मालीलाई हराउँदै स्पेन फाइनलमा



 

नयाँ दिल्ली, (एजेन्सी)
कप्तान अबेल रूइजको दुई गोलको मद्दतमा स्पेन भारतमा जारी अन्डर–१७ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत बुधबार राति भएको दोस्रो सेमीफाइनलमा स्पेनले गत संस्करणको उपविजेता मालीलाई ३–१ ले हराउँदै उपाधि लागि इंग्ल्यान्डसँग भेट पक्का गरेको हो।

कलात्मक खेलका महारथी स्पेनको अगाडि आक्रामक खेल पस्केको माली निरीह साबित बन्यो। योसँगै मालीको लगातार दोस्रोपटक फाइनल पुग्ने सपना पनि तुहिएको छ। युरो अन्डर–१७ च्याम्पियन स्पेनले टिकी–टाका अर्थात् छोटो–छोटो पाससहितको अद्भूत खेल प्रदर्शन गर्दै १० वर्षपछि समग्रमा चौथोपटक फाइनलमा स्थान बनाएको हो।

यसअघि स्पेनिस टिम सन् २००७ मा दक्षिण कोरियामा भएको विश्वकपको फाइनलमा पुगेका थिए। उक्त फाइनलमा स्पेनलाई नाइजेरियाले पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै उपाधि जितेको थियो। स्पेनिस कप्तान रूइजले खेलको १९औं मिनटमा गोल गर्दै आफ्नो टिमलाई १–० ले अगाडि पारेका थिए। यसै गरी उनले खेलको ४३औं मिनेटमा आफ्नो व्यक्तिगत दोस्रो र टिमको गोलसंख्या दुई पुर्याएका थिए।

टिमका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा फेरन टोरेसको नाममा रह्यो। मालीका तर्फबाट एकमात्र गोल खेलको ७४औं मिनटमा लासाना एनडीयाएले फर्काएका थिए। आगामी शनिबार राति स्पेनले उपाधिका लागि इंग्ल्यान्डको सामना गर्नेछ। यसअघि सम्पन्न पहिलो सेमीफाइनलमा इंग्ल्यान्ड पनि ब्राजिललाई ३–१ कै गोलअन्तरले हराउँदै ३२ वर्षपछि पहिलोपटक फाइनलमा स्थान पक्का गर्यो। यसै गरी तेस्रो स्थानका लागि शनिबार साँझ हुने खेलमा ब्राजिलले मालीको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्