प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू, अब चुनाव कुनै हालतमा रोकिँदैनः आयोग



 

सुनील महर्जन, काठमाडौं
मतपत्रबारे सर्वोच्च अदालतको पछिल्लो आदेशबारे औपचारिक जानकारी नपाएको भन्दै आयोगले पूर्वनिर्धारित कार्यतालिकाअनुसार मतपत्र छपाइ शुरू गरेको छ।

आयोग मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाइ शुक्रबार शुरू गरेको हो। अदालतले बुधबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र अलग अलग गर्नु बाध्यकारी रहेको भन्दै छपाइमा के कति प्रगति भएको छ तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनेको थियो।

अदालतको सो आदेशको पत्र औपचारिकरूपमा नआएको भन्दै पहिलो खण्ड प्रतिनिधिसभा र तल्लो खण्ड प्रदेशसभाको रहने गरी एउटै मतपत्र छपाइ शुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य शुरू भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिनुभयो।

कडा सुरक्षाको घेराबीच सानो ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने कार्य शुरू गरिएको छ। मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्र, मुद्रण विभाग, निर्वाचन आयोग तथा अन्य कर्मचारी खटिने आयोगले जनाएको छ। पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाता रहेको उल्लेख गर्दै सो संख्या केही बढी मत छापिने आयोगले जनाएको छ। हाल व्यवस्थापिका संसद्मा रहेका दलहरूले अघिल्लो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ल्याएको मत संख्याअनुसार मतपत्रमा क्रमशः निर्वाचन चिह्न रहने कानुनी प्रावधान रहेको छ।

आयोगले मतपत्र छपाइ शुरू गरेर अदालतको आदेश नमान्ने संकेत देखाएको हो त भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो– ‘पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइसकेको छैन।’

‘एउटै पानामा मतपत्र छाप्ने र मतदान गर्ने कार्य व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल छ। तैपनि राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुवै निर्वाचनलाई एकैसाथ गर्न आयोग तयार भएको हो।’ प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो– ‘निर्वाचनको बारेमा अन्योलका कुरा पनि आएका छन्, आयोगमा कुनै अन्योल छैन, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न हामी प्रतिबद्ध छौं।’
प्रमुख आयुक्त यादवले सम्मानित सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै आयोगले प्राविधिक समिति गठन गरी त्यसले दिएको प्रतिवेदनको आधारमा आयोग अगाडि बढेको बताउनुभयो। उहाँले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिनुभयो।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले तोकिएको मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिह्न प्रदान भई प्रचारप्रसारको काम शुरू भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम पूरा भएको, दोस्रोचरणका लागि समेत निर्वाचन अधिकृतको कार्यालय खोलिसकिएको हुँदा विश्वासका साथ निर्वाचन सञ्चालन गर्न आयोग अघि बढेकाले अन्योलको वातावरण नरहेको पनि उहाँको भनाइ रहेको छ।

आयोगले असोज १७ गते शुरू गरेको समानुपातिकतर्फको मतपत्र छपाइ बिहीबार सकिएको थियो। समानुपातिकतर्फ १ करोड ८० लाख मत छापिएको छ।

प्रतिक्रिया दिनुहोस्