।
एमाले र राजमोले जितेको काँठेखोला गाउँपालिकामा कांग्रेसबाहेक सबै दलहरु एकताबद्ध भएका थिए। राप्रपासहितलाई सहभागी गराएका बामपन्थीहरुले काठेखोलामा स्थानीय तह निर्वाचनमा १ हजार ४ सय ७५ मतान्तरमा कांग्रेसलाई पराजित गरेका थिए।  नेपाली कांग्रेसले प्रमुख र बामपन्थीहरुले उपप्रमुखमा विजय प्राप्त गरेका जैमिनीमा नेपाली कांग्रेसले ४ सय ६ मतले जित हासिल गरेको थियो। जैमिनीमा नेकपा माओवादी केन्द्र छुट्टै निर्वाचनमा गएको थियो र उसले ९ सय ५२ मत प्राप्त गरेको थियो। माओवादी र एमाले तथा राजमोको मत मिलाउदा जैमिनीमा कांग्रेस ५ सय ४६ मतले पछाडि छ। प्रतिनिधिसभा क्षेत्र नं. १ को अर्को स्थानीय तह बरेङ गाउँपालिकामा राजमोले अध्यक्ष र उपाध्यक्ष जित हासिल गरेको छ। त्यहाँ एमाले र राजमोबीच चुनावी तालमेल भएको थियो। कांग्रेस र माओवादीबीच भएको तालमेलअनुसार यो स्थानीय तहमा पनि बामपन्थीहरु ८३९ मतले अगाडि छन्।

यसरी क्षेत्र नं. १ का ४ वटा स्थानीय तहमा दलहरुले प्राप्त गरेको मतका आधारमा बामपन्थीहरुले २८ हजार २ सय ९३ र कांग्रेसले २३ हजार १ सय ३९ मत प्राप्त गरेका छन्। क्षेत्र १ मा गत स्थानीय तहको निर्वाचनको नतिजा अनुसार ५ हजार ५४ मतले बामपन्थीहरु अगाडि छन्।

क्षेत्र नं. १ प्रदेश सभा क अन्तर्गत बागलुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म बामपन्थी उम्मेदवारले ९ हजार ६ सय ९१ र नेपाली कांग्रेसका उम्मेदवारले ७ हजार ६ मत प्राप्त गरेका छन्। यस्तै काठेखोलामा बामपन्थी उम्मेदवारले ६ हजार ६ सय ९६ र कांग्रेस उम्मेदवारले ५ हजार २ सय २१ मत  प्राप्त गरेका छन्। यो प्रदेश सभा निर्वाचन क्षेत्रमा गत स्थानीय तहमा बामपन्थीहरुले १६ हजार २ सय २७ र कांग्रेसले १२ हजार २ सय २७ मत प्राप्त गरेको छ। यो क्षेत्रमा बामपन्थीहरु कांग्रेसभन्दा ४ हजार १ सय ६० मतले अगाडि रहेका छन्। यो प्रदेशसभामा बामपन्थी मोर्चाका तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा र नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति दिपेन्द्रबहादुर थापाबीच प्रतिस्पर्धा हुँदै छ।

यस्तै क्षेत्र नं. १ प्रदेशसभा ख मा पनि बामपन्थीहरुको अग्रता रहेको छ। बामपन्थीहरुले जैमिनी, बरेङ र बानपाका १२, १३ र १४ नं. वडामा ११ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसले सो क्षेत्रमा १० हजार ९ सय १२ मत प्राप्त गरेको छ। यस क्षेत्रमा बामपन्थीहरु ९ सय ९४ मतले अगाडि देखिन्छन्। यो क्षेत्रमा बामपन्थी मोर्चाका साझा उम्मेदवारका रूपमा राष्ट्रिय जनमोर्चा बागलुङका पूर्वअध्यक्ष कृष्ण थापा र नेपाली कांग्रेसका तर्फबाट नितर्वमान सांसद प्रकाश शर्मा पौडेलबीच प्रतिस्पर्धा हुँदै छ। यो प्रदेशमा अलि बढी प्रतिस्पर्धा हुने स्थानीय तहको निर्वाचनको परिणामले देखाउँछ।

