‘बाबुरामले त हारे हारे’



सन्तोष अधिकारी, गोरखा । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रनितिधी सभाको निर्वाचनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईलाई जसरी पनि हराउने गरी लाग्न गोरखाका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार गोरखा नगरपालिकाको १२ किलोमा अगुवा कार्यकर्ता प्रशिक्षणको क्रममा बाबुरामलाई गोरखामा जित्ने अधिकार नभएको भन्दै यस्तो निर्देशन दिएका हुन् । आगामी प्रतिनिधी सभा निर्वाचनमा श्रेष्ठ र भट्टराई प्रतिद्वन्दी हुन् ।

‘बाम गठबन्धनको जित हामीले निकाल्नु पर्नेछ’ श्रेष्ठले भने ‘चुनाबी रणनिती बनाएर अब अघि बढ्नु पर्छ । बाम गठबन्धनमा रहेका गोरखा क्षेत्र नं. २ का माओवादी केन्द्र र एमाले पार्टीका नेताकार्यकर्ता बाबुराम हराउने अभियानमा लाग्नुस् । बाम गठबन्धनलाई हार्ने छुट छैन ।’ त्यस्तै चुनाब केन्द्रीत कार्यक्रम गर्न आगामी १६ गते भित्र क्षेत्र नं. २ को सबै वडाहरुमा सम्पर्क कार्यालय स्थापना गर्न पनि उनले एमाले र माओवादी केन्द्रका नेताकार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

‘एमाले र माओवादी मिलेर गोरखामा कांग्रेस लगायतको शक्तिलाई हराउनुपर्नेछ’ प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने ‘दुई नँबर जितिन्छ । आग्रह पुर्वाग्रह नराखी दुबै पार्टीका नेता कार्यकर्ता लाग्नुस ।’ गोरखा क्षेत्र नं. २ मा नारायणकाजी श्रेष्ठ एमाले माओवादीको तर्फबाट र बाबुराम भट्टराई नयाँ शक्ति र कांग्रेसको तर्फबाट उमेद्वार हुन् ।

 

प्रतिक्रिया दिनुहोस्