कर्णाली राजमार्गमा निर्माणाधीन पुल अलपत्र



नेपाल समाचारपत्र
दैलेख
कर्णाली राजमार्गअन्तर्गत विभिन्न खण्डमा पर्ने पुलहरू अझै अधुरै रहेका छन्। राजमार्गअन्तर्गतको दैलेख खण्डमा मात्रै ५ वटा पक्कीको निर्माण कार्य अलपत्र अवस्थामा छ। ७ वर्षअघिदेखि निर्माण कार्य शुरु गरिएका राजमार्गका पक्की पुलहरू अझै अधुरै छन्। पुल निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन हँुदा पुल निर्माण योजना अलपत्र बनेका हुन् । सम्झौताबमोजिम तोकिएको निमार्ण कार्य पूरा नगरी ठेकेदार फरार भएका हुन्।

दैलेख खण्डमा मात्रै अलपत्र अवस्थामा रहेका पाँच पक्की पुलमा प्रयोग गर्न लगिएको सामग्रीसमेत अलपत्र अवस्थामा छन्। सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार सुर्खेत दैलेख खण्डमा पर्ने २ कम्पनीहरू कालो सूचीमा परेका छन। दैलेखको किट्टु भिरनजिकको ४ करोड ५१ लाख लागतको घट्टे खोला पुल निर्माण कार्य ०६९ सालमा सम्झौता भए पनि अझै निर्माण हुन सकेको छैन। १५ महिनाभित्र काम सक्ने भन्दै याकथुमहाञर गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो। ठेकेदारको लापरबाहीले पुल निर्माण कार्य अधुरै रहेको छ।

दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभीले कामै सम्पन्न नगरे पछि कालो सूचीमा राखेको सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए। फर्जी बैंक ग्यारेन्टी पेस गरेकाले डिभिजन कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ।
अनुगमनसंगै काम नगर्ने ठेकेदारहरूलाई कालो सूचीमा राखेको र कालो सूचीमा परेको टेन्डरहरू नयाँ आह्वान गरेको भुजेलले बताए। दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणको जिम्मा लिएको सिरुबार सुनकोशी र कबिर जेभीलाई तत्काल काम सम्पन्न गर्न ताकेता दिएपछि मात्र काम शुरू गरेको छ।

दैलेख कालिकोट र जुम्ला खण्डमा पक्कि पुल निर्माणको जिम्मा लिएका विभिन्न ११ कम्पनीहरू फरार् छन्। कतिले कामभन्दा धेरै रकम फर्जी बिलका आधारमा असुल गरिसकेको पाइएको छ। ठेकेदार कम्पनीले काम गरे नगरेको नियमन गर्ने निकायको रूपमा रहेको सडक डिभिजन कार्यालय र कामको गुणस्तर भए नभएको अनुगमन गर्न खट्ने प्राविधिकहरूको लापरवाहीका कारण पनि पुल निर्माणमा ढिलाइ भएको स्थानीयको आरोप छ। कर्णाली राजमार्गअन्तर्गतका विभिन्न खण्डमा निर्माणाधीन पुल निर्माण कार्य सम्पन्न नहँुदा कर्णाली राजमार्गको यात्रा कष्टकर हुने गरेको छ । स्थानीय बासीले पटकपटक दबाब दिए पनि ठेकेदारले अटेर गरेको दैलेख खण्डअन्तर्गत पर्ने रामाघाटका नैन शाहीले बताए। लामो समयसम्म पनि काम सुचारु नहुँदा यात्रा निकै जोखिमा छ उनले भने। सुर्खेतस्थित सडक डिभिजन कार्यालयका अनुसार अधिकांश ठेकेदारले पेश्की लिएर काम छाडेको पाइएको छ।

कर्णाली राजमार्गअन्तर्गत भट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगढ, सिम्ला खोलाका पुल अधुरै छन्। विश्व बैंकले चालू आवमा राजमार्गमा सानाठुला पुलहरू निर्माण गर्नका निमित्त ७६ करोड सहायता प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्