बजारमा तरकारीको कृत्रिम अभाव, चर्को मूल्य असुल्दै व्यापारी



नेपाल समाचारपत्र
काठमाडौं
दशैं, तिहार र छठ जस्ता ठूला चाडबाडमा माग अनुसार आपूर्तिमा कमी आएपछि आकाशिएको मूल्य अवस्था सामान्य रूपमा फर्किसक्दा पनि तरकारीको मूल्य घट्न सकेको छैन।

चाडबाडका बेला माग उच्च देखिए पनि अहिले सामान्य रूपमा फर्किसकेको छ। तर, खुद्रा व्यापारीले भने अझै चर्को मूल्य असुली रहेका छन्।कालीमाटी फलफूल तथा तरकार बजार विकास समितिको तथ्यांक अनुसार अहिले फलफूल तथा तरकारीको मूल्य सामान्य अवस्थामा फर्किइसकेको छ। तर, खुद्रा व्यापारीले भने तराईमा बाढीको कारण मूल्य बढेको भन्दै उपभोक्तालाई ठगिरहेका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले कार्तिक पहिलो साताको तुलनामा दोस्रो साता तरकारीको मूल्य घटेको र बजार सामान्य अवस्थामा फर्किसकेको बताउनुभयो। तर, खुद्रा व्यापारीले भने बढेको मूल्य घट्दा पनि कृत्रिम अभाव देखाएर उपभोक्ता ठगिरहेका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अहिले माग अनुसार आपूर्ति भईरहेको जनाइरहँदा मूल्यमा भने सोही अनुपातमा घट्न सकेको छैन। समितिले निर्धारण गरेको खुद्रा मूल्य सूचीभन्दा व्यापारीले झण्डै दोब्बर असुल्ने गरेका छन्। त्यसको प्रत्यक्ष असर सर्वसाधारणको जनजीवनमा देखिने गरेको छ। अनुगमन गर्ने कुनै निकाय नभएपछि व्यापारीहरूले आफूखुशी ढंगले मूल्य निर्धारण गर्ने गरेका छन् भने एउटै पसलमा पनि ग्राहकैपिच्छे फरक मूल्य तोक्छन्।

समितिले दैनिक ६ सय मेट्रिक टन तरकारी दैनिक रूपमा आपूर्ति भइरहेको जनाएको छ। जुन परिमाण उपत्यकाको दैनिक औसत माग बराबर नै हो। तर, कालीमाटीकै व्यापारीले भने बजारमा तरकारी आपूर्तिमा कमि आएपछि मूल्य बढेको तर्क गर्छन्। असोज–कार्तिकको समयमा तरकारीको उत्पादनमा तुलनात्मक रूपमा कमि आउने तथा माग र आपूर्तिको सिद्धान्तमा सन्तुलन आउन नसक्दा मूल्य बढेको व्यापारीले सजिलै जवाफ फर्काउन्छन्। अरूबेला प्रशस्त तरकारी पाइने कालिमाटी र बल्खु कृषि तथा तरकारी बजारमा पछिल्लो एक हप्ता मागअनुसार नै तरकारी उपलब्ध छ। तर, मूल्य अझै किन घटेन भन्ने कुरामा भने सम्बन्धित निकायसँग पनि जवाफ छैन।

दैनिक उपभोगमा आउने आलु, प्याज, गोलभेंडा, काउलीलगायत तरकारीको मूल्य दशैं अघिको तुलनामा कार्तिक पहिलो साता झण्डै दोब्बर भएको थियो। तर, बिहीबारको मूल्यसूची हेर्दा केही घटेको देखिन्छ। सय रुपियाँ प्रतिकिलो पुगेको गोलभेंडाको खुद्रा मूल्य हाल ८५ रुपियाँमा झरेको छ। त्यसैगरी २ सय रुपियँँ प्रतिकिलोसम्म पुगेको स्थानीय काउलीमा बिहीबारको मूल्य सूची अनुसार ८५ रुपियाँ प्रतिकिलो पुगेको छ। चाडवाडको समय रहेकाले कामदारको अभावमा तरकारी बजारसम्म पुग्न नसकेको पनि निर्देशक पौडेलको तर्क छ। उपत्यकामा मुख्यगरी काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, सर्लाही, चितवन, सिन्धुपाल्चोक, भक्तपुर लगायत स्थानबाट तरकारी आउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्