आँखा रोगीको संख्या बढ्दै, बिरामी जाँच्ने चिकित्सकको अभाव



प्रशान्त वली, काठमाडौं
नेपालमा ६ सय जना नेत्र रोग विशेषज्ञ चिकित्सक हुनुपर्ने हो। विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मान्ने हो भने ५० हजार जनता बराबर एकजना नेत्र रोग विशेषज्ञ चिकित्सकको आवश्यकता पर्छ। नेपालमा त्यो संख्या कहिले पुग्ने अहिलेसम्म कुनै निकायसँग ठोस योजना छैन।

हाल २ सय १५ जना मात्रै नेत्र रोग विशेषज्ञ छन्। तीमध्ये ७० देखि ८० जना त काठमाडौंमा नै कार्यरत रहेका छन् भने बाँकी चिकित्सक पनि राजधानी बाहिरका सुविधा सम्पन्न शहरमा बस्ने गरेका छन्।

बिरामीको अनुपातमा चिकित्सकको संख्या कम हुँदा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको छ। नेपालको आँखा रोगीको संख्याअनुसार चिकित्सको संख्या ज्यादै न्यून रहेको छ। नेपालमा ६ सयको हाराहारीमा नेत्र रोग विशेषज्ञ हुनुपर्ने तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ।

नेपालमा अझै ३ सय ८५ जना विशेषज्ञ डाक्टरको अभाव रहेको प्रतिष्ठानको दाबी छ। आँखा चिकित्सकहरूको अभाव र डाक्टरहरू ग्रामीण तहमा जान नमान्दा बिरामीहरू निकै समस्यामा परेका छन्।
आँखा अस्पतालहरूमा आँखाको डिल, आँखाको डल्लो बस्ने ठाँउ, आँसु नली, आँखाको क्यान्सर, आँखाको सुन्दरता, रेटिनामा समस्या र जटिल रोगसम्बन्धी बिरामीहरू आउने गरेका छन्।

नेपालमा करीब ६० हजार जनामा आँखाको समस्या भएको बताइएको छ। सरकारले स्वास्थ्य क्षेत्रमा बजेट कम विनियोजन गर्दा आँखा रोगको बारेमा जनचेतना फैलाउन नसकेको नेत्र रोग विशेषज्ञहरूले बताएका छन्। आँखासम्बन्धी समस्या भएका बिरामीहरूलाई प्रकृति हेरेर स्वास्थ्य उपचार प्रदान गरिँदै आएको आँखाको प्लाष्टिक शल्यक्रिया विशेषज्ञ डा. रोहित सैंजुले जानकारी दिनुभयो।

आँखामा हुने रोगबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने प्रतिष्ठानले बताएको छ। मधुमेह तथा उच्च रक्तचाप भएका सबैले जाँच गराउनुपर्ने तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ। आँखाको दृष्टिमा कमी आई औषधि, चस्मा वा शल्यक्रियाबाट दृष्टि सामान्य अवस्थामा फर्काउन नसक्दा न्यून दृष्टि हुने भएकाले समयमै आँखाको चेकजाँच गर्नुपर्ने नेत्र रोग विशेषज्ञहरूले बताएका छन।

यस्तै, तिलगंगा आँखा प्रतिष्ठानमा मात्रै वार्षिक करिब १० हजार अकुलोप्लास्टिक समस्या भएका बिरामीहरू आइरहेका छन् भने साना ठूलो शल्यक्रिया गर्नेको संख्या करिव १ हजार ५ सय रहेको हाराहारीमा रहेको छ। अकुलोप्लास्टिक भन्नाले आँखाको प्लास्टिक शल्यक्रिया हो।

प्रतिक्रिया दिनुहोस्