पश्चिम रुकुममा पार्टी एकता संयोजन समिति गठन



 

धनवीर दाहाल, मुसिकोट, रुकुम
नेकपा एमाले र नेकपा माओवादी केन्द्र रुकुम (पश्चिम)ले जिल्लास्तरको पार्टी एकता संयोजन समिति निर्माण गरेका छन्। चुनावी तालमेल हुँदै भविष्यमा पार्टी एकता गर्ने भनी एकताबद्ध भएका वाम गठबन्धनको प्रभाव रुकुममा पनि परेको छ। रुकुमका वामपन्थी पार्टी पनि पार्टी एकताका लागि तयार देखिएका छन्।

शुक्रबार पार्टी एकताका लागि भन्दै नेकपा एमाले, माओवादी केन्द्रले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै पार्टी एकताका लागि आफूहरू एकजुट भएको बताएका छन्। हिजोका तितामीठा कुराहरूलाई बिर्सेर अब देश निर्माणका लागि लाग्नुपर्नेमा नेताहरूले जोड दिएका छन्। परिवर्तन र विकासका लागि आन्दोलन गर्दागर्दै नेपाली जनताहरू हैरान भएकोले अब परिवर्तन र विकासका लागि पार्टी एकतामा लागेको नेताहरूको भनाइ छ।

कम्युनिस्टहरूको एकता हुन सक्दैन भन्ने भ्रमलाई गलत सावित गर्दै कम्युनिस्टको नीतिअनुसार समाजवाद हुँदै साम्यवाद पुग्नका लागि एकताको खाँचो भएकोले पार्टी एकता गर्नै लागेको पत्रकार सम्मेलनमा बताएका छन्। उक्त पत्रकार सम्मेलनमा पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)का प्रमुख नेता एवं नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीले जनताको चाहना अनुसार पार्टी एकता प्रक्रिया शुरू भएको बताउनुभयो।

कतिपयले यो निवार्चनसम्मका लागि मात्र हो भनी भ्रम छर्ने काम गरेको भन्दै पार्टी एकताका लागि आफूहरू होमिएको जानकारी दिनुभयो। रुकुममा एमालेको अस्तित्त्व समाप्त भयो नि? भन्ने पत्रकारको जिज्ञासामा नेता केसीले पार्टी एकता हुने भएकोले कसैको अस्तित्त्व समाप्त नहुने दाबी गर्नुभयो।

पार्टी एकतापछि एमाले वा माओवादी केन्द्र नभई एउटै कम्युनिस्ट केन्द्र बन्ने बताउनुभयो। यसै गरी एकता संयोजन समितिका प्रमुख नेता एवं माओवादी केन्द्रका रुकुम (पश्चिम) इन्चार्ज राजकुमार शर्माले अब गाउँ–गाउँमा संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण हुने जानकारी दिनुभयो।

पार्टी एकताले जनतामा खुसी छाएको बताउनुहुँदै नेता शर्माले राष्ट्रलाई समृद्ध बनाउनका लागि एक हुनुको विकल्प नभएको उहाँको धारणा छ। आगामी मंसिर १० गते हुने निर्वाचनमा रुकुममा आफ्नो गठबन्धनले भारी मतका साथ आफ्ना उम्मेदवारलाई विजयी बनाउने दाबी गर्नुभयो।
यसै गरी एकता संयोजन समितिका सदस्य बुद्धिप्रसाद शर्माले अब सबै गाउँ तथा नगरपालिकास्तरमा एकता संयोजन समिति निर्माण हुने जानकारी दिनुभयो। यस्तै एकता संयोजन समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले केही मान्छेहरूले एमालेले रुकुममा माओवादीलाई कसरी भोट हाल्छ भनेर जनतामा भ्रम छरेको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गर्नुभयो।

भविष्यमा पार्टी एउटै हुने भएकाले अहिलेका उम्मेदवार साझा भएको ढुक्क भएर संयुक्त वाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सबैमा आग्रह गर्नुभयो।

एकता संयोजन समितिमा नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य एवं रुकुम (पश्चिम) इन्चार्ज केसी र माओवादी केन्द्रका तर्फबाट रुकुम (पश्चिम) इन्चार्ज शर्मालाई प्रमुख नेता मानेर एमालेबाट विमलकुमार पुन र पुरी तथा माओवादी केन्द्रबाट शर्मा, महेन्द्र केसी र बुद्धिप्रसाद शर्मा रहेको र आवश्यकताअनुसार थपघट हुन सक्ने पत्रकार सम्मेलन जानकारी गराइएको छ। पार्टी एकता संयोजन समिति सबै स्थानीय तहमा तत्कालै गठन हुने र निर्वाचन परिचालन कमिटी पनि गठन हुने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्