गल्ती श्रीमान्को सजाय भोग्दै श्रीमती



 

हिक्मत नेपाली, दैलेख
देलेखको आठबीस नगरपालिकाको राकमकर्णालीस्थित जाक्सी गाउँ निवासी नानीदेवी शाही हिजोआज एचआईभीसँग लडिरहेकी छन्। उनलाई एचआईभी संक्रमण भएको १० वर्ष भयो।उनका श्रीमान् मजदुरीका लागि भारत जान्थे। भारतमा असुरक्षित यौनसम्पर्क गरेका कारण एचआईभी संक्रमित भएपछि उनको मृत्यु भइसकेको छ। नानीदेवीले श्रीमान्को मृत्यु भएको ५ वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको जानकारी पाइन्। उपचारमा हालसम्म उनले आफ्नो खेतबारी बेचिसकेकी छन्।

बाँच्नका लागि संघर्ष गरिरहेकी उनले भनिन्– ‘धन कमाउन गएका श्रीमान्ले, एचआईभी पनि बोकेर ल्याएछन्। आफू पनि बाँचेनन्, मलाई पनि मर्नु न बाँच्नुको अवस्था बनाए।’ उनका देवरको पनि एचआईभी एड्सका कारण मृत्यु भइसकेको छ। ‘रोग लागेको थाहा पाएपछि आत्महत्या गर्ने सोच बनाएँ, तर छोराछोरीको भविष्य हेरेर सम्हालिएँ’, उनी भन्छिन्– ‘श्रीमान्ले धोका दिए, म यिनै सन्तानको मुख हेरेर बाँचेकी छु। अहिले नियमित औषधि खाएकी छु, तर समाजको अगाडि शिर ठाडो पारेर हिँड्न सक्ने अवस्था छैन।’ श्रीमान्को गल्तीका कारण आफूले गाउँमा अपहेलना र तिरस्कारको सजाय भोग्नु परेको उनले सुनाइन्।
जाक्सीकै ६३ वर्षीया धनसरा माझीको पीडा पनि कम छैन। उनले आफू एचआईभी संक्रमित भएको थाहा पाएको पनि १० वर्ष बित्यो। मजदुरीकै क्रममा उनका श्रीमान्को भारतमै मृत्यु भयो। एड्सकै कारण उनका श्रीमान्ले ज्यान गुमाए। श्रीमान्को मृत्युपछि उनी लामो समयसम्म बिरामी भइन्। नेपालगन्जमा परीक्षण गर्दा उनमा पनि संक्रमण भएको खुल्यो। ‘एचआईभी भएको सुन्दा छाँगाबाट खसेजस्तै भएँ, तर पनि सजाय काटिरहेकी छु, उनले आफ्नो पीडा सुनाउँदै भनिन्– ‘गल्ती श्रीमान्ले गरे, सजाय मैले भोगिरहेकी छु। अहिले समाजले हेला गर्छ, मान्छेहरू पनि मलाई देख्दा टाढा भाग्छन्।’

स्थानीय ३५ वर्षीया लक्ष्मी कार्कीलाई पनि एचआईभी संक्रमण भएको ९ वर्ष बित्यो। उनकी ५ वर्षीया छोरीलाई पनि एचआईभी संक्रमण भएको छ। श्रीमान्लाई संक्रमण भएपछि आफूलाई पनि संक्रमण भएको उनले बताइन्। उनले भनिन्– ‘घरमा बसेर खान पुग्दैन, श्रीमान् कमाउनका लागि भारत जानुहुन्थ्यो। उहाँले उतैबाट रोग ल्याउनुभएछ, मलाई पनि सार्नुभयो।’ अहिले पनि उनका श्रीमान् भारतमै ज्याला मजदुरी गर्छन्। आफूहरूलाई संक्रमण भएको केही वर्षपछि छोरी जन्मिएको र छोरी पनि संक्रमित भएको उनले सुनाइन्। ५३ वर्षीया ज्वाला माझी एचआईभी संक्रमित भएको १५ वर्ष भयो। श्रीमान् बितेको ३ वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको थाहा भएको उनले बताइन्। आँखाबाट आँसु झार्दै उनले भनिन्– ‘के पाप गरेकी थिएँ र मैले ? यो सजाय भोग्दै छु। छिमेकीले मेरो चप्पल पनि छुँदैनन्, रोग सल्किन्छ भनेर सबैजना मबाट टाढा भाग्छन्।’

प्रतिक्रिया दिनुहोस्