११० सिटमा वाम तालमेलको सहमति, माओवादीलाई ३३ र एमालेलाई ७२



नेपाल समाचारपत्र, काठमाडौं ।

एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले जनाएका छन्।

एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको छ ।

स्रोतका अनुसार अहिलेसम्मको छलफल अनुसार माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ भने एमालेले ७२ सिट लिएको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ । बाँकी १८ सिटमा छलफल जारी रहेको बताइएको छ ।

प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि सिट बाँडफाँट भएको छ । स्थानीय चुनावको मत, सम्भावित उम्मेदवारको व्यक्तित्व लगायतका आधारमा सिट बाँडफाँट गरिएको नेताहरुले बताए ।

काहाँ कसले पाए ?

काठमाडौंमा एमालेले प्रदेशको १७ र प्रतिनिधिसभाको १७ सिट लिएको छ । माओवादीले दुबै सभाको ३र३ सिट पाएको छ । ललितपुरमा एमालेले प्रतिनिधिसभाको दुई सिट लिँदा माओवादीको भागमा एक सिट परेको छ ।

भक्तपुरको एमालेले प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट लिएको छ भने माओवादीले प्रदेशसभाको एक सिटमा चिक्त बुझाएको छ । प्रदेश र प्रतिनिधिसभाको एक एक सिटबारे निर्णय हुन बाँकी छ ।

तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मीको प्रतिनिधिसभा एमालेको भागमा परेको छ भने अर्घाखाँचीको प्रतिनिधिसभा माओवादीले लिएको छ । कपिलवस्तुमा भने दुई सिट स्वतन्त्रलाई दिइएको छ भने एक सिटबारे टुंगो लागेको छैन । दाङमा एमाले र माओवादीले १–१ सिट लिँदा एक बारे निर्णय हुन सकेको छैन ।

धनकुटा र तेह्रथुमको प्रदेश र प्रतिनिधिसभाको सबै सिट एमालेले पाएको छ भने इलाममा माओवादीले प्रदेशसभाको एक सिट लिएको छ ।

सिन्धुलीको प्रदेश र प्रतिनिधिसभा आधा–आधा लिने सहमति भएको छ भने मकवानपुरमा प्रतिनिधिसभाको दुबै सिट एमालेले लिएको छ । प्रदेशमा भने आधा –आधा गरिएको छ ।

चितवनमा एमाले र माओवादीले १–१ सिट लिएका छन् । एक सिट टुंगो लागेको छैन । चितवन ३ बाट प्रचण्ड उम्मेदवार बन्ने भएका छन् ।

काभ्रेमा एमालेले प्रतिनिसिभाको एक र प्रदेशको तीन सिट लिएको छ भने माओवादीले दुबै सभाको एक एक सिट पाएको छ ।

बाँकेका ३ सिटमध्ये एमाले र माओवादीले एक-एक बाँडेका छन् भने एक स्वतन्त्रलाई दिइएको छ । रुपन्देहीमा एमालेले ४ सिट पाएको छ भने माओवादीले एक सिट लिएको छ ।

सल्यानबारे छलफल जारी छ । दैलेखको दुबै, कैलालीको ३ र कञ्चनपुरको २ सिट एमालेले लिएको छ । डडेलधुरामा एक सिट लिएको माओवादीले कैलालीमा २ र कञ्चनपुरमा १ सिट पाएको छ ।

झापामा माओवादीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट पाएको छ । उसले प्रतिनिधिसभामा थप एक सिट दाबी गरिरहेको छ । मोरङमा एमालेले ३ र माओवादीले २ सिट लिने सहमति भएको छ । एक सिटबारे छलफल जारी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्