म्यादी बन्न “दही र केरा”



मोतीराम तिमल्सिना, काभ्रे

अचम्म लाग्न सक्छ। म्यादी प्रहरी बन्न के–के आवश्यक छ ? शरीरको तौल, उचाइ, छाती र सरकारले तोकेको मापदण्ड पूरा भएको हुनुपर्छ। तर धुलिखेलमा भइरहेको छनोटमा अनौठा दृश्यहरु देखिएका छन्। म्यादी बन्न सहभागीहरुले दही र केराको भरपुर उपयोग गरिरहेका छन्।

मण्डन देउपुर नगरपालिका जोगिटार घर भएकी २२ वर्षीया युवती अनिता नेपाल तौल कम भएपछि चार कोसा केरा र दुई गिलास दही पिएर दुई केजी वजन बढाउँदै म्यादीका लागि प्रारम्भिक स्वास्थ्य परीक्षणमा उत्र्तीण भएकी छिन्। ‘पहिला आउँदा वजन कम भएकाले फालिएँ, केही घण्टामै दही र केरा खाएर गएँ, प्रारम्भिक परीक्षणमा उत्र्तीण भएँ’, उनले भनिन्– ‘वजनभन्दा पनि आँट भएकाले म्यादी बन्न आएकी हुँ।’

२२ वर्षीया नेपाल मण्डन देउपुर नगरपालिकाकै डेडिथुम्का उच्च माविको कक्षा ११ मा अध्ययनरत छिन्। २०७२ सालको भूकम्प जानुअघि उनी असाध्यै मोटी थिइन्। सबैले उनलाई मोटो भएको भनेर जिस्क्याउँदै थिए। तर दैवको लिला भूकम्पले उनका सबै सपनाहरु उडाए र उनी १५ केजी घटिन्। २५ वर्षीय दाजु बद्रिप्रसाद नेपालको भूकम्पमा परी घरमै पुरिएर निधन भयो।

एक छोरा र एक छोरी मात्रै भएको नेपालको घरमा बज्रपात भयो। कमाइ गर्ने छोरासमेत गुमेपछि परिवार नै विक्षिप्त भयो। त्यही शोकमा बाबुआमा र छोरी अनितासमेत दुब्लाउन पुगिन्। सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदान राहत ५० हजार लिए पनि घर बनाउने सुरसार गर्नै नसकेको नेपाल परिवारको समस्या धान्न अनिता म्यादी प्रहरी बन्ने धुनमा धुलिखेल आइन्। म्याद सकिने अघिल्लो दिन मात्रै उनले म्यादी प्रहरीमा भर्ना खुलेको जानकारी प्राप्त गरिन्। हतारहतार फारम भर्दा उनको दर्ता नम्बर ३०४५ मा पुग्यो। उनी पछि ४ सय १० जनाले फारम भरेका छन्। जिल्ला प्रहरी कार्यालयलाई आवश्यक संख्या जिल्लाका लागि १५ सय १६ मात्रै हो। प्रहरीको तथ्यांकमा नेपालजस्तै ३४ सय ५५ जनाले म्यादी प्रहरीका लागि फाराम भरेका छन्।

‘सर शरीरमा बल छ, तौल कम छ’, नेपालले भनिन– ‘सबैभन्दा ठूलो हिम्मत छ।’ हिम्मतका आधारमा घरमा भएको पीडालाई छोरा नभए पनि छोरीले पनि कमाएर अभिभावकको साहरा बन्न सक्छन् भन्ने देखाउन म्यादी प्रहरी बन्न आएको अनिताले बताइन्। प्रहरीले प्रारम्भिक स्वास्थ्य परीक्षणमा महिलाहरुका लागि ४.१० उचाइ, सिट अप ५ पटक, ४० कटेकाको हकमा ३ पटक, दौड महिलालाई एक किलोमिटरको ५ मिनेट र ४० कटेकालाई ७ मिनेटको समय दिएको छ।

पुरुषहरुका लागि ५.२ इन्च उचाइ, सिट अप १० पटक, उमेर समूह ४० कटेकालाई अलि कम र दौडको समय पनि फरकफरक राखेर प्रारम्भिक स्वास्थ्य परीक्षण गरिरहेको छ। टाटु, दुवी नभएका व्यक्तिहरुलाई छनोट गरिरहेको छ। बुधबार हुने लिखित परीक्षामा झण्डै तीन हजार परीक्षार्थी सहभागी हुने एसपी सहकुलबहादुर थापाले जानकारी दिए।

सामान्य लेखपढ गर्न जान्नेलाई समेत अवसर प्रदान गरिएको प्रहरी प्रवक्ता डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए। प्रारम्भिक स्वास्थ्य परीक्षणबाट झण्डै ५ सय व्यक्तिहरु अयोग्य देखिएको मरासिनीले जानकारी दिए। म्यादी बन्न एकाघरका तीन जनासम्म सहभागी भएका छन्। मास्टर्स अध्ययन गर्दै गरेकी बनेपा अस्थायी घर भएकी मिङमा शेर्पा, कक्षा १२ अध्ययन गर्दै गरेकी उनकै बहिनी निमदिकी शेर्पा र बाबु हिमनिम तिम्बा शेर्पा म्यादीका लागि लिखित परीक्षाका लागि छनोट भएको डीएसपी मरासिनीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्