राष्ट्रपति भण्डारी ताप्लेजुङमा



 

नेपाल समाचारपत्र
ताप्लेजुङ
स्वर्गीय पति मदन भण्डारीको जन्मस्थलमा गरिने नागरिक अभिनन्दनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी अहिले बिहान ताप्लेजुङ सदरमुकाम फुंलिङ आइपुग्नुभएको छ। राष्ट्रपति भण्डारी केही बेरअघि मात्र नेपाली सेनाको नयाँ रणभीम गुल्ममा अवतरण हुनुभएको हो।

उहाँलाई त्यहाँ फुंलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी मोनबहादुर जिसी, वरिष्ठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारीसहित नयाँ रणभीम गुल्मका गुल्मपति रवि केसीसहितले स्वागत गरे।
काठमाडौंबाट सीधै पाथीभरा जाने कार्यक्रम रहे पनि मौसममा आएको परिवर्तनले राष्ट्रपति सवार हेलिकोप्टर उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकनका लागि त्यसतर्फ गई व्यारेकमा अवतरण भएको थियो।

मुख्य पर्यटकीयस्थल गोला र घुन्सा क्षेत्रको अवलोकन भने राष्ट्रपतिले हेलिकोप्टरबाटै गरेको यहाँस्थित नेपाली सेनाले जनाएको छ। काठमाडौंबाट आएको हेलिकोप्टर पाथीभरा मन्दिरमा अवतरण हुन नसकेपछि सुकेटार एयरपोर्टमा अवतरण गरी गोला घुन्सातर्फ गएको थियो। त्यहाँबाट फर्किएपछि हेलिकोप्टर सीधै व्यारेकमा अवतरण भएको छ।

मौसममा सुधार आएपछि राष्ट्रपति भण्डारी पाथीभरातर्फ गएर त्यसपछि नागरिक अभिनन्दनका लागि मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुतर्फ प्रस्थान गर्नुहुनेछ। उहाँले स्वर्गीय पति मदनको जन्मघर अवलोकन गर्नुहुनेछ भने त्यहाँ उहाँलाई मैवाखोला गाउँपालिका र मैवाखोला सेवा समाजले नागरिक अभिनन्दन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्