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा बामपन्थीहरुका लागि बागलुङ क्षेत्र नं. १ र यो क्षेत्र अन्तरगतका दुईवटै प्रदेश सजिलै जित्ने आधारका रुपमा देखिन्छ। बामपन्थीहरुबीचको एकताले स्वतन्त्र खालका मत अझै थप हुने विश्वास बामपन्थीहरुले गरेका छन्।  तर नेपाली कांग्रेसका जिल्ला नेताहरु भने स्थानीय तह निर्वाचनमा पार्टीको आन्तरिक व्यवस्थापनमा समस्या भएका कारण मत कमी आएको दावी गर्छन्, बामपन्थीहरुबीच एकता हुदाँ मत बढ्ने मात्रै होइन, कतिपय ठाउँमा घट्ने उनीहरुको आंकलन छ। त्यति मात्रै होइन, बागलुङ नगरपालिकामा राप्रपाका अध्यक्ष सुरेन्द्र खड्काका कारण एमालेले जितेको र यो चुनावमा खड्काको साथ कांग्रेसलाई हुने भएकाले जित कांग्रेसको हुने उनीहरुको दावी छ। कांग्रेस र राप्रपा मिलेर लड्दा बामपन्थीहरुलाई सहजै पराजित गर्न सकिने आंकलन उनीहरुको छ।  बामपन्थीहरुले सिंगो जिल्लामा एक जना पनि महिला उम्मेदवार प्रत्यासी नबनाएको, प्रत्यक्षतर्फ बागलुङ नगरपालिकावासी, विगतमा निर्वाचन जितेर राज्यमन्त्रीसमेत बनाएको चम्पादेवीलाई उम्मेदवार बनाएकाले स्वभाविक रूपमा मत बढ्ने उनीहरुको दावी छ। बागलुङ क्षेत्र नं. २ मा रहेका ६ वटा स्थानीय तहमध्ये ३ वटामा बामपन्थी र ३ वटामा कांग्रेसले जित हासिल गरेका छन्। ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा नेकपा एमाले तथा ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेका छन्। गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका कांग्रेसले जितेको छ। यो क्षेत्रमा नेपाली कांग्रेसले पहिलो संविधानसभाको निर्वाचनमा विजयी नरबहादुर थापा निरजलाई उम्मेदवार बनाएको छ। बामपन्थीहरुको तर्फबाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल उमेदवारका रूपमा रहेका छन्। उनको उम्मेदवारी पछि पार्टीभित्र केही असन्तुष्टीहरु देखिएका छन्। यद्यपि छिट्टै ती समस्याहरु समाधान हुने माओवादी केन्द्रले बताएको छ।  गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा क्षेत्र नं. २ मा बामपन्थीहरुले २६ हजार ५ सय ४० मत प्राप्त गरेका छन्। त्यहाँ नेपाली कांग्रेसले १८ हजार ३४ मत प्राप्त गरेको छ। यसरी हेर्दा गत निर्वाचनमा बामपन्थीभन्दा कांग्रेस ८ हजार ५ सय ६ मतले पछाडि रहेको छ। क्षेत्र नं.२ को प्रदेश सभा क मा पनि बामपन्थीहरुकै अग्रता छ। बामपन्थीहरुले सो क्षेत्रमा १५ हजार ८ सय ८ मत प्राप्त गरेका छन्। कांग्रेसको प्रदेश सभाअन्तर्गतका स्थानीय तहमा ११ हजार १ सय मत प्राप्त भएको छ। यसरी हेर्दा यो प्रदेशमा पनि ४ हजार ७ सय मतको अन्तरमा बामपन्थीहरु अग्रस्थानमा रहेका छन्।

त्यस्तै क्षेत्र नं. २ प्रदेशसभा ख मा पनि बामपन्थीहरुकै अग्रता रहेको छ। बामपन्थीहरुले १० हजार ७ सय ३२ मत पाएका छन् भने कांग्रेसले ६ हजार ९ सय ३४ मत प्राप्त गरेको छ। यस क्षेत्रमा पनि बामपन्थीहरु ३ हजार ७ सय ९८ मतले अगाडि छन्। बागलुङमा २०४६ सालको परिवर्तनपछि कांग्रेस अग्रस्थानमा रहँदै आएको छ। बहुदलीय व्यवस्था पुनस्थापना पछि ३ निर्वाचन क्षेत्र रहेको बागलुङमा कांग्रेसले २०४८ मा तीनवटै क्षेत्रमा जित हात पारेको थियो। २०५१, २०५६ र २०६४ मा एक–एक सिट जितेको कांग्रेसले २०७० मा भने ३ वटै क्षेत्र जितेको थियो। २०५१ र २०६४ मा क्षेत्र नं. १ मा विजय प्राप्त गरेको एमालेले ३ वटा निर्वाचनमा एउटा पनि सिट जित्न सकेको थिएन। २०५१  र २०६४ मा एक–एक क्षेत्र जितेको राजमोले २०५६ मा २ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। बामपन्थीहरुले २०५१ मा २ सिट, २०५६ मा २ सिट र २०६४ मा २ सिट जितेका थिए। यस पटक उनीहरुले संघीय संरचनाअनुसार बनेका २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाका सबै सिटमा कब्जा जमाउने उद्घोष गरेका छन्। कांग्रेसले बामपन्थीहरुलाई जुधाएर जिल्ला कब्जा गर्दै आएको भन्दै यसपटक बामपन्थीहरु एकतावद्ध भएका छन्।

बामपन्थीहरु एकता भइरहँदा कांग्रेसमा निराशा देखिए पनि उनीहरुबीचमा खेलेर निर्वाचन जित्ने दाउ कांग्रेसमा देखिन्छ। कांग्रेसमा उम्मेदवारीमा चर्को विवाद देखिएकाले पनि बामपन्थीहरु उत्साहित देखिन्छन्। पछिल्ला निर्वाचनहरुमा पैसाको चलखेल बढी हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्